ढुक्क भएर मतदान गर्न प्रहरीको आग्रह

|
फाइल तस्वीर

डोटी : शनिबार सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका सात वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ। जिल्ला निर्वाचन कार्यालय कैलालीका जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले दिएको जानकारीअनुसार सात वडाध्यक्ष पदका लागि २१ जना उम्मेदवार चुनावी मैदानमा छन्।

बाजुराको त्रिवेणी नगरपालिका-१ को वडाध्यक्षका लागि हुने निर्वाचनमा तीनजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। बैतडीको सुर्नाया गाउँपालिका-१ को वडाध्यक्षका लागि दुईजना, पुरचौंडी नगरपालिका-४ मा तीनजना र दोगडाकेदार गाउँपालिका-४ मा तीनजना उम्मेदवार रहेका छन्।

त्यस्तै, डोटीको आदर्श गाउँपालिका-२ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा चारजना उम्मेदवार प्रतिस्पर्धामा छन्। अछामको मेल्लेक गाउँपालिका-५ को वडाध्यक्षका लागि दुईजना र कञ्चनपुरको पुनर्बास नगरपालिका-३ मा तीनजना उम्मेदवार रहेका छन्।

१० हजार नौ सय मतदाता

सुदूरपश्चिमका सात वडाका लागि हुने उपनिर्वाचनमा १० हजार नौ सय ३७ मतदाता रहेको कैलाली जिल्ला निर्वाचन अधिकारी भट्ट बताए। उनले भने ‘पाँच जिल्लाका सातवटै वडाका कुल मतदाताको संख्या यति हुन आउँछ।’

भट्टका अनुसार सबैभन्दा बढी मतदाता डोटीको आदर्श गाउँपालिका-२ मा रहेका छन्। यस वडामा दुई हजार चार सय ५९ मतदाता छन्। सबैभन्दा कम बैतडीको सुर्नाया-१ मा ६ सय १९ मात्र मतदाता रहेका छन्।

बाजुराको त्रिवेणी नगरपालिका-१ मा एक हजार ३९, बैतडीको दोगडाकेदार-४ मा एक हजार आठ सय आठ, पुरचौडी–४ मा एक हजार नौ सय नौ मतदाता रहेका छन्। यस्तै पुनर्वास-३ मा एक हजार एक सय ९९ र मेल्लेक-५ मा एक हजार नौ सय चार मतदाता रहेको भट्टले जानकारी दिए।

१५ मतदान केन्द्र

१२ मतदात स्थल र १५ मतदान केन्द्र रहेको भट्टले बताए। ‘एक मतदान केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी दुई र सहयोगी एक गरि पाँचजना कर्मचारी खटिएका छन्’ भट्टले भने ‘यसरी यस प्रदेशमा ७५ जना कर्मचारी परिचालन हुनेछन्।’ प्रत्येक मतदान केन्द्रमा दुईजना स्वयंसेवक स्थानीय व्यक्तिलाई राखिएको भट्टले बताए।

एक हजार प्रहरी परिचालन

सात वडाका लागि हुने निर्वाचनमा करीव एक हजार प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक तारणीप्रसाद लम्सालले जानकारी दिए। 'निर्वाचनको समयमा मतदाताको, मतदान केन्द्रको, उम्मेदवारको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइएको छ' प्रहरी नायव महानिरीक्षक लम्सालले भने, ‘मतदान केन्द्रको सुरक्षाको मुख्य जिम्मेवारी नेपाल प्रहरीको छ।’

यस्तै एक मतदान स्थलमा अवस्थाअनुसार ५० देखि एक सयसम्म सशस्त्र प्रहरी रहने लम्सालले बताए। उनले पहिलो घेरामा नेपाल प्रहरी हुने र दोश्रो घेराका सशस्त्र प्रहरी रहने बताए। उनी थप्छन् ‘आवश्यक ठाउँहरूमा जिल्ला सुरक्षा समितिले निर्णय गरि नेपाली सेना पनि परिचालन गर्ने प्रबन्ध मिलाएको छ।’

लम्सालले मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरे। प्रहरीले आवश्यकताअनुसार मोबाइल टोली परिचालन गरेको, रिजर्भ फोर्स पनि तयार राखेको उनले बताए। निर्वाचन हुने जिल्लासँग सीमा जोडिएका अन्य जिल्लाको पनि सुरक्षा व्यवस्था कडा पारिएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.