|

दैलेख : गाउँमा स्थानीय सरकार आएको दुई वर्षभन्दा बढी भइसक्दासमेत दैलेखका अधिकांश स्थानीय तह भाडाकै घरबाट सञ्‍चालनमा छन्। स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दा गाउँका सिंहदरबार भनिने स्थानीय सरकारको आफ्नै भवन नहुँदा बर्सेनि लाखौँ रकम भाडामै खर्च गर्ने गरेको छन्।

११ वटा स्थानीय तह रहेको दैलेखमा अहिले पनि सातवटा स्थानीय सरकार भाडाकै घरमा बसेका छन्। गाउँपालिका नगरपालिकाको भवन मात्र नभई जिल्लामा अधिकांस वडा कार्यालयलगायत गाउँपालिकाका विषयगत शाखाहरू छुटा-छुट्टै भवन भाडामा लिएर सेवा प्रवाहा गरिरहेका छन्।

भाडाको घरमा बस्ने हरेक स्थानीय तहले वार्षिक ५ लाखदेखि ८ लाखसम्म भाडा तिर्ने गरेका छन्। तर, स्थानीय सरकारले आफ्नै भवन निर्माण गर्नतर्फ भने ध्यान दिएका छैनन्। गाउँमा सिंहदरबार आएको दुई वर्ष बढी भइसक्दा केन्द्र विवाद, जग्गा खरिदजस्ता समस्या देखाउँदै भवन निर्माण गर्न नसकेका हुन्।

भाडाकै घरमा बसेर सेवा दिँदा बर्सेनि लाखौँ रकम भाडामा खर्च हुने भएपछि गाउँपालिकाले भवन निमाँर्णका लागि १ करोड बजेट विनियोजन गरेको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए।

उनले गाउँपालिकाको भवन निर्माणका लागि जग्गा पाइसकिएको र भवन निर्माण साझेदारीका लागि संघीय सरकारसँग माग गरिएको बताए। भवन निर्माणको काम छिटै सुरु गरिने उनको भनाइ छ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका पनि भाडाको घर बाट सेवा दिइहेको छ। भाडामा लिएको घरबाट सेवा प्रवाह गर्न समस्या भएपछि नगरपालिकाले विद्यालयको भवनसमेत प्रयोग गर्ने गरेको छ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका नगर प्रमुख सूर्यबहादुर शाहीले सहरी विकास मन्त्रालयले भवनको डिजाइन स्टमेट निर्माण गरेको र भवन निर्माणका लागि नगरपालिकाले १ करोड बजेट छुटुयाएका बताए। उनले पनि अबको केही दिनभित्र निर्माणको काम सुरु गरिने बताए।

भैरवी गाउँपालिकाले भवन सनर्माण गर्न १ करोड २५ लाख विनियोजन गरेर असारबाट निर्माणको काम सुरु गरिएको भए पनि तोकिएको समयमा सकिएको छैन। अहिले कार्यपालिकाले पुष मसान्तसम्म सकाउँने गरी म्याद थप गरेको गाउँपालिकाकी उपाध्यक्ष पदम कुमारी बिष्टले बताइन्।

गुराँस गाउँपाकिलाले निर्वाचन भएको डेढ वर्षमा गाउँपालिका केन्द्रको विवाद रह्यो। केन्द्र विवाद मतदानबाट टुंग्याएको गाउँपालिकाले घोडाबासबाट गुराँसे सारेको गाउँपालिका केन्द्र १ वर्ष पुग्दासमेत आफ्नै भवन निर्माणमा चासो दिएको छैन।

गुरास गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गाउँपालिका भवन निर्माणका लागि १ करो ३० लाख रकम विनियोजन गरेको बताए। उनले भवन निर्माणका लागि दुई रोपनी जग्गा लिइसकेको पनि बताए। बाँकी जग्गा लिइएर फागुनदेखि गाउँपालिकाको भवन निर्माणको काम सुरु गरिने उनको भनाइ छ।

आठबिस नगरपालिका ठाटिकाँध गाउँपालिकालले पनि आफ्नै भवन बनाउन चासो दिएका छैन। ठाटिकाध गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहले गाउँपालिका भवन निर्माण गर्नका लागि अहिलेसम्म बजेट पनि नछुट्याइएको र जग्गाको पनि टुंगो नलागेको बताइन्। 

आफैँ गाउँपालिका अध्यक्ष, आफैँ घरभेटी

जिल्लाको नौमुले गाउँपालिका पनि भाडाकै घरमा बसेर सेवा दिइरहेको छ। तर, गाउँपालिकाको भवन गाउँपालिकाका अध्यक्षले आफ्नै घरमा भाडामा राखेकाले गाउँपालिकाले आफ्नो भवन बनाउँन चासो नदिएको स्थानीय बताउँछन्।

