पर्वत : परम्परागत कृषि प्रणालीलाई विस्थापन गर्दै गाउँगाउँमा आधुनिक कृषि उपकरणको प्रयोग बढ्न थालेको छ। हलो जोत्ने, कोदालोले खन्ने किसान अहिले आधुनिक उपकरण प्रयोगमा अभ्यस्त हुन थालेका छन्।
फलेवास नगरपालिका–२ शंकरपोखरीका ज्ञानप्रसाद रेग्मी बिहान सबेरैदेखि आलु लगाउने ठाउँ तयार गर्न मिनी टिलर चलाइरहेका भेटिए। गोरुले जोतेर आलु लगाउने ठाउँ तयार पर्दा ३÷४ दिन लाग्ने गरेकोमा टिलरले एकै बिहानमा काम सकिने उनले अनुभव छ। अघिल्लो वर्षसम्म गोरुले खेत जोत्ने गरेका उनले एक वर्षदेखि मिनी टिलर नै प्रयोग गरिरहेका छन्।
‘युवाहरू जागिर खान विदेशमा छन्। गाउँमा महिलाहरू मात्र छन्। यो बेलामा मिनी टिलरले काम गर्न सजिलो भएको छ,’ उनले भने, ‘मैले यो टिलर गत वर्ष ल्याएको हुँ। गाउँका आधा मान्छेको जग्गा यसैले जोतियो, काम त कति हो कति छिटो हुने रहेछ। गोरुभन्दा यसैबाट छिटो भयो, पैसा पनि जोगियो।’
कृषकहरूलाई व्यावसायिक बनाउन संघ र प्रदेश सरकारका कृषिसम्बन्धी सरोकार राख्ने निकाय र स्थानीय सरकारले पनि आधुनिकतामा जोड दिएका छन्। कुस्मा नगरपालिकाले चालु आर्थिक वर्षमा मिनी टिलर खरिदका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। आधुनिक कृषि प्रणालीलाई टेवा पुग्ने गरी ६३ लाख रुपैयाँ बजेट छुट्टयाएको छ।
कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले नगरपालिकाले कृषिका लागि तयार पारेको योजनामा आधुनिकीकरणमा बढी जोड दिएको बताए। ‘हामीले आधुनिक मेसिनको प्रयोगमा बढी जोड दिएका छौँ। कृषकहरूको माग पनि त्यस्तै रहेको छ,’ उनले भने, ‘नगरपालिकाले तयार पारेको बजेटबाट ६३ लाख छुट्ट्याएका छौँ।’
पर्वतमा कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले एक हजार वटाभन्दा बढी मिनी टिलर बाँडेका छन्। ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले पनि कार्यालयमा आउने कृषकहरूले आधुनिक उपकरणहरूको माग धेरै गर्ने गरेको बताए।
‘पर्वत जिल्लामा पनि अरू जिल्लामा जस्तै उपकरण माग्ने कृषकहरू धेरै हुनुहुन्छ, हामीले उहाँहरूको माग सुन्ने प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘सबैभन्दा बढी मिनी टिलरको माग र दोस्रोमा कुटनी पिसनी गर्ने सानो मिल खोज्ने धेरै हुनुहुन्छ। यस्तै, थ्रेसर, मिनी टिलरको असारे फाली, खाडल खन्ने मसिन, स्प्रे, चेन स लगायतको माग छ।’
परम्परागत शैली हराउँदा पनि समस्या
थोरै समयमा धेरै काम गर्न सकिने गरी कृषिमा आधुनिक उपकरणको प्रयोग भइरहँदा केही अप्ठ्यारा पनि देखिएका छन्। धान रोप्नका लागि मिनी टिलर प्रयोग गर्दा गाउँ गाउँबाट गोरु विस्थापित भएका छन्। गोरुकै अभावमा दाइँ राख्न नपाएका फलेवास नगरपालिकाका बाबुराम पौडेल बताउँछन्। आधुनिक उपकरणहरूका कारण काम गर्न सजिलो भए पनि परम्परागत शैलीलाई मास्न नहुने पौडेलको भनाइ छ।
‘मैले बिहानभरी गाउँ डुल्दा पनि दाइँ राख्ने गोरु पाउन सकिनँ, आगमनमा छिरलेको पराल जस्ताको तस्तै छ,’ उनले भने, ‘आधुनिक उपकरण पाइँदैमा सबै समस्याको समाधान नहुने रहेछन्। पुराना शैलीका कुराहरू पनि जोगाउने हो भने आवश्यकता अनुसार प्रयोग गरेर काम सक्न पाइन्छ।’
समथर तथा फराकिला गराहरूमा थ्रेसर वा ट्रयाक्टरले दाइँ हाल्ने गरेको भए पनि अग्ला कान्ला हुने गरेको पहाडी क्षेत्रहरूमा मिनी टिलरजस्तै कतिपय उपकरणहरू प्रयोगमा चुनौती देखिएका छन्। अप्ठ्यारोका विकल्पहरूको पनि खोजी गर्न सक्ने हो भने कृषि पेसामा देखिएका समस्या समाधान गर्न सजिलो हुनुका साथै कृषिमा निराश बनेकाहरू पनि यसप्रति आकर्षित हुने कृषि क्षेत्रसँग सम्बन्ध राख्नेहरू बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।