मार्चमा हुने लगानी सम्मेलनमा व्यापारीलाई निम्तो

|

यूएई : प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले लगानीकर्ताहरुलाई नेपालमा उर्जाको व्यापार गर्न निकै सहज रहेको बताएका छन्। एकद्वार प्रणाली र साझेदार कर्मचारीतन्त्रले गर्दा उर्जाको व्यापार सहज भएको उनको भनाइ छ।

'हामीले उर्जा उत्पादनका लागि अलग्गै योजना विकास सम्झौता गर्ने नीति लिएका छौं,' यूएईमा भएको विश्व उर्जा सम्मेलनलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री प्रचण्डले भने, 'एकद्वार प्रणाली र साझेदार कर्मचारीतन्त्रले गर्दा उर्जा व्यापारका लागि हामी दक्षिण एसियामा दोस्रो सजिलोसँग मुलुकमा पर्छौँ।'

सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले मार्च २ र ३ तारिखमा नेपालमा हुने लगानी सम्मेलमा उपस्थित हुन लगानीकर्ताहरुलाई आग्रह गरे । 'व्यापारी साथीहरूलाई यसै मञ्चबाट २ र ३ मार्च २०१७ मा नेपालमा आयोजना गरिएको लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा गर्न चाहन्छु,' प्रचण्डले भने।

नेपालमा उर्जाको व्यवस्थापन गर्न आफू नेतृत्वको सरकार सफल भएको जिकिर गर्दै १२/१३ घण्टा लामो लोडसेडिङ पूर्णरुपले हटाएको दावी गरे। 'मेरो सरकार आउनुअघि वर्षौँदेखि दिनहुँ १२ देखि १६ घण्टा विद्युत कटौती हुने गर्थ्यो,' उनले भने, 'आपूर्तितर्फको व्यवस्थापनलाई सुदृढ गरी हाल विद्युत कटौती पूर्णरुपले हटाउन सफल भएका छौँ।' यद्यपी प्रधानमन्त्रीले भनेजस्तो देशैभर लोडसेडिङ पूर्णरुपमा अन्त्य भने भएको छैन। देशका केही भू-भाग र उद्योगहरुमा केही घण्टा लोडसेडिङ हुने गरेको छ।

साथै प्रधानमन्त्रीले उर्जासम्बन्धी समस्यालाई दिगोरुपले समाधन गर्नु पर्ने बताए।

 

विश्‍व उर्जा सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले राखेका मूख्य कुराहरु:

१. दिगो उर्जा र सफा प्रविधि प्राप्त गर्नका लागि साझा उद्देश्य लिएर छलफल गर्न यस बृहत् फोरमले उत्तम सम्भावना प्रदान गरेको छ।

२. यूएईले उर्जा क्षेत्रलाई आमूल परिवर्तन गर्न खेलिरहेको मूख्य भूमिकालाई यस सम्मेलनले आत्मसात् गरेको छ।

३. उर्जाको आवश्यकताको दिगोरुपले समाधान नगर्ने हो भने हाम्रा विकासका आयामहरू असफल हुनेछन्, उर्जा विकास र मानवताका लागि जीवनप्रदायक वस्तु हो।

४. दुर्भाग्य छ कि ५ मा १ जना आफैं आधुनिक विद्युतबाट वञ्चित छन् र ६% हरितगृह उत्सर्जन हाम्रो कार्वनमूखी उर्जा खपतले गर्दा हुनेगर्छ ।

५. भविष्यमा सन्ततिले हाम्रा प्रतिबद्धतामा शंका नगरुन् भन्नका लागि विगतमा गरेका प्रतिज्ञा र प्रतिबद्धतालाई लागू गर्नुपर्ने बेला आएको छ। जसले तातो र अँध्यारो पृथ्वी भएर असफल भविष्यमा धकेलिनुबाट बच्न सकिने छ।

६. जलविद्युतमा नेपाल पहिलेदेखि (१९११) लागि परेको छ, तर विडम्वना छ कि हालसम्म ३०% जनता आफैँ विद्युतबाट बञ्चित छन्।

७. मेरो सरकार आउनुअघि वर्षौँदेखि दिनहुँ १२ देखि १६ घण्टा विद्युत कटौती हुने गर्थ्यो। आपूर्तितर्फको व्यवस्थापनलाई सुदृढ गरी हाल विद्युत् कटौती पूर्णरुपले हटाउन सफल भएका छौँ।

