दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति

|

अघाँखाँची : बुधबार अपराह्न अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट बुटवलका लागि छुटेको बस नरपानी क्षेत्रमा दुर्घटना भयो। लु. २ ख २१४८ नं को यात्रुबाहक बस तीन सय मिटर तल भिरबाट खस्दा १९ जनाले ज्यान गुमाए। १७ जनाको घटनास्थलमै ज्यान गयो भने दुईजनाको उपचारको क्रममा।

दुर्घटनामा १८ जना घाइते भए। जसमध्ये दुईजना सामान्य उपचारपछि घर फर्किसकेका छन्। बुधबारको दुर्घटना पछिल्लो पाँच वर्षयताको सबैभन्दा ठूलो र वीभत्स रहेको अर्घाखाँची प्रहरीले जनाएको छ।

नरपानी क्षेत्रमा सवारी दुर्घटनाको विगत

नरपानी क्षेत्रमा यसअघि सवारी दुर्घटनामा थुप्रैले ज्यान गुमाइसकेका छन्। यो क्षेत्रमा सात वर्षमा भएका विभिन्‍न दुर्घटनामा कम्तीमा ८३ जनाले ज्यान गमाएका छन् भने १०० जना बढी घाइते।

विस २०७१ साल वैशाख १७ गते बस र ट्रक ठक्कर खाँदा १९ जनाको मृत्यु भएको थियो। ट्रकसँग ठक्कर खाएको बसर झण्डै पाँच सय मिटर तल खसेको थियो। घटनामा ४५ जना घाइते भएका थिए।

यस्तै, २०६९ साउन ७ मा नरपानीको दहखोलाको चिप्लो मोडमा बस दुर्घटना भयो। उक्त दुर्घटनामा १७ जनाले ज्यान गुमाए। सोही वर्ष साउन ८ गते नरपानी दहखोला क्षेत्रमै फोर्स जिप दुर्घटना १५ जनाको मृत्यु भएको थियो।

त्यसको एक वर्षपछि अर्थात् २०७० पुस १६ गते नरपानी-५ जगतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो। पुस २२ गते फुदवाङ बजारनजिकै बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो।

त्यसको दुई वर्षपछि अर्थात् २०७२ साल फाल्गुन ३ गते नरपानीनजिक खाँचीकोटको बाघमारामा कार दुर्घटना हुँदा फेरि एकजनाको घटनास्थलमै मृत्यु भयो। २०७२ साल फाल्गुन २२ गते नरपानीको रातामाटामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो भने २०७४ कात्तिक ६ गते नरपानी मुनी ढाँडखोलानजिकै जीप दुर्घटना हुँदा एकजनाको मृत्यु र आठजना घाइते भएका थिए।

विस २०७६ साल असोज २० गते नरपानीमा स्कारर्पियो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो। सोही वर्ष कात्तिक २० गते नरपानीको दहखोलामा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो।

किन यहाँ सधैँ दुर्घटना

नरपानी-घुम्ती सडकखण्ड अनकन्टार भीर भएको सडक हो। हुन त अर्घाखाँचीको सडक कतै पनि त्यति सजिलो छैन्। नरपानी-घुम्तीभन्दा बढी भीर र खतरनाक सडक सुपादेउराली आसपासमा छ। तर, नरपानी-घुम्ती क्षेत्रमा किन हुन्छ पटक पटक सवारी दुर्घटना प्रश्न आफैँमा पेचिलो बनेको छ। रिपाहा क्षेत्र भएको यस सडकखण्डमा यात्रा गर्दा चैत्र-बैशाख महिनामा पनि चिसो महसुश हुन्छ।

कुनै-कुनै स्थान सल्लाघारीले घेरिए पनि अधिकांश स्थानमा साना-साना रूखका पोथ्रा मात्र छन्। साघुँरो बाटो, दजनौँ घुम्ति, आसपास पोथ्रै–पोथ्राले घेरिएको जंगल यस सडकको चित्र हो। रिपाहापाखो ओसिलो भूमि भएको कारण यस स्थानमा ठूला-ठूला रूख हुर्किन पाएका छैनन्। ठूला-ठूला रूख भएको भए दुर्घटना भई हाले पनि रोक्न सक्ने सामर्थ्य हुन्थ्यो तर यहाँ त्यस्तो नभएको प्रहरीको भनाइ छ।

