|

काठमाडौं : तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिक सिंहदरबारको मूल ढोका सामुन्ने नठड्याइएको भए कहाँ हुन्थ्यो होला? वास्तवमा त्यो सालिकलाई त्यहाँ राख्ने सुरुको निर्णय नै थिएन। निर्णय थियो, “चन्द्रागिरिमा राख्ने।” पछि कसैको आदेशले निर्णय नै परिवर्तन गरियो र सालिकलाई ल्याएर सिंहदरबारको मूल ढोका अघिल्तिर ठड्याइयो।

पृथ्वी जयन्ती मूल समारोह समितिको कार्यालय थियो– घण्टाघरतर्फको त्रिचन्द्र कलेजमा। समितिका पदाधिकारीमा मुख्य चौतरिया फत्तेजङ्ग पराक्रम शाह, फिल्ड मार्सल केशरशमशेर जबरा, सर्दार नरेन्द्रमणि आदि, साहित्यकार बालकृष्ण समलगायत रहेका थिए। छ दशकअघि समितिको त्यो बैठकको स्मरण गर्दै इन्जिनियर शङ्करनाथ रिमालले भने, “पृथ्वीनारायणको सालिक राख्ने निर्णय भयो। मलाई सालिक राख्नका लागि स्मारकको डिजाइन गर्न जिम्मा दिइयो। ” सालिकको डिजाइन गर्ने जिम्मा बालकृष्ण समले पाए भने सालिक निर्माण गर्ने जिम्मेवारी कलाकार अमर चित्रकारलाई दिइयो भन्ने खबर गोरखापत्र दैनिकमा छ।

इन्जिनियर रिमालले सुरुमा पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट उपत्यका देखेको र चन्द्रागिरिमा स्मारक राख्दा हिमाल, पहाड र तराई देख्न सकिने सोचले चन्द्रागिरिमा निर्माण गर्नका लागि स्मारकको नमुना तयार गरे। त्यस स्थानलाई चन्द्रजस्तो आकार भएको पहाड (गिरि) भएकाले परम्परादेखि नै चन्द्रागिरि भनिँदै आएको थियो । स्मारक निर्माण गरी सालिक राखिएको भए त्यो बेला नै चन्द्रागिरिलाई पर्यटकीय स्थलका रूपमा विकास गरिएको हुन्थ्यो। हाल चन्द्रागिरि हिल्सले भालेश्वर नजिक पृथ्वीनारायणको सालिक राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.