गजेन्द्र बोहराको रेकर्ड भंग

|

बैतडी : दीपक बोहराले बैतडीमा जारी बिडिसिए कप टी-२० क्रिकेट इतिहासमै सबैभन्दा बढी रन बनाउने खेलाडीको रेकर्ड कायम गरेका छन्। निंगलाशैनी क्रिकेट क्लब(एनसिसि), देहीमाडौंको टोलीबाट बिडिसिए क्रिकेटको १९ संस्करणको लिग चरणको खेलमा उनले व्यक्तिगत १४५ रन बनाएर नयाँ रेकर्ड कायम गरेका हुन्।

घरेलु मैदान निंगलाशैनी खेल मैदानमा दीपकले ५६ बलमा १४५ रन बनाएका हुन्। जसमा २० चौका र ७ छक्का सामेल छन्। उनले ४१ बलमै शतक बनाएका थिए। यसअघि बिडिसिए कपमै एकै इनिङमा सर्वाधिक रनकर्ता निंगलाशैनी क्रिकेट क्लव(एनसिसि)कै गजेन्द्र बोहरा रहेका थिए। गजेन्द्रले बिडिसिएको १७औँ संस्करणमा ५५ बलमा १४३ रन बनाएका थिए। दीपकले गजेन्द्रले बनाएको सर्वाधिक रनको रेकर्ड तोडेको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिए ।

दीपकले स्कुलस्तरीय यू-१६ राष्ट्रिय प्रतियोगिता, सुदूरपश्चिममा सम्पन्न मुख्यमन्त्री कप, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलिसकेका छन्। यसका साथै २ दर्जन बढी स्थानीय स्तरका प्रतियोगिता पनि खेलिसकेका छन्। दीपक एनसिसिका खेलाडी हुन्। उनी बिगत तीन वर्षदेखि काठमाडौंस्थित हिमालयन क्रिकेट एकेडेमीमा आवद्ध भएर निरन्तर प्रशिक्षणमा रहेका छन्।

बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाडौंमा विस २०६० सालमा जन्मिएका दीपक निकै लगनशिल र मेहनती खेलाडीका रुपमा परिचित छन्। १५ वर्षीय दीपक दाँया हाते ब्याट्सम्यान हुन्। उनको अबको लक्ष्य घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा पर्ने रहेको छ। 

शनिबार जनसेवा क्रिकेट क्लबसँगको लिग चरणको उक्त खेलमा एनसिसिका लागि दीपकको १४५ रनको व्यक्तिगत स्कोरले ६ विकेटको क्षतिमा २० ओभरमा ३०६ रन बनाउन सफल भएको थियो। बिडिसिए इतिहासमै निंगलाशैनीले बनाएको यो सबैभन्दा उच्च स्कोर पनि हो। उक्त खेलमा निंगलाशैनीका प्रकाश नाथ र खडक बोहराले ४०/४० तथा वीरेन्द्र नाथले २९ रनको योगदान गरे। 

३०७ रनको विशाल लक्ष्यका साथ मैदान उत्रेको जनसेवा १८ दशमलव ४ ओभरमा ११६ रनमा समेटिएको थियो। यसअघि एनसिसिले नै बिडिसिएको १७ औँ संस्करणमा केदारशक्तिसँग ३०३ रन बनाएको थियो।

बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दले बिडिसिए कपको १९औँ संस्करणसम्म पुग्दा दीपकले नयाँ रेकर्ड कायम गर्नु निकै सुखद पक्ष रहेका बताए। 'यस्तै नवप्रतिभा खोजी गर्नका लागि प्रतियोगिता आयोजना गरिएको हो' उनले भने, 'नयाँ प्रतिभाको पहिचान गरी उचित स्थानसम्म पुर्‍याउनुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.