|

चितवन : चितवन मेडिकल कलेजको होस्टेलबाट एक थान पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका ५ मा रहेको कलेजको होस्टेल परिसरमा पेस्तोल फेला परेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

होस्टेलको सुरक्षागार्डले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीको टोलीले छापा मार्दा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।

उक्त पेस्तोल सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नेत्र विक्रम चन्द 'विप्लव'का छोरा प्रकाश चन्दले राखेको हुन सक्ने आशंका प्रहरीको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चिकित्सा शिक्षा संघर्ष समितिका संयोजकसमेत रहेका प्रकाशले शनिबार दिउँसो पत्रकारसँग सिएमसीले ५६ करोड ठगी गरेको आरोप लगाएका थिए।

अवैध रूपमा बढी लिएको शुल्क फिर्ताको माग गर्दै आइरहेका विद्यार्थी आइतबारदेखि अर्को चरणको आन्दोलन गर्ने तयारी भइरहेको समयमा होस्टेलमा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।

यता, पेस्तोल बरामद भएको घटनाबारे प्रतिक्रिया दिँदै विद्यार्थीले आफूहरूलाई फसाउन खोजिएको आरोप लगाएका छन्। आन्दोलन दबाउने मनसायबाट नाटकीय ढंगबाट पेस्तोल फेला पारिएको संयोजक चन्दले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.