गाउँपालिका अध्यक्ष आफैँ घरभेटी आफैँ अध्यक्ष बनेर आठ कोठा रहेको भवनबाट एक कोठा २५ सयका दरले मासिक २० हजार बुझ्दै आएका छन्। जनप्रतिनिधि कमाउ धन्दामा लागेको स्थानीय बताउँछन्।

नेकपा जिल्ला कमिटी सदस्य एवं स्थानीय छवि सुवेदी भन्छन् 'गाउँपालिका भवन नै गाउँपालिका अध्यक्षले कानुनी प्रत्रिया पूरा गरेर आफ्नै घरमा राखेको भए पनि राजनीतिक हिसाबले सुहाउँदैन।'

जनताको सेवा गुर्छु भन्दै चुनाव जितेका जनप्रतिनिधिले आफ्नै दुनो सोझाउने काम गर्ने गरेको र जसरी हुन्छ आफू र आफ्नालाई मात्र फाइदा हुने काम गर्नाले स्थानीय सरकार प्रति जनताको वितृष्णा बढ्दै गएको उनले बताए।

११ वटै स्थानीय तहको अवस्था हेर्दा जनप्रतिनिधिको आफ्नो वा आफ्नो नभए आफन्तको घरमा कार्यालय राख्ने चलन बढ्दै गएको पत्रकार कमल शर्माले बताए। 'घर भाडाँका नाममा रकम निकासा गर्‍यो खायो त्यसरी खाँदा भ्रष्टाचार पनि नहुने भएपछि अहिले भाडाँमा समेत जनप्रतिनिधि चुक्ने गरेका छन्' उनले भने।

प्रक्रिया पूरा गरेर घर भाडामा लिएको हौँ

नौमुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कोइराला घर भाडामा लिँदा सबै प्रक्रिया पूरा गरेको बताए। उनले गाउँपालिका भवन भाडामा लिने सूचना खोलेर स्थानीय सातजनाले प्रस्ताव हालेको र गाउँपालिका अध्यक्षको घर कम रकममा पाइएकाले उक्त घर भाडामा लिने निर्णय कार्य पालिकाले गरेको बताए।

घर भाडा सम्झौताको फाइल माग्दा अधिकृत कोइरालाले सूचना अधिकारीबाट जानकारी लिन भनेका थिए। पछि सूचना अधिकारी कृष्णबहादुर खत्रीलाई फोन गर्दा उनले गाउँपालिकामा नयाँ आएकाले घर भाडा लिने सूचना जारी गरे नगरेको खोजी गर्ने बताए।

गाउँपालिका अध्यक्ष भदेबुढा मगरले घर भाडा लिने १५ दिने सूचना खोलेर कानुनी प्रक्रिया पूरा गरेर भाडामा लगिएको थाहाखबरसँग बताए।

साँघुरा भवनबाट सेवा दिन समस्या  

स्थानीय तहमा काम गर्ने कर्मचारीलाई साँघुरो भाडाको घरबाट जनतालाई सेवा दिन असहज हुने गरेको बताउँने गरेका छन्। आफ्नै भवन निर्माण गर्न नसक्दा भाडामा लिएका साँघुरा घरबाट गाउँपालिका सेवा दिन बाध्य भएको अधिकृत कोइरालाले बताए।

विषयगत शाखा टाढा-टाढा भएकाले कर्मचारीलाई मातहतमा राख्न अफ्ठेरो हुने गरेको र आफ्नै भवन नहुँदा जनताको काममा पनि असहज हुने गरेको कोइरालाको भनाइ छ।

भैरवी गाउँपालिकाको प्रशासनिक भवन र अन्य शाखा जान जनतालाई १० देखि १५ मिनेट लाग्ने दूरीमा राखिएकाले दुई घण्टामा हुने काम एक दिनभरी लाग्ने गरेको सेवाग्रही बताउँछन्।

गाउँपालिका भवन एकै ठाउँमा नहुँदा जनतालाई सेवा दिन कति सहज र असहज छ भन्ने थाहाखबरको प्रश्‍नमा गाउँपालिकाका प्रमूख प्रसाशकीय अधिकृत मोहनप्रसाद देवकाटाले संघीयता लागू भएसँगै गाउँमा आएका स्थानीय सरकारको आफ्नै भवन नहुँदा जनतालाई सेवा दिन केही असहज हुने गरेको बताए।

उनले भैरवी गाउँपालिकाको आफ्नै भवन निर्माणको काम समपन्न हुन केही महिना लाग्ने भएकाले निर्माणपछि समस्या समाधान हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.