सेवा प्रवाहमा समस्या, मारमा सेवाग्राही

|

डडेल्धुरा : कार्यालय स्थापना भएको दुईवर्ष पुग्दासम्म पनि प्रदेश सरकार मातहत रहेका डडेलधुराका अधिकांश कार्यालयमा कर्मचारीको अभाव रहेको छ।

दुई जिल्ला कार्य क्षेत्र रहेका कार्यालयमा कर्मचारीको अभाव हुँदा सेवाग्राहीले सहजै सेवा पाउन सकिरहेका छैनन्। कर्मचारी अभाव हुँदा सेवाग्राहीले समस्या भोग्नु परेको छ। कर्मचारी अभाव हुँदा कार्यालयले प्रवाह गर्ने सेवामा पनि समस्या सिर्जना भएको छ।

जिल्ला सदरमुकास्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको हो।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुरामा १३ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल नौ जना मात्रै रहेका छन्। डडेल्धुरा र बझाङ जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको कार्यालय प्रमुख रविन श्रेष्ठले जानकारी दिए। यसैगरी जिल्लाकै कृषि ज्ञान केन्द्र डडेल्धुरामा १७ जना कर्मचारीको दरबन्दी हो। तर हाल पाँचजना अधिकृत छैनन्।

अधिकृत स्तरका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए। डडेल्धुरा र डोटी जिल्ला कार्यक्षेत्र रहेको उक्त कार्यालयमा दरबन्दीअनुसारका अधिकृत स्तरका कर्मचारी नहुँदा सेवाग्राहीले समयमै सेवा पाउन सकेका छैनन्।

यस्तै भेटेरिनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र डडेल्धुरामा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन् भने दुई जिल्ला कार्यक्षेत्र भएकाले दरबन्दी अनुसारका कर्मचारी भए पनि त्यो कम भएको कार्यालयका प्रमुख खड्गबहादुर शाहले बताए। यस कार्यालयमा हाल १२ जनाको दरबन्दी रहेको छ। जसमा हाल नौ जना कर्मचारी मात्रै रहेका छन्। दरबन्दीअनुसार १२ जना कर्मचारीको पदपूर्ति भए पनि पर्याप्त भने नरहेको उनको भनाइ छ।

डडेल्धुरा र डोटी जिल्ला कार्यक्षेत्र रहेकाले हालको दरबन्दी अनुसारको कर्मचारी पनि कम भएकाले थप १२ जना कर्मचारीको माग गरेको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने यी तीन वटै कार्यालयको कार्यक्षेत्र दुई जिल्ला रहेकाले दरबन्दीअनुसारका कर्मचारी भएपनि सेवा प्रवाह गर्न समस्या हुने कार्यालय प्रमुखहरूले बताइरहेका समयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा झनै समस्या भएको छ। 

दुई जिल्ला कार्य क्षेत्र भएकाले दरबन्दी पनि कम भएको भन्दै दरबन्दी थपका लागि पत्राचार गरेको समेत यी कार्यालयहरूले जनाए। तर दरबन्दी अनुसारका कर्मचारी नपाएका कार्यालयमा थप दरबन्दी भने कहिले पूर्ति हुन्छ वा हुँदैन भन्नेमा कार्यालय प्रमुख विश्वस्त छैनन्। 

कार्यालय स्थापनाको दुई वर्ष पुग्नै लाग्दासम्म पनि दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा ग्राहीलाई सास्ती हुने गरेको छ। विशेष गरी दुई जिल्ला कार्यक्षेत्र भएका कार्यालयका सेवाग्राहीलाई झनै समस्या हुने गरेको छ। 

स्थानीय तहमा कर्मचारी अभाव कायमै

डडेल्धुराका स्थानीय तहमा पनि कर्मचारी अभाव कायमै रहेको छ। दुई नगरपालिका र पाँच वटा गाउँपालिका गरी साता स्थानीय तह रहेको जिल्लामा कर्मचारी अभाव कायमै रहेको हो। स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन्। दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका हुन्।

स्थानीय तहको निर्वाचन सम्पन्न भएर जननिर्वाचित प्रतिनिधिले काम काज थालेको दुई वर्ष बढी बित्दा पनि दरबन्दी अनुसारको कर्मचारी नहुँदा कामकाजमा निकै असजिलो भइरहेको यहाँका जनप्रतिनिधिहरूको भनाइ छ। 

स्थानीय तहका प्रमुखहरूका अनुसार स्थानीय तहमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा एउटै कर्मचारीले एकभन्दा बढी ठाउँमा जिम्मेवारी निर्वाह गर्नु परिरहेको छ। एक कर्मचारीले एकभन्दा बढी ठाउँमा जिम्मेवारी निर्वाह गर्नुपर्दा काम प्रभावकारी हुन नसकेको गुनासो समेत बढेको छ। 

दुई वर्ष बढी बितिसक्दा स्थानीय तहमा कर्मचारी अभाव कायमै अमरगढी नगरपालिका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। ‘अहिले पनि हाम्रो नगरपालिकाको वडा नं. ७ र १० मा वडा सचिव खाली छ। अन्य वडा कार्यालयमा प्राविधिक कर्मचारी पठाएका छौँ’ नगरप्रमुख ओझाले भने,‘नगरपालिकामा पनि स्टोर किपर छैन। राजश्वको पनि छैनन्। थुप्रै दरबन्दी खाली छन्। दरबन्दीअनुसार इन्जिनियर पनि छैनन्।’

दरबन्दी अनुसारको कर्मचारी नहुँदा सिंहदरबारको अधिकार जनताको घरमा भन्ने भनाइप्रति सेवाग्राहीको विश्वास कम हुँदै गएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.