|

पाल्पा : जिल्लाको रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीका युवा कला, संस्कृति झल्किने मारूनी नाच संरक्षणमा जुटेका छन्। प्रायः बुढापाका मात्र सहभागी हुने मारूनी नाचमा पछिल्लो समयमा युवाको पनि आकर्षण बढ्न थालेको हो।

गुन्यु चोली तथा परम्परागत लुगालगाएर उनीहरू मादल र पुरानो मारूनी भाकामा छमछमी नाच्ने गर्दछन्। हजुरबुबाहरुले मात्रै मारुनी नाच स‌ंरक्षण गर्दै आएका थिए। पछि यसको महत्व बुझ्दै गएपछि युवाले पनि नाच्न थालेको भुवनपोखरीको झिरुबासका मिनु बरम्लेले बताए।

'बाबु-बाजेको पालाको नाच हो' उनले भने, 'यसलाइ बचाउन सके पछिल्लो समयमा निकै महत्वका साथ हेर्नेको संख्या बढ्दै जाने छ।' बाजे र बुबासँग मिलेर अहिले आफूहरू पनि नाचिरहेको अर्धाइका खगेन्द्र खाम्चाले बताए।

'बुढापाकासँग मिलेर अहिले नाच्न, गाउन र बजाउन सिकिरहेका छौं' उनले भने, 'युवाको एउटा समूह नै तयार गर्ने प्रयासमा लागेका छौं।' यो परम्परागत मौलिक संस्कृति भएको यसको संरक्षण गर्नुपर्नेमा स्थानीय युवा तथा राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले जोड दिए।

'भौगोलिक हिसाबले साविकको भुवनपोखरी गाविस जिल्लाको बिकट ठाउँअन्तर्गत पर्छ' उनले भने, 'यहाँको धार्मिक, प्राकृतिक, सांस्कृतिक हिसाबले भने निकै सौन्दर्य छ। यसको संरक्षण गर्न आवश्यक गर्नुपर्छ। जसले गर्दा पर्यटकीय रुपमा विकास गर्न सकिन्छ।' 

'अहिले बुढा-पाकाको सहारामा युवाले मारूनी नाचमा सहभागिता जनाउँदै आएका छन्' उनले भने। 'युवालाई दक्ष बनाएर मारूनी नाचको संरक्षण गर्न सके यहाँका युवा बेरोजगार हुनुपर्ने छैन। होम स्टे सञ्चालन गरेर पुराना मौलिक नाच देखाउन सके आन्तरिक तथा वाह्य पर्यटकको लर्को लाग्छ' उनले थपे,'स्थानीय स्तरमा उत्पादन भएका खानाका परिकार उपलब्ध गराउन सके यसले मनग्य आम्दानी हुन्छ।' 

स्थानीय सरकारले यसको लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने अध्यक्ष दर्लामीले सुझाव दिए। मारूनी नाच्ने समूहलाई मादललगायतका सामग्री सहयोग गरेको रैनादेवी छहारा गाउँपालिका ३ भुवनपोखरीका वडा अध्यक्ष लालबहादुर दर्लामीले बताए। उनका अनुसार चालुआर्थिक वर्षमा पनि उनीहरूलाई आवश्यक पर्ने तालिम तथा अन्य व्यवस्थापनको लागि बजेट विनियोजन गरिएको छ। 

परम्परागत मौलिक संस्कृतिको रुपमा रहेको मारूनी नाच हराउने हो कि भन्ने स्थानीय ८२ वर्षीय भूपाल खाम्चालाई चिन्ता छ। अर्धाइ समूहबाट हातमा लौरो टेकेर नचरी देखाउन गोखुङ्गा आएका उनले भने, 'विदेश जाने युवालाई गाउँमै रोकेर यस्ता नाच देखाउने वातावरण ठूला-वडाले मिलाउनुपर्छ।' यसैबीच न्वागी मेलाको अवसरमा रैनादेवी मन्दिर संरक्षण समितिले मारूनी नाचको प्रतियोगिता नै राखेको थियो।

