|

कपिलवस्तु : सत्तारुढ दल नेकपा, प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले प्रतिष्ठाको लडाइँका रुपमा लिएको कपिलवस्तुको उपनिर्वाचनमा ८३ प्रतिशत मत खसेको छ। शिवराज नगरपालिका  १० मा शनिबार सम्पन्न मतदानमा ८३.१० प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए।

२ हजार ७२ मतदाता रहेको उक्त वडामा मतदानको निर्धारित समय साँझ ५ बजेसम्म १ हजार ७ सय २२ मतदान भएको प्रजिअ श्रेष्ठले जानकारी दिएका छन्। २ वटा मतदानस्थल र ३ वटा मतदान केन्द्र रहेको सो वडामा त्रिपक्षीय भिडन्त रहेको छ। २०७४ असोज २ गते भएको स्थानिय तहको निर्वाचनमा सो वडाबाट स्वतन्त्रबाट जितेकी शकुन्तला भारतीको मृत्यु भएपछि सो वडामा निर्वाचन भएको हो।

मृतक भारतीका छोरा देवराज भारतीले अहिले नेपाली कांग्रेसको तर्फबाट सो वडाको वडा अध्यक्षमा लडेका छन्। सो वडाको जितलाई नेकपा, कांग्रेस र राष्ट्रिय जनता पार्टीले आफनो प्रतिष्ठाको लडाइँ सम्झेर ब्यापक रुपमा प्रचार प्रसार गर्दै आएका थिए। यता वडा अध्यक्षमा सत्तारुढ नेकपाबाट अदालत मनिहर, कांग्रेसको तर्फबाट देबराज भारती, र राजपाबाट मन्जु मिश्राले जित हासिल गर्न कस्सिएका थिए।

अहिले कांग्रेसका उम्मेदवार रहेको भारती सकुन्तलाका छोरा हुन्। उनी गत संविधान सभाको निर्वाचनमा राप्रपाबाट प्रदेश सदस्यमा उठेका थिए। आमाको मृत्यु पछि कांग्रेसले वडा अध्यक्षमा टिकट दिने प्रतिबद्धता जनाए पछि भारती कांग्रेसमा प्रवेश गरेका थिए। गत निर्वाचनमा कांग्रसको तर्फका उम्मेदवार तीर्थबहादुर रायमाझी यस पटक समाजबादी पार्टी नेपालका उम्मेदवार बनेका छन्। उनी गत निर्वाचनमा झिनो मतले वडा अध्यक्षमा पराजित भएका थिए। यस्तै राजपाबाट मन्जु मिश्राले जित हासिल गर्न उनका श्रीमान राजपाका केन्द्रिय नेता रबिदत्त मिश्र लागिपरेका छन्।

मिश्रा राजपाको नेता रबिदत्त मिश्राकी श्रीमती हुन्। पार्टीको वडा कमिटीको उपाध्यक्ष मन्जुका श्रीमान तत्कालीन लालपुर गाविसका अध्यक्ष हुन्। नेकपाका मनिहरले तीन पार्टी बीचको लडाइँले मत बाँडिने र त्यसको फाइदा आफूलाई हुने र्तक गरेका थिए। तत्कालीन माओबादी केन्द्र र एमालेले छुट्टाछुट्टै उम्मेदवार खडा गरेकोमा यसपटक नेकपाबाट एकलौटी उम्मेदवार बनेकोले यसपटक आफ्नो जित हुने मनिहरको दाबी छ।

गत निर्वाचनमा सकुन्तलाले ३ सय १९, निकटतम प्रतिद्वन्द्वी तीर्थ रायमाझीले २ सय ३०, स्वतन्त्र उम्मेदवार तीर्थ पासीले १ सय ८१ मत ल्याएका थिए। त्यस बेला माओबादी केन्द्र र अहिले नेकपाका उम्मेदवार मनिहरले १ सय ५२ मत तथा तत्कालीन एमालेबाट उम्मेदवार बनेका रामदेब कुर्मीले १ सय २३ मत हासिल गरेका थिए। २०७४ को स्थानीय तहको निर्वाचनमा त्यस बेला वडामा ११ उम्मेदवार मध्ये ५ जना स्वतन्त्र थिए।

आजै राति ७ बजेबाट मतगणना हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए। सम्भवतः राति १० बजेसम्म परिणाम समेत आइपुग्ने उनले जानकारी दिए। मतदान सकिएलगत्तै मतपेटीकामा शिलबन्दी गरेर मतगणनाको लागि लैजाने काम जारी रहेको उनले जनाए।

मतदान स्थलबाट मतपेटीका वडा नम्बर ५ स्थित मतगणतास्थल लगेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने उनले जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.