|
कयर खोलाको पुल शिलान्यास

विराटनगर : मोरङको बेलबारी नगरपालिका–७ को डाँगीटोल र बेलबारी–७ को सतारटोल जोड्ने कयर खोलामा पुलको शिलान्यास भयो। बाहुनी–कसेली सडक खण्डमा पर्ने कयर खोलाको पुलबाट त्यस भेगका हजारौं नागरिकहरु लाभान्वित हुने बेलबारी–७ का अध्यक्ष चेतबहादुर बस्नेतले बताए।

बि.टी. निर्माण सेवाले २२ मिटर लामो उक्त पुल दुई करोड ९४ लाख ४० हजार रुपैयाँमा बनाउने ठेक्का लिएको छ। उसले आगामी बैशाखभित्र निर्माण सम्पन्न गर्ने जनाएको छ। 

भौतिक पूर्वाधार विकासमा जोड दिँदै आएको प्रदेश सरकारले यो वर्ष २७ वटा पुल निर्माणको काम सुरु गरेको छ। स्वीस सरकारको स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोगमा प्रदेशका विभिन्न जिल्लामा धमाधम पुलहरु निर्माण भइरहेको छ। प्रदेशका विभिन्न जिल्लामा बन्ने ती पुलहरुको प्राविधिक अध्ययन, विस्तृत परियोजना विवरण र लागत निर्धारणको काम सम्पन्न भइरहेको छ। 

मोरङ र सुनसरी निर्माण हुने २२ वटा पुलमध्ये चारवटा निर्माणाधीन छन्। दुईवटा पुल सम्झौताको तयारीमा रहेको र अन्य पुलकोे ठेक्का लाग्ने प्रक्रियामा रहेको पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले जानकारी दिए। संघीय सरकारबाट प्रदेश १ मा पाँचवटा ठूला र खोटाङमा स्थानीय तहले अघि बढाएको एउटा पुल निर्माणको चरणमा छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा पूर्वाधार विकासका लागि विनियोजन गरेको कुल बजेटको करिब ४५ प्रतिशत बजेट सडक र पुल निर्माणमा खर्च गर्ने जनाएको छ। प्रदेश सरकारले बजेट खर्च नहुने विगतको परिपाटी तोड्ने भन्दै विकास निर्माणको कामलाई तीव्रता दिएको जनाएको छ। सोहीअनुसार सबै पुलको ठक्का प्रक्रिया छिटो टुंग्याउनु पर्ने आवश्यकता देखिएको प्रदेशसभा सदस्य विजय विश्वासको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.