चारपटक प्रधानमन्त्री भए पनि जिल्लाको बसपार्कमा ध्यान नदिएको आरोप

|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको हिलस्टेसनका रूपमा चिनिने डडेल्धुरा सदरमुकाममा व्यवस्थित बसपार्क नहुँदा यातायातका साधन पार्किङमा समस्या भएको छ। पहाडी जिल्लाको केन्द्रका रूपमा विकसित हुन थालेको डडेल्धुरा सदरमुकाम अव्यवस्थित हुँदै जान थालेपछि सर्वसाधारण र आउने जाने यात्रुले निकै सास्ती भोग्नुपरेको हो।

सडक विभागले भीमदत्त राजमार्ग निर्माणका क्रममा झण्डै दुई दशकअघि सदरमुकाम बागबजारको छेउमा निर्माण गरिदिएको सवारी साधन विश्रामस्थललाई हाल बसपार्कका रूपमा प्रयोग गरिएको छ। तर, सानो विश्रामस्थलमा सवारी साधनको चाप बढी हुने भएकाले यात्रुलाई बसाउने र उतार्ने काम सडकबाटै गर्नुपर्ने बाध्यता रहेको सवारी चालक बताउँछन्। व्यवस्थित बसपार्कको अभावमा सडकमा हिँड्ने बटुवालगायत स्थानीय व्यापारीले समस्या झेल्दै आएका छन्।

पहाडी जिल्लाको केन्द्रबिन्दु मानिने डडेल्धुरा सदरमुकाम भएर दैनिक ५ सयभन्दा बढी सवारी साधन आउजाँउ गर्नछन्। यात्रुवाहक सवारी साधनका अलवा ट्रक, टिप्पर, लहरी, ट्रयाक्टर र अन्य भारवाहक यातायातका साधनको चाप दिनहुँ बढदै गएको छ।

देउवाकै गृहजिल्लामा व्यवस्थित बसपार्कको अभाव

डडेल्धुरा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो। तर, पहाडी जिल्लाको केन्द्र बन्न थाले पनि डडेल्धुरामा अहिलेसम्म बसपार्क समेत बन्न सकेको छैन। देउवाले डडेल्धुरा जिल्लाबाट छौटौं पटक चुनाव जिते पनि व्यवस्थित बस पार्क बनाउनतर्फ ध्यान नदिएको यहाँ स्थानीयको आरोप छ।

डडेल्धुरा पछिल्लो समय शहरीकरणतर्फ तीव्ररूपमा अगाडि बढिरहेको उल्लेख गर्दै डडेल्धुरा जिल्ला अदालत बार इकाइका अध्यक्ष लालबहादुर जाग्री शहरीकरणसँगसँगै जसरी बस पार्कको व्यवस्थापन हुनुपर्ने हो त्यो नभएको बताउँछन्।

‘हाम्रो डडेल्धुरा जिल्लाबाट ०४८ सालदेखि शेरबहादुरजी विजयी भइरहनुभएको छ। उहाँ चार पटक त यो देशको प्रधानमन्त्री नै भइसक्नुभयो’ उनले भने, ‘तर उहाँले सदरमुकामको बस पार्क व्यवस्थापन गर्नमा ध्यान दिन सक्नुभएन।’ उनले डडेल्धुरामा व्यवस्थित बसपार्क बनाउनुपर्नेमा जोड दिए।

ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण

यात्रुवाहक सवारी साधनहरुले यात्रु उतार्ने र बसाउनेदेखि भारवाहनले सरसमान लोड अनलोड गर्ने काम सडकमै गर्ने भएकाले सदरमुकाममा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले, डडेल्धुराले जनाएको छ। सडकको दाँया र बाँया फुटपाथसमेत नभएकाले सवारी साधनको चापका कारण भीडभाडमा हिँडडुल गर्नै समस्या भएको सर्वसधारण बताउँछन्।

सडकको केन्द्रबिन्दुदेखि दाँया र बाँयातिर २५/२५ मिटर छाडनुपर्ने सडक विभागको मापदण्ड छ। तर, डडेल्धुरा सदरमुकाममा कतिपय घर सडकको नाली मिचेर बनाइएका छन्। कतिपय पसलले सडकमै सरसमान राख्ने र घरधनीले विभिन्न निर्माण सामग्री पनि सडक छेउछाउमै राख्ने भएकाले सदरमुकाम क्षेत्रमा सवारीसाधन चलाउन निकै समस्या भइरहेको हो।

सडक विभागले सडक मापदण्डअनुसार सडक छेउछाउमा निर्माण गरेका घरटहरा हटाउन निकै प्रयत्न गरे पनि सडक क्षेत्र खाली गराउन नसकिएको डिभिजन सडक कार्यालय कुलपाते, डोटीले जनाएको छ।

