|

पाटन विमानस्थल कालोपत्रे गर्ने सम्झौताको म्याद सकिएको १६ महिना बिते पनि काम अझै सुरु भएको छैन। सम्झौतामा २०७५ असार मसान्तसम्म कालोपत्रे गरिसक्ने उल्लेख छ। 

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले निर्माण ठेक्का लिएको विमानस्थलमा कालोपत्रे काम गर्न बाँकी छ।  निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले निर्माण सामग्रीको अभावले तोकिएको समयमा काम पूरा हुन नसकेको बताए। कालोपत्रे गर्ने मेसिन जडान भइसकेकाले मंसिरभित्रै कालोपत्रे गरिसक्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ। 

‘ठेक्का भइसकेपछि विविध कारणले काम समयमै सुरु नहुँदा पनि समस्या भएको हो,’ उनले भने, ‘वर्षातको कारण र अन्य प्राविधिक कारणले पनि काम केही ढिलाइ भएको हो। अलकत्रा र गिट्टीको अभावले समयमै कालोपत्रे गर्ने काम सकिएन।’

विमानस्थलाई कालोपत्रे गर्ने कार्यअन्तर्गत बेस, सबबेस र ड्रेनलगायतको सबै काम सकिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमानस्थलको २०७३ चैतमा सम्झौता भई पुनर्निर्माणको काम सुरु भएको हो।

विमानस्थलको ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिनेछ। ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ। यसका लागि मूल्य अभिवृद्धि कर बाहेक करिब ११ करोड २९ लाख रुपैयाँको काम भइरहेको छ। 

२०३२ सालमा काम सुरु भएर २०३५ सालदेखि विमानस्थल सञ्चालनमा आएको थियो। पहाडी जिल्लाहरुमा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै २०५२ सालदेखि विमानस्थल बन्द गरिएको थियो।

यस विमानस्थलको टावरमा २०५८ सालमा तत्कालीन नेकपा माओवादीले आगो लगाएर ध्वस्त बनाएको थियो। कार्यालय भवनहरु पनि विमानस्थल सञ्चालनमा नआएपछि जीर्ण भएका थिए।

पाटन विमानस्थल कैलालीको गेटा विमानस्थलपछि सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो। नेपाल सरकारले घोषणा गरेको १० नमुना शहरमध्ये एक शहरमा पर्ने पाटनमा रहेको विमानस्थल सञ्चालन हुन सके झनै पर्यटकीय गन्तब्य बनाउन सकिने विश्वास गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.