|

भक्तपुर : जारी उपनिर्वाचनका क्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रदेखि मतगणनास्थलसम्मको अनुगमन गरेका छन्। भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा अनुगमनका क्रममा उनले चाँगुनारायण नगरपालिका–२ दुवाकोट वडा कार्यालयको मतदान केन्द्र, ३ झौखेल

वडा कार्यालयको मतदान केन्द्र, भक्तपुर नगरपालिका–१० को सरस्वती विद्यागृहको मतदान केन्द्रको अवलोकन गरेका हुन्। प्रमुख आयुक्त थपलियाले खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको मतगणनास्थलको पनि अनुगमन गरे।

अनुगमनपछि उनले शान्तिपूर्ण रुपमा उपनिर्वाचन शुरु भएको र मतदाताको उत्साह देखेर आफू खुशी भएको बताए। उनले प्रजिअ नारायणप्रसाद भट्ट, मुख्य निर्वाचन अधिकृत जगतनारायण प्रधानलाई मतदानमा सुरक्षा व्यवस्था मजबुद पाइएकाले मतगणना आजैदेखि सुरु गर्न निर्देशन दिए। उनले भने, 'मतगणना आजैबाट शुरु गर्नुस र नजिता छिटो दिनुपर्छ।' भक्तपुरका सबै मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदान जारी छ।

बिहानभन्दा मध्याह्नपछि मतदान गर्न मतदाताको उत्साहजनक सहभागिता रहेको छ। मतदान गर्न मतदाताको उत्साहजनक सहभागिता छ। प्रदेश (क)मा चाँगुनारायण नगरपालिकाको नौवटा र भक्तपुर नगरपालिका–१० मा गरी १० वटा वडामा कुल २२ मतदानस्थलका र ५४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। भक्तपुरमा अहिलेसम्म ४० प्रतिशत मत खसेको कार्यालयले जनाएको छ।

कुल २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कुल ४५ हजार १५ मतदाता रहेको यो प्रदेशसभा सदस्य क्षेत्रमा बिहानैदेखि उत्साहजनक रुपमा मतदाता लामबद्ध भएका छन्।

उपनिर्वाचनका लागि नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी कुल १९ जना चुनावी मैदानमा छन्। नगरकोट वडा कार्यालयको मतदान केन्द्रमा बिहान ६ बजेदेखि नै मतदाता आएको र मध्याह्नसम्म उत्साहजनक रुपमा मतदान भइरहेको स्थानीयवासी सोम शर्मा बजगार्इंले जानकारी दिए। श्रीकृष्ण मावि खरिपाटीमा भने बिहान १० बजेसम्म न्यून सङ्ख्यामा मतदाता आए पनि ११ बजेपछि भने मतदाताको सङ्ख्या बढेको स्थानीयवासी मनोज गिरीले जानकारी दिए।

बिहान चिसोका कारण र काममा जानेहरुका कारण मतदाता कम आए पनि दिउँसो भने उत्साहजनक रुपमा मतदाताहरुको सहभागिता रहेको उनले जानकारी दिए। चाँगुनारायण नगरपालिकाको ताथलीस्थित गणेश मावि मतदान केन्द्रमा पनि बिहानदेखि उत्साहजनक रुपमा मतदान भइरहेको छ।

मतदाताको उल्लेख्य रुपमा सहभागिता रहेको यस केन्द्रमा ११ बजेसम्म एक चौथाइ मतदान भइसकेको स्थानीयवासी सुवास ढुङ्गानाले जानकारी दिए। उम्मेदवारमध्ये नेकपाका उम्मेदवार डिपी ढकालले बिहान ७:३० बजे भक्तपुर नगरपालिका १० सरस्वती विद्यागृहको मतदान केन्द्रमा मतदान गर्नुभयो भने नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले ११ बजे चाँगुनारायण मावि मतदान केन्द्रमा मतदान गरे।

उम्मेदवार नै मतदानबाट वञ्चित

 नेमकिपाका उम्मेदवार नीरज लवजूले भने आफैँलाई मतदान गर्न पाएनन्। भक्तपुर नगरपालिका–९ मा मतदाता नामावली रहेकाले उनले आफैँलाई मतदान गर्न नपाएको बताए।

लजवूले अधिकांश मतदान केन्द्रको अनुगमनमा उत्साहजनक रुपमा मतदाताको सहभागिता रहेको र शान्तिपूर्ण रुपमा मतदान भइरहेकामा खुशी व्यक्त गरे। नेकपाका उम्मेदवार ढकालले आफूले मतदान गरेको मतदान केन्द्रलगायत आफूले अनुगमन गरेका सबै मतदान केन्द्र शान्तिपूर्ण र सौहार्द्धपूर्ण रुपमा मतदान भइरहेकामा सन्तुष्ट व्यक्त गरे।

उपनिर्वाचनमा मतदाताको उत्साह देखेर आफूलाई पनि थप उत्साह बढेको उनले जानकारी दिए। कांग्रेसका उम्मेदवार भँडेलले मतदान गर्दै शहर र शान्तिपूर्ण रुपमा मतदान हुनु खुशीको कुरा रहेको बताए। यहाँका प्रत्येक मतदान केन्द्र सुरक्षित रहेको आफूले पाएको र मतदाताहरु पनि निर्धक्क भएर शान्तिपूर्ण रुपमा मतदानस्थलमा आएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.