|

भद्रपुर : भद्रपुर नाकामा खटिएका भन्सार कर्मचारी र प्रहरीकै मिलेमतोमा विषादी परीक्षणबिनै भारतबाट आयातित फलफूल तथा तरकारी नेपाल भित्र्याइँदैछ। 

मेची भन्सार कार्यालय काँकडभिट्टाले विषादी परीक्षणमा कडाइ गरेपछि व्यापारीले त्यहाँबाट भित्र्याइने फलफूल तथा तरकारी अहिले भद्रपुर नाकाबाट धमाधम भित्र्याउँदै छ। विषादी परीक्षणपछि राजश्व तिराएर भित्र्याउन दिनुपर्ने फलफूल तथा तरकारी भद्रपुर भन्सार कार्यालयले त्यसै आयात गर्न दिइरहेको छ।

त्यसबापत भारतीय कारोबारले नाकामा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीलाई रकमसमेत बाँड्ने गरेको व्यापारी स्रोतको दाबी छ। पिकअप भ्यान तथा मिनी ट्रकमा फलफूल र तरकारी भित्र्याउँदा सबैको आँखा लाग्छ भनेर कारोबारीले साइकल र सिटी सफारीलाई माध्यम बनेका छन्। 

कारोबारीले मेची पुलपारि फलफूल र तरकारी भण्डारण गर्ने र त्यहाँबाट भारतीय नम्बर प्लेटको सिटी सफारी, ठेला भ्यान र साइकलमा लोड गरी भन्सार अगाडिबाटै नेपाल प्रहरीको चेक पोस्टसम्म ल्याउँछन्।

भन्सार अगाडिबाट लाइन लगाएर सफारी र साइकल प्रहरीको चेकपोस्टसम्म आइपुग्दा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारी त्यसलाई रोक्नुका साटे उल्टै कति वटा गयो भनेर गन्दै बस्छन्। त्यसपछि कारोबारीले ड्युटीमा खटिएका कर्मचारी र प्रहरीलाई रकम बाँडछन्। एउटा सिटी सफारीले कम्तीमा पाँच सयदेखि एक हजार र साइकलले एक सयदेखि दुई सय पचाससम्म रकम बाडने गरेको व्यापारी स्रोतको दाबी छ। 

‘पहिला पिकअप र मिनी ट्रकमा फलफूल तथा तरकारी भन्सार आउँथ्यो। भन्सारले विषादी परीक्षणका लागि पत्र लेखिदिए पछि कारोबारी बिर्तामोड गएर परीक्षण गरेर ल्याउनु पथ्यौं। अनि मात्र भन्सार काटिन्थ्यो’, व्यापारी स्रोतले भन्यो, ‘अहिले त्यसो गर्न छाडिएको छ।

 ठूला सवारीसाधनमा फलफूल र तरकारी आउँदैन सफारी, ठेला भ्यान र साइकलमै ल्याउँछ। विषादी पनि चेकजाँच गर्नु परेर भन्सारलाई तिर्न राजश्व कारोबारीले कर्मचारी र प्रहरीलाई बाडदा झन्झट पनि भएन।’

फलफूल र तरकारीसँगै भारतबाट आयातित माछा पनि क्वारेन्टाइन चेकजाँच बिना नै भित्रिरहेको छ। नेपाली तथा भारतीय कारोबारीले माछालाई कार्टुनमा हालेर ल्याउनु पर्ने र क्वारेन्टाइन चेकजाँचपछि भन्सार काटेर लैजानुपर्ने हुन्छ। तर, झोलामा राखेर साइकल र सफारीमा भित्राउने माछाको क्वारेन्टाइन र भन्सार दुवै नगरी भित्र्याइरहेको छ। 

भन्सार अगाडि बजारै लाग्छ 

गत असार २५ गते सर्वोच्च अदालतले भारतबाट आयातित फलफूल तथा तरकारीको विषादी परीक्षण नगर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने र सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको थियो। त्यसपछि सीमा नाकाबाट नेपाल भित्रिने फलफूल तथा तरकारीको विषादी परीक्षणमा कडाइ गरेको हो। तर, भद्रपुर भन्सार अगाडिबाट खुलेआम भित्रिने भारतीय फलफूल र तरकारी भन्सारदेखि सय मिटर टाढा कृषि थोक बजार जस्तै लाग्ने गरेको पाइएको छ।

सिटी सफारीमा भित्रिने फलफूल र तरकारी प्रहरी चेक पोस्ट नजिकै रहेको सवारी पार्किङ स्थलसम्म ल्याउने र त्यहाँ पिकअप वा जिपमा लोड गरी सोजै बिर्तामोड बजारसम्म पुर्‍याउने दृश्य देख्न सकिन्छ। यात्रु बोक्ने भारतीय सिटी सफारीमा फलफूल र तरकारी बोक्दा पनि ट्राफिक प्रहरी रमिते बनेको छ। यसरी भित्राइएको विषादी परीक्षण बिनै फलफूल तथा तरकारी नेपाली उपभोक्ताले खरिद गरी खान बाध्य छन्।

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड हुँदा पनि यसलाई नियन्त्रण गर्न कुनै निकायले चासो देखाएको छैन। 

भन्सारमा १० प्रतिशत कर लाग्छ 

भारतबाट आयातित फलफूल तथा तरकारीको विषादी परीक्षणसँगै १० प्रतिशत कर लाग्ने भद्रपुर भन्सार कार्यालयका प्रमुख फणीन्द्र खतिवडाले जानकारी दिए।काँचो तथा हरियो सागसब्जीमा ५ प्रतिशत कृषि सुधार र अग्रमी आयकरमा ५ प्रतिशत लाग्ने जनाइएको छ।

सुकेको लसुनमा १० प्रतिशत करसहित १३ प्रतिशत भ्याट पनि लाग्छ। यो लाग्ने कर फलफूल तथा तरकारीको प्रति केजीको आधारमा लाग्छ। ‘विना परीक्षण फलफूल तथा तरकारी भन्सारले कर लिन मिल्दैन’, भन्सार प्रमुख खतिवडाले भने, ‘नेपाली बजार भित्राइने फलफूल तथा तरकारीको कारोबारी वा व्यापारीले विषादी परीक्षण गरेर ल्याउँछ। अनि मात्र प्रज्ञापनपत्र काटेर पठाउने नीतिगत नियम छ।’ 

भन्सार अगाडिबाटै सोजै विना परीक्षण फलफूल र तरकारी गइरहेको विषयमा आफूलाई थाहा नभएको बताउँदै भन्सार प्रमुख खतिवडाले भने, ‘त्यस्तो गरेको खण्डमा ड्युटीमा खटिएका कर्मचारी कारावाही हुन्छ।’ ‘भन्सार अगाडि कर्मचारीसहित सशस्त्र प्रहरी र नेपाली प्रहरी पनि खटिएका हुन्छ’, उनले भने, ‘यसलाई रोक्ने जिम्मेवारी तिनै निकायको हो। यस विषयमा प्रहरी प्रमुखसँग समन्वय गरेर रोक्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.