|
फोटो : ध्रुवसागर शर्मा

म्याग्दी : विश्वका अन्य कुनै पनि मुलुकमा हेमन्त ऋतुमा नफूल्ने पैयुँ नेपालमा मात्र फूल्ने गर्दछ। यस्तो अनौठो वनस्पति पैयुँ अहिले म्याग्दीका ग्रामीण भेगहरुमा ढकमक्क फूलेको छ। 

मह उत्पादनका लागि मौरीको उत्कृष्ट आहारा मानिएको पैयुँ यतिखेर मध्यम्याग्दीका विभिन्न गाउँहरुमा विगतका वर्षहरुमा भन्दा राम्रोसँग फूलेको छ।

चेरीको नामले समेत चिनिने पैयुँ धार्मिक,प्राकृतिक र पर्यावरणीय दृष्टिकोणले समेत अत्यन्तै महत्वपूर्ण वनस्पति भएको वातावरणविद्हरुले बताउने गर्दछन्।

पैयुँ जातको वृक्षबारे लामो समयदेखि अनु्सन्धान गर्दै आएका वनस्पति विभागका प्राज्ञ डा.तीर्थबहादुर श्रेष्ठले नेपालका पैयुँ जातका वृक्षहरू विश्वमै फरक रहेको बताएका छन्।

प्राडा श्रेष्ठका अनुसार नेपालमा पर्यटक आउने सिजनमा फूल्ने पैयुँका फूलहरु हेमन्त ऋतमा विश्वका अन्य कुनै पनि देशमा फूल्ने गरेका छैनन्। पैयुँको विरुवा कसैसँग आयात गरेर ल्याएको विरुवा नभएको र नेपालको रैथाने बृक्ष भएको डा.श्रेष्ठले बताए।

तराई तथा मधेशमा बाघ, चितुवा र भालुलाई खोरमा थुन्नको लागि समेत पैयुँको काठको प्रयोग हुने गरेका छन्। पैयुँका हाँगाहरु बलियो हुने भएकाले परापूर्वदेखि धनुषबाँणमा समेत पैयुँको विरुवाको प्रयोग गरिएको पाइन्छ।

पैयुँ प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा औषधीय गुणले युक्त वृक्ष हो। नेपाल सरकारले सडक छेउमा समेत पैयुँका विरुवाको वृक्षरोपण गरेको छ। पैयुँको वैज्ञानिक नाम प्रनस सिरास्वाइडिस भएको प्राज्ञिक डा.श्रेष्ठको भनाइरहेको छ।  धार्मिक रुपमा बिबाहको मंण्डप तथा ब्रतवन्धका बटुकले भिक्षा माग्ने क्रममा पैयुँको लौरो प्रयोग गर्ने गरिँदै आएको छ।

त्रेता युगमा राम वनबास गएको समयमा रामले पैयुँको लौरो प्रयोग गरेकै कारण धार्मिक कार्यमा पैयुँको प्रयोग हुने गरेको तथ्य रहेको पण्डित भीमनाथ पराजुलीले बताए। यस वर्ष पैयुँ राम्रोसँग फूलेपछि भने पुनः मौरीपालन गर्न कृषकहरूलाई उत्प्रेरणा प्राप्त भएको पुलाचौरका शिक्षक शिव बानियाँले बताए।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.