व्यवस्थित बस पार्क नहुँदा ट्राफिक व्यवस्थापनमा समेत निकै समस्या हुने गरेको ट्राफिक प्रहरी विकासबहादुर चन्दले बताए। सदरमुकामको तुफानडाँडादेखि बागजारसम्म दैनिक सवारी साधनको जाम हुने गरेको उनको भनाइ छ।

‘बस पार्क सानो छ। गाडी आउने जाने भइरहेको हुन्छ। गाडी पार्किङ गर्न खोज्दा जाम लाग्छ’ उनले भने, ‘प्रत्येक दिन १२ बजेदेखि ३ बजेसम्म जाम लाग्ने गरेको छ।’

सडक छेउमै मोटरसाइकल पार्किङ

डडेल्धुरा सदरमुकाम क्षेत्रमा सडक छेउमै मोटरसाइकल पार्किङ गरिँदै आइएको छ। साधुरो सडक त्यहीँमाथि सडक छेउमै मोटरसाइकल पार्किङ गरिँदै मान्छेलाई हिँडडुल गर्न समेत समस्या हुने गरेको छ।

बसपार्क अभावमा सदरमुकाम बागबजार तथा तुफाँनडाडा क्षेत्रमा दिँउसो सडकमा गाडी रोकिएका हुन्छन्।

‘यहाँको बजारमा मोटरसाइकलहरू पनि सडक पेटीमै राख्ने गरिएको छ। बस पार्कको छेउमै मोटरसाइकल राख्ने ठाउँ छ’ ट्राफिक प्रहरी चन्दले भने, ‘तर यहाँ आउने मान्छे प्रायः सबैले सडक छेउमै पार्किङ गर्छन्। ट्राफिक नियमसमेत पालन गदैनन्। ट्राफिकले भनेर मात्रै हुँदै निमय आफैँले पालना गर्नुपर्छ।’ ट्राफिक प्रहरी गएको बेला हटाउने र बाँकी समयमा उस्तै समस्या हुन्छ।

अस्तव्यस्त बजार

बजार क्षेत्र हरेक दिन अस्तव्यस्त बन्दै जान थालेको छ। देशका विभिन्न भागबाट सुदूरका पहाडी जिल्लामा सञ्चालित यातायातका साधन डडेल्धुरा भएर जानुपर्ने भएका कारण हरेक वर्ष सवारी साधनको चाप बढ्दै जान थालेको छ।

सुविधासम्पन्न बसपार्क बन्न नसक्दा बजारमा यत्रतत्र सवारी साधन पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ। यसले गर्दा बागबजार क्षेत्रको बजार अस्तव्यस्त छ। बसपार्कको अभावका कारण ट्राफिक समस्याका साथै बजारनै कुरुप भइरहेको छ।

सदरमुकामको मुख्य बजार बागबजार मा जताततै सवारी साधन पार्किङ हुँदा सर्वसाधारणका लागि हिँड्ने बाटोको समेत समस्या छ। गाडी गुड्नुपर्ने सडकको दुबैतिर आउने जाने यातायातका साधन पार्किङस्थल बनेपछि स्थानीय बासिन्दाले निकै सास्ती भोग्नु परेको हो।

सदरमुकामको मुख्य बजार बागबजारदेखि कीर्तिपुरसम्म राजमार्गको अधिकांस क्षेत्रमा खोका छाप्रादेखि पक्की घरसमेत निर्माण गरेर व्यवसाय सञ्चालन भइरहेको छ। सदरमुकामको तुफानडाँडादेखि बागबजारसम्म दैनिक सवारी साधनको जाम हुनु सामान्य जस्तो भएको छ।

यातायाता व्यवसायी र चालकका आफ्नै दुःख

डडेल्धुरामा उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालि संचालनमा रहेको छ। उक्त यातायात प्रालिबाट साना-ठूला गरी २४१ वटा सवारी साधन संचालनमा रहेका छन्।

ती सवारी साधन पार्किङ गर्न समस्या छ भने सुदूरपश्चिमका अन्य स्थानबाट आउने सवारी साधनका कारण पनि चाप थपिएको र पार्किङ गर्न समस्या हुने गरेको उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालिका काउन्टर इञ्चार्ज तेजबहादुर ऐरले बताए।

बसपार्क अभावमा दैनिक क्युमा छुट्ने गाडी समयमै छुट्न नपाउने अवस्था सिर्जना भएको र जिल्लाका ग्रामीण क्षेत्रका साथै अन्य जिल्लाबाट आएका सवारी साधन पार्किङ गर्नै समस्या रहेको उनको भनाइ छ।

‘बसपार्कमा पार्किङ गर्ने त कुरै छौडौँ, साइडमा राख्न नसकिने अवस्था छ। काठमाडौं जाने गाडी र अन्य शाखा सडकमा गुड्ने गाडीमात्रै यहाँ पार्किङ गर्ने गरेका छौँ’ उनले भने, ‘भागेश्वर र अजयमेरु जाने साना गाडीलाई पिपल चौतारीदेखि तलको सडक छेउमा पार्किङ गरिन्छ।’ साधुरो सडक त्यसैमा व्यवस्थित बस पार्क नहुँदा दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ।

