|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ बेलडाँडीमा आयोजित दुई दिने ‘गाँउ घरमा चिकित्सक कार्यक्रम’ बाट चार सय १८ स्थानीयले सेवा पाएका छन्।

स्वास्थ्य कार्यालय कञ्चनपुरले बेलडाँडीमा दुईदिने गाँउघरमा चिकित्सा सेवा कार्यक्रम सञ्चालन गरी स्थानीयलाई चिकित्सकद्वारा बिरामी चेकजाँच, परामर्श तथा प्रेषण, गर्भवती महिलाका लागि भिडियो एक्स-रे, प्रजनन स्वास्थ्य, प्रयोगाशाला तथा निःशुल्क औषधि वितरणलगायतको सेवा प्रदान गरेको छ।

कार्यक्रमबाट महिला दुई सय ९५, पुरुष एक सय २३ जनालाई सेवा प्रदान गरिएको डा. कपिल जोशीले बताए। जसमध्ये ४१ जनाको रगत परीक्षण गर्दा छ जनामा सुगर र १५ जनामा ब्लड प्रेसर देखिएको उनले बताए। तीसजना महिलाको भिडियो एक्स-रेद्वारा गर्भवती जाँचसमेत गरिएको छ। उपचारका लागि पुगेका सबै जनालाई निःशुल्क रूपमा औषधि वितरण गरिएको छ।

'उपचारका लागि पुगेमध्ये अधिकांसमा स्वासप्रश्वासको समस्या देखिएको छ' डा जोशीले भने, ‘त्यसपछि छाला रोग, बालबालिकालाई मौसमी ज्वरो र बृद्धबृद्धामा सुगर र ब्लडप्रेसरको समस्या देखा परेको छ।’

मातृशिशु मृत्यृ दर घटाउन र गर्भवतीको अवस्था थाहा पाउनका लागि जिल्लामै पहिलो पटक गाँउमै भिडियो एक्स-रे सेवासमेत सञ्चालन गरिएको कार्यक्रमका प्रमुख डा जोशीले बताए।

'आर्थिक अवस्था कमजोर भएका र विपन्नताका कारण टाढाको स्वास्थ्य संस्थामा उपचार गर्न नपाएका बासिन्दाले घर दैलोमै सेवा पाएका छन' स्थानीय जनकलाल डगौराले भने, ‘चिकित्सकीय सेवा गाँउमै पाउदा सरकार आएको अनुभूति भएको छ।’

अपांगता भएका, दीर्धरोगी र ज्येष्ठ नागरिक कार्यक्रमबाट बढी लाभान्वित भएको उनले बताए। कार्यक्रम स्थलमा उपचारका लागि पुग्नु भएका शारीरिक अपांगता भएका धर्मबहादुर खडकाले उपचारमा पहुँच नपुगेका बासिन्दाका लागि कार्यक्रम निकै प्रभावकारी भएको बताए। सरकारले यस्ता जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम क्षणिक रूपमा नभै सधैँका लागि पुर्‍याउनु पर्ने उनले बताए।

वडा अध्यक्ष बहादुर महराले सञ्चालन भएको दुईदिने कार्यक्रमबाट वडा क्षेत्रका लक्षित वर्गले सेवा पाएको बताए। ‘अझै यस प्रकारका कार्यक्रम ल्याउन वडाका तर्फबाट समेत पहल गरिने छ’ उनले भने। उपचार कार्यक्रममा तीनजना चिकित्सकले सेवा प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.