समस्यासँगै समाधानका उपाय पनि लिएर आउनुहोस्

|

चितवन : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले औद्याेगिक विकासका लागि चाँडै नै ठोस योजना सार्वजनिक गर्ने बताएका छन्।

चितवनको भरतपुरमा सुरु भएको चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भट्टले ठोस योजनाका साथ अघि बढ्ने बताएका हुन्। आफूले हिजोबाट मात्रै जिम्मेवारी सम्हालेकाले आवश्यक गृहकार्यपछि उद्योग विकासका लागि ठोस योजनाका साथ काम सुरु गर्ने बताए।

मन्त्री भट्टले भने, ‘हिजोको आजै योजना ल्याउने अवस्था नभए पनि विगतका प्रयास, वर्तमान अवस्था, आवश्यकताबारे सम्बन्धित व्यवसायी, उद्योगीलगायत सरोकारवालापक्षसँग छलफल गरी चाँडै नै आगामी योजना ल्याउने छु।’ मन्त्री भट्टले मुलुकको समृद्धिका लागी कृषि मुख्य आधार रहेको उल्लेख गरेका छन्।

ऊर्जा, पर्यटन लगायत अन्य विकासका आधारहरू धेरै भए पनि कृषि मुख्य भएकाले कृषिको आधुनिकीकरणका लागी सरकारले काम गरिरहेको बताए। उनले अब सर्वसाधारणले सिधैँ मन्त्रीलाई भेट्ने वातावरण निर्माण गर्ने बताए। सर्वसाधारणले विशेष किसिमका समस्या सम्बन्धित मन्त्रीलाई मन्त्रालयमै सहज रुपमा भेटेर राख्नसके समस्या समाधानका लागि सजिलो हुने मन्त्री भट्टको भनाइ छ। 

मन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलो कार्यक्रममा सहभागी भएका मन्त्री भट्टले उद्योगी, व्यवसायीलाई समस्यासँगै समाधानका उपायसहित आउन आग्रह गरेका छन्। उनले भने, ‘सधैँ समस्या मात्रै राख्नुहुन्छ। यसका उपाय पनि सँगै ल्याएर आए समस्या समाधानमा थप सहज हुने थियो।’

कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषिमा आधुनीकीकरणविना मुलुक आत्मनिर्भर बन्न नसक्ने बताए। अहिले कृषिका आधुनिक यन्त्रहरू भारत र चीनबाट आउने गरेको भन्दै अब नेपालमै उत्पादन गर्नुपर्नेमा जोड दिए। नेपालीको प्राण मात्र नभइ सभ्यता पनि भएकाले त्यही प्राथमिकतामा राखेर कृषिलाई सरकारले काम गर्नुपर्ने बताए। 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यस प्रदर्शनीबाट भरतपुर फाइदा लिन सवैसँग आग्रह गरेकी छिन। कृषिमा आधुनिक यन्त्रको प्रयोग गरी व्यवसायिक बने मात्रै कृषिमा परनिर्भरता कम गर्नसकिने बताइन्। महानगरले पनि कृषिलाई विशेष महत्वका साथ कार्यक्रम अगाडि बढाइरहेको बताउँदै चितवनमै भएको राष्ट्रिय कृषि यान्त्रीकरणले कृषि आधुनिकीकरणमा ठूलो टेवा पुग्ने बताइन्।

 कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश ३ भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्रालय र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी मंसिर ९ गत्तेसम्म चल्ने छ।

प्रदर्शनीमा २० भन्दा बढी मुलुकका २ हजार भन्दा बढी किसिमका आधुनिक कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधि राखिएका छन्।

७० जिल्लाका करिव ३५ हजार कृषक तथा सरोकारवालाले अवलोकन गर्ने आयोजकको विश्वास छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.