रगतको क्रस म्याच गरियो, पेटको अप्रेसनले ढिलाइ

|
फाइल फोटो

काठमाडौं : दोस्रो पटक प्रत्यारोपण गर्न तयार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईजना नातेदारले मिर्गौला दान गर्न तयार भएका छन्। १२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरेको मिर्गौलालाई शरीरले लिन छाडेपछि दोस्रो पटक प्रत्यारोपण तयारी गरिएको हो।

ओलीलाई मिर्गौला दिनका लागि नेपालमा रहेकी एकजना भाञ्‍जी नाता पर्ने महिला र अमेरिकामा रहेका भाञ्‍जा नाता पर्ने पुरुष तयार भएका हुन्। चिकित्सकहरुले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेमा कम्तीमा १० वर्षका लागि समस्या नपर्ने बताएसँगै दाताको खोजी थालिएको थियो। 

प्रधामन्त्रीले आफ्नै नातेदारबाट मिर्गौला लिन चाहेका थिए। उनको इच्छा अनुसार नातेदारमध्येकै दुईजना मिर्गौला दिन तयार भएका हुन्। मिर्गौला दिन तयार भएकी भाञ्‍जी बिहीबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै पुगेकी थिइन्। 

मिर्गौला दिन तयार भएपछि ओली र दुवै नातेदारको रगतको क्रस म्याचसमेत गरिसकिएको स्रोतले जनाएको छ। 'नेपालमा प्रत्यारोपण गर्ने अवस्थामा भएमा अमेरिकामा रहेका भाञ्‍जा जुनसुकै बेला नेपाल आउन तयार रहेको जानकारी पाएका छौँ। अर्कातिर भाञ्‍जी पनि यहीँ छिन्', स्रोतले भन्‍यो, 'प्रधानमन्त्री ओली जानु भएमा उहीँ भाञ्‍जाको मिर्गौला लिइनेछ।'

दोस्रो पटक ओलीको मिर्गौला प्रत्यारोपण तयारीसँगै अन्य दर्जन भन्दा बढी व्यक्तिहरु दान गर्न तयार भएका थिए। तर ओलीले परिवारबाटै मिर्गौला लिने इच्छा देखाएका छन्। यससँगै भाञ्‍जा-भाञ्‍जीमध्ये एकजनाको मिर्गौला ओलीका लागि लिइने भएको छ। 

प्रत्यारोपण पर सर्‍यो

एपेन्डिटाइटिसका कारण पेटमा संक्रमणले अपरेसन गर्नुपरेपछि ओलीको मिर्गौलाको प्रत्यारोपण पर धकेलिएको छ। मिर्गौलाले काम गर्न छाडेपछि एक महिनायता ग्राण्डी अस्पताल र मनमोहनमा पाँच पटक डायलाइसिस गरिसकिएको छ। 

मिर्गौलाले पुरै काम गर्न छाडेकाले तत्कालै प्रत्यारोपणमा जाने तयारी थियो। तर एपेन्डिटाइटिसका कारण पेटमा भएको संक्रमण निको हुन अझै १० दिन लाग्न सक्ने चिकित्सकहरुले बताएका छन्। ओलीकी निजी चिकित्सक डा. दिव्या सिंहले पेटको संक्रमण निको हुन कम्तीमा १० दिन लाग्ने भएकाले अझै एक साता आईसियुमै रहनुपर्ने बताइन्। 

उनले नेपालमै पनि १२ सय भन्दा धेरै विरामीको मिर्गौला प्रत्यारोपण भइसकेकाले प्रधानमन्त्रीको पनि यहीँ सम्भव हुने बताइन्। तर मिर्गौला नेपालमा या विदेशमा प्रत्यारोपण गर्ने विषयमा ओलीको परिवार र निजी चिकित्सकहरु पनि टुंगोमा पुगिसकेका छैनन्।

प्रत्यारोपण चर्चा 

सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर गत भदौ २० मा फर्किएपछि ओलीको मिर्गौलाले अझै लामो समय काम गर्ने विश्वस गरिएको थियो। तर सिंगापुरमा गरिएको उपचारले काम नगरेपछि नेपालमै डायलाइसिस विधिबाट मिर्गौलाको आयु लम्ब्याउने कोशिश गरिएको छ।

तर एपेन्डिटाइटिसको संक्रमण ठीक भइसकेपछि ओलीलाई तत्कालै मिर्गौला प्रत्यारोपणका लागि तयार गरिने भएको छ। यसअघि पनि ओलीले मिर्गौला प्रत्यारोपणबारे छलफल थालिसकेका थिए।

नेपाल भ्रमणमा आएका बेला चिनियाँ राष्ट्रपति सि जिनपिङले पनि ओलीको स्वास्थ्यमा गम्भीर चासो देखाएका थिए। उनले मिर्गौलाको उपचारका लागि आधुनिक प्रविधि आफुहरुकहाँ पनि रहेको भन्दै ओलीलाई चीनमा आउन भनेका थिए।

तर, त्यसपछि स्वास्थ्यसम्बन्धी एउटा कार्यक्रममा गएकी निजी चिकित्सक दिव्या सिंहले अमेरिकामा मिर्गौला प्रत्यारोपणका लागि छलफल गरेर फर्किएकी थिइन्। विश्वकै आधुनिक प्रविधियुक्त राम्रा अस्पताल अमेरिकामा भएकाले ओलीले पनि दोस्रो प्रत्यारोपण गर्न त्यहीँ जाने इच्छा देखाएको स्रोतको दाबी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.