|
फाइल तस्वीर

काठमाडौं :  वन्यजन्तुका चिकित्सक डा। विजयकुमार श्रेष्ठ यतिबेला चितवन निकुञ्जको देवनगर पोस्टमा हात्तीको नङ कटाउँदै छन् । हात्तीको स्वास्थ्य परीक्षण पनि हुँदैछ। उनलाई खोरसोरका कर्मचारी बुधन चौधरी लगायतले सघाइेका छन्र। 

“हात्तीमा क्षयरोग लागे–नलागेको परीक्षण गर्दै जुकाको औषधि दिँदैछौँ,” श्रेष्ठले भने, “बलिया र कमजोर हात्ती छनोट पनि गर्दैैछौँ ।” यसैगरी निकुञ्जका विभिन्न पोस्टमा रहेका हात्तीको उहाँले स्वास्थ्य परीक्षण गरिरहेका छन्। हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका हात्तीको दक्षता वृद्धिसँगै स्वास्थ्य र आहारामा विशेष ध्यान दिइँदैछ।

यो सबै कुनै विशेष उत्सवका लागि भने हैन, आउँदो चैत महिनामा हुने गैँडा गणनाका लागि हात्ती तयार पारिन थालिएका हुन्। एकसिङ्गे गैँडा पाइने चितवन जस्तै पर्सा, बर्दिया, शुक्लाफाँटामा पनि यसैगरी तयारी हुँदैछ । हरेक चार वर्षमा हुने गैँडा गणनाअनुसार यस वर्ष गणना हुन लागेको हो । यसअघि सन् २०१५ मा गैँडा गणना भएको थियो।

क्यामरा ट्र्यापिङ गर्नका लागि होस् वा प्रत्यक्ष जङ्गलमा विचरण गरेर नै किन नहोस्, गैँडाको वर्तमान अवस्था पत्ता लगाउन हात्ती चढेर गणकहरूले काम गर्छन्। जङ्गलका सबै क्षेत्रमा कच्चा सडक नभएकाले पनि हात्तीको प्रयोग बढी हुन्छ । सबैभन्दा धेरै गैँडा चितवनमै भएकाले विशेष तयारी चलिरहेको छ।

त्यस्तैगरी गैँडाको अवस्थिति रहेको बर्दिया, पर्सा र शुक्लाफाँटा निकुञ्जमा पनि गैँडा गणनाको तयारी तीव्र छ। गैँडा गणना गर्ने मिति तय नभए पनि चैतमै गैँडा गणना सुरु हुने वन्यजन्तु संरक्षण तथा निकुञ्ज विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिएकाे खबर गाेरखापत्र दैनिकले छापेकाे छ। “गैँडा गणनाका लागि फिल्डमा के के प्रविधि र सामग्री चाहिन्छ भन्ने सूची तयार पार्ने काम चलिरहेको छ”, उनले भने, “केही सूचीका सामग्री सम्बन्धित निकायमा माग पनि भइसक्यो ।” उनका अनुसार कुन कुन निकायसँग सहकार्य गरेर जाने र प्रविधिजन्य विषय र व्यवस्थापनमा कसरी अघि बढ्ने भन्ने बारेमा थप छलफल चलिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.