|

बैतडी :गत कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकमा डोजरले महिला हुत्यायो। डोजरले महिला हुत्याएपछि जिल्ला प्रशासन कार्यालयले कात्तिक ५ गते छानविन समिति गठन गर्‍यो। उक्त गठिन समितिलाई सत्यतथ्य छानविन गरी ४८ घण्टाभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएकोमा समितिले  ३५ दिन बितिसक्दा समेत प्रतिवेदन बुझाएको छैन।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको सो समितिले ४८ घण्टामा प्रतिवेदन बुझाउन नसकेपछी प्रतिवेदन बुझाउने म्याद ५ दिनका लागी थप गरिएको थियो। उक्त थपिएको म्यादमा पनि प्रतिवेदन तयार भएको छैन।

छानविन समिति गठन भएपश्चात समितिले स्थलगत छलफल समेत गरेको थियो। छानविन समितिले ३५ दिनसम्म पनि प्रतिवेदन नबुझाउँदा नागरिकले आशंका पनि गर्न थालेका छन्। यसअघि नेपाली कांग्रेसको केन्द्रीय छानविन समितिले सत्ता र शक्तिका आडमा घटना भएको निष्कर्ष समेत निकालेको थियो।

सडक निर्माण गर्दा दुई पक्षबीच झडप भएको थियो। झडपकै क्रममा डोजर चालकले एक महिलालाई हुत्याएको थियो।  छानविन समितिले गहन रुपमा सबैकुरा समेटनु पर्ने भएकोले प्रतिवेदन बुझाउन ढिलाई भएको जनाएको छ। समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीका अनुसार प्रतिवेदन तयार भएकोले केही दिनभित्रै प्रतिवेदन बुझाउने तयारी रहेको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी बिदामा रहेकोले उनी आउने बित्तिकै प्रतिवेदन बुझाउने तयारी रहेको नेगीले बताए। स्थलगत रुपमा दुबैपक्षसँग छलफल गरेको, वस्तुगत अवस्था, नगरपालिकासँग बुझेका छौं। उनले भने, 'पीडित पक्षले आफ्नो जग्गामा सडक खन्न नदिने भन्ने उच्च अदालतमा मुद्दा गरेकोले प्रतिवेदन बुझाउन ढिलाई भएको छ। त्यसको पनि समस्या समाधानतर्फ छ।' 

छानविन समितिले तयार पारेको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीको राय सहित प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगमा पठाइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।  दशरथचन्द नगरपालिका ९ को सुन्नाखानदेखि पार्स सम्म जोड्ने सडक निर्माणका बिषयमा दुई पक्षबीच विवाद हुँदा डोजरले एक महिलालाई हुत्याएपछि घटनाले ठूलो रुप लिएको थियो। 

महिला हुत्याउने चालक थुनामा , चारजना धरौटीमा छुटे

जिल्ला अदालत बैतडीले सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालक किशोर बोहरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको हो।

जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता भानदेव जोशीले जानकारी दिए। यस्तै चालक बोहरालाई डोजरले हुत्याउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटी रिहा गर्ने आदेश भएको छ। 

सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीलाई पनि सार्वजनिक शान्तिमा खलल पुर्‍याएको कसुरमा मुद्दा दर्ता भएकोमा दुर्गादत्त पनि ४० हजार धरौटीमा छुटेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.