|

संखुवासभा : संखुवासभाको दुई स्थानीय तहमा भइरहेको उपनिर्वाचनका लागि शान्तिपूर्ण मतदान भइरहेको छ। संखुवासभाका १० वटै मतदानस्थलमा मतदान जारी रहेको छ।

मकालु गाउँपालिकाको अध्यक्ष पद र खाँदबारी नगरपालिका ३ को अध्यक्ष पदका लागि मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालय संखुवासभाका प्रमुख चोलाराज दंगालले जानकारी दिए। अहिले १० बजे सम्ममा २० प्रतिशत मत खसेको जिल्ला निर्वाचनका  प्रमुख दंगालले बताए।

खाँदबारी ३ स्थित महेन्द्र मावि मानेभञ्ज्याङमा क र ख मतदान केन्द्रमा बिहान ७ बजे देखि मतदान सुरु भएको छ। उक्त मतदान केन्द्र क बाट जेष्ठ नागरिक ८३ वर्षीय जय बहादुर श्रेष्ठले मतदान गरेपछि मतदान सुरु भएको थियो।

यस्तै मकालु गाउँपालिकाको ९ वटा मतदानस्थलका ११ वटा मतदान केन्द्रमा मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले बताए। जिल्लाका १० ओटै मतदान स्थलमा शान्तिपूर्ण ढंगले मतदान सुरु भएको प्रजिअ दुलालले बताए। उपनिर्वाचनका लागि ७४ जना कर्मचारी खटिएका छन्। संखुवासभामा १० मतदान स्थललाई जिल्ला सुरक्षा समितिले संवेदनशीलमा राखेको छ। भने एक मतदानस्थलको दुई मतदान केन्द्रलाई मात्रै सामान्य सूचीमा राखेको छ।

उपनिर्वाचन हुने दुईवटै स्थानिय तहमा शान्ति सुरक्षा  राम्रो प्रबन्ध मिलाइएकाले ढुक्क भएर मतदान गर्न प्रजिअ दुलालले सम्पूर्ण मतदातालाई अनुरोध गरेका छन्। उपनिर्वाचनमा ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

एक मतदान केन्द्रको भित्री पहिलो घेरामा १५ जना नेपाल प्रहरी, दोस्रो घेरामा १० जना सशस्त्र प्रहरी परिचालन भएका छन्। तेस्रो घेरामा नेपाली सेनाले गस्ती गर्ने प्रजिअ दुलालको भनाइ छ।

उपनिर्वाचन हुने मकालु गाउँपालिकामा ९ हजार १ मतदाता रहेका छन् भने खाँदबारी नगरपालिका–३ मा १ हजार ८ सय २२ मतदाता छन्। मकालु गाउँपालिका अध्यक्ष पदका लागि सत्तारुढ दल नेकपा सहित सात दलको उम्मेद्धवारी परेको छ। भने खाँदबारी–३ को वडा अध्यक्ष पदका लागि नेकपा र कांग्रेस दुई दलको मात्र उम्मेद्धवारी छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.