‘२०६३ सालयतादेखि बसपार्कको अवस्था ज्यूका त्यू रहेको छ। प्रत्येक वर्ष सवारीसाधनहरू थपिँदै गएका छन्’ उनले भने, ‘केही प्राइभेट स्कारपियो पनि यहीँ बस पार्कमा पार्किङ गरिन्छ।’

बस पार्क साधुरो हुँदा गाडी पार्किङ गर्न आफूहरूलाई निकै समस्या हुने गरेको चालक करन कैनी बताउँछन्। ‘धेरै वर्ष भइसक्यो यो बस पार्क साधुरो छ। गाडी पार्किङ गर्न मिल्दैन’ उनले भने,‘हामीलाई पार्किङ गर्न निकै गाह्रो हुन्छ। कहिले त रोडमै पार्किङ गर्नुपर्छ।’

बस पार्कलाई कार्यक्रम स्थल बनाउँदा झनै समस्या

चुनावी सभादेखि विभिन्न कार्यक्रम त्यहीँ बस पार्कमा आयोजना हुने गरेका छन्। यहाँ आउँदा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ डा. बाबुराम भट्टराईलगायतका नेता यहीँ बस पार्कमा भाषण गरेर फर्किन्छन्।

यहाँ आयोजना हुने कार्यक्रममा देउवाले बस पार्कलगायतका जिल्लाको विकास गर्नमा आफू प्रतिबद्ध रहेको बताए पनि व्यवहारमा भने लागू गर्न नसकेको यहाँका नागरिकको आरोप छ। निर्वाचनका बेला देउवा भाषण गर्न र भोट माग्न मात्रै जिल्ला आउने र जितेपछि जिल्ला नै नफर्किने गुनासो यहाँका स्थानीयको छ।

यति मात्रै होइन, यहाँका सरकारी तथा विभिन्न संघसंस्थाले पनि जनसेचनामूलक कार्यक्रम गर्न परे यहीँ बस पार्कलाई नै छनोट गर्छन्। कार्यक्रम यहाँ आयोजना हुँदा गाडीलाई आवतजावत गर्न निकै मुश्किल हुने गर्दछ।

यहाँ कार्यक्रम आयोजना हुँदा आफूहरूलाई गाडी व्यवस्थापन गर्नमा समस्या हुने उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालिका काउन्टर इञ्चार्ज तेजबहादुर ऐर बताउँछन्।

के हुँदैछ ‘डकले बसपार्क’को काम?

जिल्ला सदरमुकाम बागबजारबाट पाँच किलोमिटरको दूरीमा व्यवस्थित बसपार्क बनाइने भनी निर्माणको काम सुरु गरिएको ‘डकले बस पार्क’ काम सुरु भएको चार वर्षसम्म पनि बन्न सकिएको छैन।

६० लाखको रकममा काम सुरु गरिएको बसपार्क निर्माणको काम अहिले अलपत्र परेको छ। आर्थिक अभावका कारण डडेल्धुराको अमरगढी नगरपालिका–८ डकलेमा निर्माण सुरु थालिएको बस पार्कको अहिले अन्यौलमा परहेको हो।

जिल्ला सदरमुकाम बागबजारमा रहेको बस पार्कको विकल्पका रूपमा निर्माण भइरहेको डकले बसपार्कको निर्माण नहुँदा यातायातका सवारी साधन पार्किङ गन निकै समस्या छ। डकलेमा निर्माणधीन रहेको बसपार्क अहिले अलपत्र अवस्था रहेको छ।

अमरगढी नगरापलिका–८ को डकलेमा निर्माणाधीन बसपार्कको निर्माण स्थलमा केही पर्खाल लगाइएको छ भने थोरै जमिन सम्याउने काम मात्रै गरिएको छ। बसपार्क निर्माणका लागि आर्थिक वर्ष २०७३/०७४ साविकको सहरी विकास तथा भवन डिभिजन कार्यालय राजपुर डोटीको ६० लाख रुपैयाँ खर्च भइसकेको छ।

निर्माणाधीन ‘डकले बस पार्क’को काम सम्पन्न गर्नका लागि १२ करोड ५१ लाख बराबरको नयाँ सेण्डर हुने प्रक्रियामा रहेको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए।

‘यो बसपार्कको डीपीआर तयार गरेर योजना अन्तिम चरणमा पुगेको छ। यस वर्ष रातो किताबमा यो योजना समावेश भएको छ’ नगरप्रमुख ओझाले भने,‘यो आर्थिक वर्षभित्रै यो टेण्डरको प्रक्रियामा अगाडि जान्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.