सडक फराकिलो बनाउने प्रयास

दर्जनौँ दुर्घटना भएपछि यो सडक फराकिलो बनाउने अभियान शुरु भएको छ। मंगलबारबाट अहिले यो सडकको मोड काट्ने काम सुचारु भएको हो। सडक मर्मतसँगै यो सडक आशिंका बन्द गरिएको छ। १० दिनसम्म यो सडक आशिंक रूपमा बन्द भएको छ। हुन त सन्धिखर्कदेखि पत्थरकोटसम्मको सडकको स्तर नमिलेको देखिन्छ। सागुरो र बटारिएको सडक, नजिकनजिक घुम्टीमोडहरू छन्। सडकको अधिकांस ठाँउमा मोड पुग्दैन।

पहाड छिचोलेर सानो सागुरो बाटो खनेर पत्थरकोटदेखि सदरमुकाम सन्धिखर्क जोडिएको छ। तर, अर्को विषय सुपादेउराली मन्दिर पनि नरपानीनजिकै सडककै छेउमा छ। नेपाल र भारतका विभिन्न ठाँउबाट सुपादेउराली दर्शन गर्न आएका दर्शननार्थी प्रशस्तै आउने भएकाले सवारी साधनको कसले छिटो यात्रु पाउने भन्दै दौडिने होडबाजी चल्छ। जति सक्दो ओभरट्याक गरेर यात्रु समाउन सुपादेउराली पुग्ने सवारी साधनको तछाडमछाड हुन्छ।

हतार गरी गाडी गुडाउँदा दुर्घटना भइरहेको स्थानिय विष्णु भण्डारीको भनाइ छ। उनी भन्छिन् 'गाडीको चाप बढ्दै गइरहेको छ। तर, सडक बढ्न सकेन। चुनावताका नेताको नारा गोरूसिङगे सन्धिखर्क सडकखण्ड 'टु लाइन' बनाउने बाटो फराकिलो बनाउने भनेर पहिलो नारा बनाएर भोट तान्ने गर्छन्।'

बाटोको गति नाजुक भएकै कारण दर्जनौँले ज्यान गुमाउदासमेत चासो नदिने नेताले के विकाश गर्न सक्लान भन्ने कुराको कत्ति पनि विश्वास गर्न नसकिने बस चालक रोसन परियारले बताए।

प्रशासनको दुर्घटनाको कारण पत्ता लगाउने प्रयास

बुधबार साँझ नरपानीमा भएको बस दुर्घटनाको बारेमा शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको छ।

बैठकले जिल्ला समन्वय समितीका अध्यक्ष पिताम्बर शर्माको अध्यक्षतामा ६ वटै पालिका प्रमुख, सुरक्षा प्रमुख, राजनीतिक दलका प्रमुखसहितको टोलीले जिल्ला भरी संचालन भएका सडकहरूको अनुगमन गर्ने निर्णय गरेको छ।

त्यस्तै, चालक सहचालक र गाडीधनीलाई १५ दिनभित्र विशेष तालिमको व्यवस्था गर्ने, चालकलाई परिचयपत्र र ड्रेस अनिवार्य गराउने, गाडी गुडाउदा समयवाधी तोक्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बेल्बासेले बताए।

त्यस्तै, खाँचीकोट डिहि हुँदै सन्धिखर्क वैकल्पिक सडकको प्रयोग गर्नुपर्ने, ढोरपाटन सडकमा पनि सवारी साधन चलाउन गाडीधनीलाई अनुरोध गर्नेलगायतका विषयमा पनि निर्णय गरेको उनले बताए।

दुर्घटना हुनुको कारण

अर्घाखाँची जिल्ला पहाडैपहाडले घेरिएको जिल्ला हो। तर, अप्ठ्यारो सडकमा प्रायःजसो दुर्घटना कम हुने गरेको छ। जहाँ सजिलो सडक छ त्यहाँ बढी दुर्घटना हुने गरेका छन्। कारण अप्ठ्यारोमा चालक आफैँमा होसियार हुने गर्दछन्।

प्रहरीका अनुसार गाडी गुडाउनु अघि गाडी चेकजाँच नगर्नु, हतारमा दौड्नु, योग्य, परिपक्व र अनुभवि चालक नहुनु, समयको ख्याल नहुनु, गाडी चलाउनुअघि चालकको मुड खराव हुनु, तनावमा गाडी गुडाउनु, ओभरलोड यात्रु बोक्नु, ओभरट्याक गरेर यात्रु समात्न खोज्नु, गाडी चलाउँदा फोनमा व्यस्त हुनु, यात्रुले कुरा गरेर चालकको ध्यान अन्यत्र मोड्नुले नै दुर्घटना हुने गर्दछन्।

नरपानीदेखि फुदवाङसम्मको सडकमा बढी दुर्घटना भई मानवीय क्षति भएकाले त्यस क्षेत्रमा सडक फराकिलोसँगै सडकको छेउमा बलियो बार लगाउनु पर्ने स्थानीयको माग छ।

सम्बन्धित समाचार :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.