सप्तरी : स्थानीय तह उपनिर्वाचन अन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ को वडाध्यक्ष पदका शनिबार भएको मतदानमा करिब ८० प्रतिशत मतदान भएको छ।
छ सय ४६ महिला र सात सय ५७ पुरुष गरी कुल एक हजार चार सय तीन मतदातामध्ये एक हजार एक सय १४ जना ७९.४० प्रतिशतले मतदान भएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए।
स्थानीय भूपेन्द्र नारायण संस्कृत माविमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार छिन्नमस्ता ७ को वडाध्यक्ष पदका लागि भएको मतदानपछि स्थानीय राष्ट्रिय प्रावि मतदान केन्द्रबाट मतपेटिका संकलन गरी ल्याइएको छ।
दलीय प्रतिनिधिले मुचल्का लगायतका कागजातमा हस्ताक्षर गरिसकेकाले अहिले करिब ७ बजेदेखि मतगणना हुरु हुने जिल्ला निर्वाचन अधिकारी दीलिप यादवले जानकारी दिए। पहिलो स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समिति प्रमुख भएपछि रिक्त भएपछि उपनिर्वाचन भएको हो।
उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि नेपाल कम्युनिस्ट पार्टीका अच्छेलाल यादव, नेपाली कांग्रेसका शिवनारायण मण्डल, समाजवादी पार्टीको समेत समर्थनमा राजपाकी प्रमिलादेवी यादवसहित नौजना उम्मेदवार छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।