कारोबारको हिसाबकिताब राख्दैनन् ४७.२ प्रतिशत प्रतिष्ठान

|

कपिलवस्तु : कपिलवस्तुमा सञ्चालनमा रहेका करिब आधा व्यवसाय आफू बसोबास गर्ने घरबाट सञ्चालन हुने गरेको एक अध्ययनले देखाएको छ। जिल्लामा सञ्चालनमा रहेका १३ हजार ६०७ व्यवसायमध्ये ४८.९ प्रतिशत व्यवसाय यसरी सञ्चालन भइरहेका छन्।

तथ्यांक कार्यालय कपिलवस्तुले आइतबार सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणनाको नतिजाअनुसार जिल्लाका ६ हजार ६६६ प्रतिष्ठान आफू बसोबास गरेको घरबाट नै सञ्चालन भइरहेका छन्। आफ्नो बासस्थानभन्दा फरक स्थानमा सञ्चालित प्रतिष्ठानको संख्या ६ हजार ९४१ छन्। कुल व्यवसायमध्ये आफ्नो बासस्थानभन्दा फरक स्थानमा सञ्चालित प्रतिष्ठानको प्रतिशत ५१.१ छ।

केन्द्रीय तथ्यांक विभागले वैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म राष्ट्रिय आर्थिक जनगणना सञ्चालन गरेको थियो। आर्थिक तथ्यांकको आधारमा उद्योग, व्यवसाय, संघसंस्थाजस्ता प्रतिष्ठानको विवरण संकलनका लागि गणना गरिएको विभागले जनाएको छ। नेपालमा पहिलो पटक आर्थिक एकाइको विवरण संकलन गरिएको हो। अध्ययनबाट प्राप्त नतिजाले नीति निर्माणमा सघाउने विभागको अनुमान छ।

जापानी सहयोग नियोग जाइकाको सहयोगमा गरिएको गणनाले प्रतिष्ठानलाई १८ वटा क्षेत्रमा विभाजन गरिएको छ। गणनामा नेपालमा सक्रिय रहेका कृषि, वन तथा माछापालन व्यवसाय, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत, पानी आपूर्ति, ढल व्यवस्थापन, यातायात तथा गोदाम, सूचना तथा सञ्चार, शिक्षा, घरजग्गा कारोबारजस्ता क्षेत्रका आर्थिक एकाइको विवरण संकलन गरिएको छ।

यो गणनाले देशभरमा सञ्चालित व्यवसायबारे रोचक तथ्यांक पनि प्रदान गरेको छ। गणनाको नतिजाअनुसार कपिलवस्तुमा सञ्चालित ४७.२ प्रतिशतभन्दा बढी प्रतिष्ठानले आफ्नो कारोबारको हिसाबकिताब राख्दैनन्। ७ हजार ६९ व्यवसाय अर्थात् ५२.८ प्रतिशत व्यवसायले मात्रै कारोबारको स्रेस्ता राख्ने गरेको गणनाले देखाएको छ।

जिल्लामा संचालित १३ हजार ६०७ प्रतिष्ठान सरकारी निकायमा दर्ता भएको अध्ययनको निचोड छ। सञ्चालित प्रतिष्ठानमध्ये ७ हजार ७०८ प्रतिष्ठान दर्ता नभई सञ्चालनमा रहेको अध्ययनले देखाएको छ। ‘सरकारी निकायमा दर्ता भएका प्रतिष्ठानले बढी व्यक्तिलाई रोजगारी सिर्जना गरेका छन्,’ अध्ययनको नतिजा सार्वजनिक गर्दै तथ्यांक कार्यालयका तथ्यांक अधिकृत नन्दलाल कुर्मीले भने, ‘दर्ता नभएका व्यवसायले कम रोजगारी सिर्जना गरेका छन्।’

सबैभन्दा बढी रोजगारी थोक तथा खुद्रा व्यापार, मोटर, गाडी तथा मोटरसाइकल मर्मतको क्षेत्रले सिर्जना गरेका छन्। कपिलबस्तु जिल्लामा संचालित १३ हजार ६०७ प्रतिष्ठानमा कार्यरत जम्मा जनशक्ति ४० हजार ६१० जना रहेकोमा ७५.७ प्रतिशत पुरुष र २४.३ प्रतिशत महिला रहेका छन्। जिल्लामा संचालित प्रतिष्ठानमध्ये सबैभन्दा बढी शिवराज नगरपालिकामा र सबैभन्दा कम यशोधरा गाउपालिकामा प्रतिष्ठान संचालित छन्।

शिवराज नगरपालिकामा २ हजार ३१६, बाणगंगा नगरपालिकामा २ हजार २५०, कपिलवस्तु नगरपालिकामा १ हजार ९८६, बुद्धभूमि नगरपालिकामा १ हजार ७७३, कृष्णनगर नगरपालिकामा १ हजार ५६३, मायादेवी गाउँपालिकामा १ हजार १५५, महाराजगंज नगरपालिकामा आठसय ७४, शुद्धोधन गाउपालिकामा छसय ६२, विजयनगर गाउँपालिकामा पाँच सय ३६ र यशोधरा गाउपालिकामा चार सय ९२ प्रतिष्ठान रहेका छन्।

प्रदेश ५ मा संचालित प्रतिष्ठानको संख्या १ लाख ४७ हजार ७८९ रहेको छ। जसमध्ये प्रदेश ५ मा सबैभन्दा बढी रुपन्देहीमा २५.९९ प्रतिशत, बाँकेमा १२.३६ प्रतिशत, बर्दियामा १०.०८ प्रतिशत, दाङमा ९.७६ प्रतिशत र कपिलबस्तुमा ९.२१ प्रतिशत प्रतिष्ठान रहेका छन्। पूर्बी रुकुममा प्रदेशकै सबैभन्दा कम शून्य दशमलब ६९ प्रतिशत अर्थात् एक हजार २० प्रतिष्ठान संचालनमा रहेका तथ्यांकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.