घटनालाई साम्य बनाउन पाँच लाख क्षतिपूर्ति

|

भद्रपुर : चिकित्सकको लापरबाहीले पाँच महिने शिशुको मृत्यु भएको भन्दै बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताल परिसर बुधबार दिनभर तनावग्रस्त बन्यो।

शिशुको मृत्युपश्चात् आक्रोशित बनेका पीडित पक्ष आन्दोलित बन्दै अस्पताल प्रशासनविरुद्ध चर्को नाराबाजी गर्दै ढुंगा मुढासहित तोडफोडमा उत्रिएका थिए। अस्पताल परिसर तनावग्रस्त बनेपछि घटनालाई साम्य बनाउन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। 

घटना विवरणअनुसार बिर्तामोड नगरपालिका ५ बस्ने विजय लिम्बूको ५ महिने शिशु विपीषा लिम्बूको गए राति उपचारको क्रममा मृत्यु भएको थियो। निमोनिया भएर मंगलबार दिउँसो १ बजे अस्पताल भर्ना गरिएकी विपीषालाई इन्जेक्सन लगाएलगत्तै पेट फुलेको र त्यसपछि शिशुको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका छन्।

उपचारको क्रममा मंगलबार साँझ साढे ५ बजे मृत्यु भएको बताइएको छ। थप उपचारको लागि मंगलबार नै बिएण्डसी अस्पताल रेफर गरिएको थियो। तर, बिरामीको रेफर गर्नु अगावै अस्पतालमै मृत्यु भएको मृतक शिशुका बुबा विजयले बताए।

शिशुको उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै आन्दोलित बनेका मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दा सिसीलगायतका सामग्री क्षति पुगेको अस्पतालले जनाएको छ। 

मृतकका परिवारलाई पाँच लाख

अस्पतालमा विवाद बढ्दै गएपछि घटनालाई साम्य बनाउन इलाका प्रहरी कार्यालय बिर्तामोडमा सर्वपक्षीय बैठक बसी दुवै पक्षबीच सहमति गरिएको बिर्तामोडका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए। उनका अनुसार पीडित पक्ष र अस्पताल प्रशासनबिच बसेको बैठकले शिशुको नाममा अक्षयकोष स्थापना गर्न अस्पतालले ५ लाख उपलब्ध गराउने भएपछि सहमति भएको छ।

बुधबार नै पीडित परिवारलाई एक लाख नगद दिने र बाँकी ४ लाख मंसिर मसान्तभित्र दिने सहमति भएको प्रहरी नायव उपरीक्षक थापाले बताए। सहमतिपश्चात् घटना साम्य बनिसकेको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.