दुई दिन काम गरेर चार दिन सुत्नेबाट समृद्धि असम्भव

|

काठमाडौं : समाजवादी पार्टी नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधनको ग्यारेन्टी भए सरकार नछाड्ने बताएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाह नै नगरी स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई बिदाइ तथा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्रालयमा पठाएपछि देखिएको विवादबीच श्रेष्ठले यसो भनेका हुन्। 

कार्यवाहक श्रेष्ठले संविधान संशोधनका लागि सरकारमा जाने क्रममा भएको दुई बुँदे सहमति कार्यान्वयन भएमा सरकार छाड्न हतार नहुने बताए । 

‘स्वास्थ मन्त्रालय पाएमात्रै सरकारमा बस्ने र कानुन पाए नजाने भन्ने शर्तमा सरकारमा गएका होइनौं। संविधान संशोधनका लागि गएका हौं’, उनले थाहाखबरसँग भने, ‘संविधान संशोधन हुने भए ‘कालकुट विष’ पिउन तयार छौं।’

संविधान संशोधनका लागि पार्टी सरकारमा गएकाले सरकारको नेतृत्व गरिरहेको नेकपासँग वार्ता तयारी भइरहेको उनले बताए । ‘नेकपा सकारात्मक भएमा बस्छौँ नत्र छाड्छौँ।
मन्त्रालय परिवर्तनलाई हामीले मुद्दा बनाएका छैनौँ’, उनले भने, ‘संयुक्त सरकार भएकाले ओली एक्लै हिँड्न पाउँदैनन्। हामीसँग वार्ता नगरी मन्त्रालय हेरफेर र राज्यमन्त्री हटाएकोमा हाम्रो विरोध छ।’

उनले संविधान संशोधनमै कुरा अड्किएको दोहोर्‍याए। ‘केपी ओली, राम्रा छन् भनेर सरकारमा गएका होइनौँ, दुई दिन काम गरेर चार दिन आराम गर्नेले समृद्धि ल्याउन सक्दैन’, उनले प्रम ओलीको व्यक्तिगत व्यवहारको पनि आलोचना गरे। 

‘तित्राको मुखै बैरी भने जस्तो शैली छ ओलीको। देश उँभो जाने बुझेर नै सरकारमा सामेल भएका हौँ। ओलीको कार्यशैली र सैद्धान्तिक मान्यता ठीक छ भनेर सरकारमा गएका होइनौँ’, उनले भने। 

आफ्नो पार्टीबाट सरकारमा गएकाले राम्रो काम गरेका दाबी उनले गरे। ‘उपप्रधानमन्त्री यादवले राम्रै काम गरेका छन्। प्रजनन अधिकार, महिला अधिकारमा राम्रै काम भएको छ,’ उनले भने, ‘संघीय ढाँचामा मन्त्रालय लैजाने काम भएको छ। हाम्रो मन्त्रीहरुबाट राम्रो काम भए पनि संविधान संशोधनका लागि गरिएको २ बुँदे सहमति कार्यान्वयन नभए हामी सरकार छाड्छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.