प्रतियोगितामा साविकको भुवनपोखरी गाविस भित्रका ६ समूहको सहभागिता रहेको थियो। जसमध्य खगेन्द्र खाम्चाको नेतृत्वमा आएको अर्धाइ समूह  प्रथम, मिनु बरम्लेको नेतृत्वमा आएको झिरुबासको समूह द्वितीय र धनबहादुर खाम्चाको नेतृत्वमा आएको बल्घा समूह तृतीय भएका थिए। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १२ हजार र १० हजार नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन्। सहभागी सम्पूर्ण समूहलाई प्रोत्साहनस्वरुप नगद ३ हजार र प्रमाण पत्र प्रदान गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष भेषराज पन्थीले बताए।

कार्यक्रममा एक टोली पञ्चेबाजाको समूह र २ टोली भजन समूह पनि सहभागी थिए। 

रैनादेवीमा वर्षेनी हुने न्वागी मेला र मारूनी नाचको सम्बन्ध रहेको पाइन्छ। वर्खामा खेती गरेर उब्जिएको धान स्याहारेपछि सुखको मानोका रुपमा खानु अघि रैनादेवी भगवतीलाई चढाउने चलन छ। देवीलाई चढाउने बेलामा मन्दिर परिसरमा गाउँभरिका जुटेर मारूनी नाच देखाउने परम्परा रहेको स्थानीय ६६ वर्षीय शिव खाम्चाले बताए। उनका अनुसार हर्सोउल्लासका साथ देवीलाई न्वागी चढाएपछि नयाँ चामलको भात खाने प्रचलन छ।

मारूनी नाच के हो?

८२ वर्षीय भूपाल खाम्चाका अनुसार मारूनी नाच जिजुबाजेका पालादेखिको नेपालको पुरानो मौलिक नाच हो। युवालाई महिलाको पुराना संस्कृति झल्किने लुगाहरू लगाएर मारूनी बनाई नचाइन्छ। पौराणिक कथाहरू समेटिएका गीत सँगै घन्किएको मादलुको तालमा उनीहरू नाच्ने गर्दछन्।

पाल्पामा प्रायः मगर समुदायको मानिस यो गीतमा नाच्ने गर्दछन्। परम्परागत शैलीमा नाचिने यो नाच प्रायः दशैं, तिहारमा नाच्ने गरिन्छ। तर भुवनपोखरीमा भने ठूलै पर्वको रुपमा लिएर न्वागी मेलामा विशेष मारूनी नाच देखाउँदै आएको पाइन्छ।

'वर्खा अघि रोपेको धान काटेर थन्काइ सकेपछि मारुनी नाच फुकाउने परम्परागत प्रचलन रहेको छ' खाम्चाले भने। दशैंको कालरात्रीको दिन सुरु गरिएको मारुनी नाच न्वागी मेलासम्म चलिरहन्छ। यस परम्परागत नृत्यमा रामायण, महाभारत आदि धार्मिक ग्रन्थहरूका कथालाई लोक गाथामा मिलाएर गाउने गरिन्छ।

मादलको तालमा मारुनी र मादले नाच्ने यस नाचमा ताल पनि परम्परागत नै हुन्छ। 'मारुनी नाँचमा कम्तिमा दुइ जना मारूनी दुईदेखि तिनजना मादले, एक जना पुरसिङ्गे र ६ जनादेखि १० जना सम्म गायकहरू हुनु पर्छ। गायकहरूमा एकजना गुरु हुन्छ गुरुलाई रौरा पनि भनिन्छ' खाम्चाले थपे।

मझौटे गीत, टप्पा र ख्याली गीत रमाइलो गरिने गीतहरू भएकाले यी गीतहरूमा एकजना मादले, एक जना पुर्छुङ्गे (पुर्सिङ्गे) र एक जना मारूनीले मात्र नाच्ने गर्छन्।अन्य सबै समूहमा नाच्ने गाउने गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.