|

कपिलबस्तु : विद्युत चुहावट नियन्त्रण अभियानमा खटिएका नेपाल विद्यतु प्राधिकरण तौलिहवा वितरण केन्द्रका सुपरभाइजरसहित ५ जनामाथि सांघातिक आक्रमण भएको छ।

विद्यतु कर्मचारीमाथि कुटपिट गरिएपछि कपिलवस्तुको शुद्धोदन गाउपालिका-१ छपिया गाउँमा बुधवार मध्यरातमा लाइन काटेर ब्याल्क आउट गरिएको छ। विद्यतु प्राधिकरण तौलिहवाले पूरै गाउमा ब्ल्याक आउट गरेको यो नै पहिलो घटना भएको जनाएको छ।

चुहावट नियन्त्रण गर्न हिँडेको नेपाल विद्यतु प्राधिकरण तौलिहवा वितरण केन्द्रका कर्मचारीमाथि दुर्व्यवहार र हातपात गरिएको थियो। कर्मचारीमाथि हातपात भएको ६ घन्टापछि ब्ल्याक आउट गरिएको थियो। बुधवार मध्यरातदेखि सो गाउमा ब्ल्याक आउट गरिएको नेपाल विद्यतु प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख जयकुमार यादवले बताए।

बुधबार साझ ५ बजेतिर प्राधिकरणका कर्मचारी, सशस्त्र र नेपाल प्रहरी सहीतको चुहावट नियन्त्रणको टोली छपिया गाउँ पुगेको थियो। प्राधिकरण कर्मचारीले स्थानीय माहोम्मद युसुफ खाँ र  याकुफ खाँको घरमा छापा हानेको थियो। विद्युत मिटरबाट बाइपास गरी विद्युत चोरेको र हुकिङसमेत गरिएको फेला पारेको प्राधिकरण तौलिहवाका प्रमुख जयकुमार यादवले बताए।

युसुफ गत स्थानीय निकायको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालको तर्फबाट वडा अध्यक्षको उम्मेदवार थिए। विद्युत कर्मचारीले मिटर र हुकिङ खोल्ने क्रममा विद्यतुका कर्मचारीमाथि दुर्व्यवहार र कुटपिटसमेत गरिएको प्रमुख यादवले बताए। युसुफ र उनका सहयोगीले गालीगलौच गरी विद्युतका सुपरभाइजर राजेश कुमार पाण्डेय, हेल्परहरू हरि पनेरु, प्रवीण आचार्य, हरिशचन्द्र मिश्रा र शिवलोचन यादवलाई कुटेका थिए।

‘नेपाल प्रहरी र सशस्त्र प्रहरी नभएको भए विद्यतुका कर्मचारीहरूको ज्यान नै जाने अवस्था आएको थियो, सुरक्षाकर्मीको कारण उनीहरूको ज्यान जोगियो’ उनले भने। युसुफ र उनका समर्थकले चुहावट नियन्त्रण टोलीलाई घेरा हालेर निकालिएको मिटरसमेत पुनः जडान गर्न दबाब दिएका थिए।

मध्यरातमा स्थिती तनावग्रस्त बनेपछि प्राधिकरणका प्रमुख यादवले तत्कालै प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठ र प्रहरी उपरीक्षक दीप शमसेर जबरालाई जानकारी गराएका थिए। छपियामा थप सुरक्षाकर्मी गएपछि युसुफ र उनका समर्थक भागेका थिए। ब्ल्याक आउट गरी युसुफ र याकुफलाई पक्राउ गर्न खोजिएपछि सफल भएको थिएन। टोली राति १ बजे मिटर लिएर प्राधिकरण फर्केको थियो।

टोलीमा रहेको कर्मचारी प्रवीण आचार्यले महिला प्रहरी नभएको भए आफूलाई युसुफको घरमा थुनेर मार्ने योजना बनाएको बताए। युसुफ र र उनका छोरा नुरुल र याकुफले चुहावट नियन्त्रण टोलीलाई अवरोध गरेको उनले बताए। प्राधिकरणले युसुफ र याकुफ बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको छ।

‘हामीले दुवैविरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा दर्ता गराएका छौं', प्राधिरकरणका प्रमुख यादवले भने। दुवैलाई कारबाही नभएसम्म छपिया गाउँमा ब्याक आउट जारी रहने उनले बताए।

छपियामा पूर्वी र पश्चिमी गरी दुई गाउँ छन्। दुई गाउँमा तीन सय बढीको बसोबास रहेको वडा अध्यक्ष तिलकराम यादवले बताए। ब्ल्याक आउटपछि बुधबार मध्यरातमा पूरै गाउबासी अन्धकारमा बस्न बाध्य छन्। प्राधिकरणअनुसार छपियामा गाउँभरी हुकिङ छ।

प्रहरी नायब उपरिक्षक सुनिल मल्लले आरोपी दुवैलाई छलफलका लागि बोलाइएको बताए। छलफल र घटनाको अनुसन्धानपछि कारबाही प्रकृया अघि बढाउने उनले बताए।

एक वर्षयता प्राधिकरण तौलिहवाले आक्रमक ढंगले चुहावट नियन्त्रण अभियान चलाएको छ। अभियानमा गत वर्ष ५० लाख र चालु आबको वर्षको कात्तिक महिनासम्म १८ लाख जरिबाना उठाएको प्रमुख यादवले बताए। अहिले २२ प्रतिशत चुहावट छ।

उता घटनाको निन्दा गर्दै नेपाल विद्यतु प्राधिकरण कर्मचारी संघ र नेपाल विद्यतु प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.