८. यो बिडम्वना छ कि ८३,००० मेघावाट विद्युतको सम्भावना हुँदाहुँदै हामीले उर्जा सङ्कट व्यहोर्नु परिराखेको छ।

९. सौर्य उर्जाको नेपालमा निकै ठूलो सम्भावना छ। ०.०१% एरियामा २९२० मेगावाट घण्टा प्रतिवर्ष पाउन सकिन्छ। जो २५१,२४३ टन तेल बराबर हो।

१०. पुनः नवीकरणीय उर्जा नै हाम्रा लागि दिगो श्रोत हो, फसिल होइन।

११. यसरी नेपालमा जलविद्युत, सौर्य आदि प्रचुरमात्रामा स्रोत हुनाले उर्जा सङ्कट व्यहोर्नुपर्ने देखिँदैन। हामीले यी श्रोतको परिचालन गर्नुपर्ने हुन्छ र समग्र दक्षिण एसियाको माग आपूर्ति गर्न नेपाल समक्ष हुनेछ।

१२. उर्जा सङ्कटले हाम्रो राष्ट्रिय विकासको आकांक्षा इङ्गित गरेको छ।

१३. नेपाल लामो राजनीतिक संक्रमणकालपछि अब आर्थिक विकासको बाटोमा द्रूतगतिले लागि परेको छ।

१४. २०२२ सम्म विकासशील राष्ट्र र २०३० सम्म मध्यम अर्थतन्त्रको सूचीमा पर्ने योजनाअनुरुप नेपालले २०३० सम्ममा ६००० मेघावाट थप विद्युतको व्यवस्था गर्नुपर्ने हुन्छ। यसैगरी २०४० सम्म २५,००० मेघावाट विद्युतको आवश्यकता पर्नेछ।

१५. नेपाली उर्जा क्षेत्रमा लगानीको प्रचूर सम्भावना छ। खासगरी यातायात र अन्य पूर्वाधारका योजना अगाडि बढिरहेकाले उर्जाको विकासमा टेवा मिल्ने छ।

१६. विद्युत वितरण र प्रशारण क्षेत्रमा लगानीको सम्भावना प्रशस्त छ।

१७. हामीले वैदेशिक लगानीका लागि सहज नीति अवलोकन गरेका छौं। यसै सन्दर्भमा २०७१ मा हामीले राष्ट्रिय उर्जा सङ्कट निवारण र विद्युत विकास दशकको कार्ययोजना  ल्याउँदैछौँ, जसबाट सन् २०२५ सम्म १०,००० मेघावाट विद्युत उत्पादन गरिने छ। यसका लागि सहज नीति, निजी क्षेत्रलाई प्रोत्साहन, पुनः नवीकरणीय उर्जा उत्पादनमा अनुदान आदि नीति ल्याइएको छ।

१८. हाम्रा श्रम नीति बजारमा छन् र नेपालमा सस्तोमा प्रशस्त श्रम उपलब्धता छ।

१९. हामी उर्जा उत्पादनका लागि अलग्गै योजना विकास सम्झौता गर्ने नीति लिएका छौं। एकद्वार प्रणाली र साझेदार कर्मचारीतन्त्रले गर्दा हामी दक्षिण एसियामा दोस्रो सजिलोसँग व्यापार गर्ने देशमा पर्दछौं।

२०. हामी ठूलो बजारको बीचमा भएकाले उर्जा व्यापारमा धेरै सम्भावना छन्। उर्जा व्यापार सम्झौता गरेर हाम्रो विद्युत् भारतमा निर्यात गर्ने बाटो खेलेको छ।

२१. व्यापारी साथीहरूलाई यसै मञ्चबाट २ र ३ मार्च २०१७ मा नेपालमा आयोजना गरिएको लगानी सम्मेलनमा निमन्त्रणा गर्न चाहन्छु।

२२. हरित, समृद्ध र दिगो भविष्यको सम्भावना छ। हामीमा प्रतिबद्धता, सोचाइ र बृहत् लगानीका लागि साझेदारीको आवश्यकता छ। त्यसका लागि दशौं उर्जा सम्मेलन फलदायी हुने विश्वास लिएको छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.