|

काठमाडौं : समाजसेवी एवम साहित्यकार स्वर्गीय कर्णकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ को विमोचन गरिएको छ।

सोमबार राष्ट्रिय नाचघर काठमाडौंमा एक कार्यक्रमकाबीच ‘उस्तै उस्तै मान्छे’ र गजल संग्रह ‘मनको सागर’ को वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले विमोचन गरे। बिमोचन कार्यक्रममा शिक्षक ईश्वरी भण्डारी, वरिष्ठ साहित्यकार तथा समालोचक लक्ष्मण गाम्नागे, साहित्यकार, समालोचक, चलचित्र निर्देशक तथा संचारकर्मी प्रकाश सायमी र चर्चित संगीतकार राजु सिंह लगायतको उपस्थिती रहेको थियो।

विमोचित एल्बम ‘मनको सागर’मा म ७ वटा गीत तथा गजलहरु रहेका छन् । संग्रहित गीत तथा गजलहरुमा चर्चित गायक गायिकाहरु अन्जु पन्त, शिव परियार, रामकृष्ण ढकाल, मनोज राज सिवाकोटी, दिपशिखा राहुल, सजल न्यौपाने र बुनु श्रेष्ठ आदीको आवाज रहेको छ। ति गीत तथा गजलहरुमा किरण कडेंल, बिएन निराकार, रिदम कडेंल र रामकुमार रिमालले संगीत सिर्जना गरेका छन भने किरण कडेंल, बिएन निराकार, रिदम कडेंल र देवेन्द्र नेवाले संगीत संयोजन गरेका छन्।

चलचित्र निर्माता एवं समाजसेवी गोपाल कर्माचार्यज्यूको सभापतित्वमा आयोजित  समारोहमा स्व। श्रेष्ठद्वारा लिखित  पुस्तक ‘उस्तै उस्तै मान्छे’ र श्रेष्ठद्वारा रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ एकैसाथ विमोचन गरिएको हो।

बिस २००० सालमा गढीथुम्का, इलाममा जन्मिइ पूर्वाञ्चल क्षेत्रको दमकमा स्थायी बसोबास गरेका  श्रेष्ठको गत बर्ष निधन भएको थियो। श्रेष्ठ साहित्यिक क्षेत्रसँगसंगै समाजसेवामा समेत क्रियाशील थिए। करिब ४ दशक शिक्षण पेशामा अनवरत रुपमा क्रियाशील श्रेष्ठले आफ्नो जीवनकालमा नेपालका विकट क्षेत्रहरुमा स्वतःस्फूर्त रुपमा निःशुल्क शिक्षा समेत प्रदान गरेका थिए।

श्रेष्ठको यसअघि नाकको अप्रेशन(हास्यव्यङ्ग्यसंग्रह), ऋतम्भरा (गजलसंग्रह), मनको सागर (गजलसंग्रह) र मुखाले पोथी (बाल–कथासंग्रह) प्रकाशित भैसकेका छन् । कार्यक्रम चलचित्र निर्माता एवं समाजसेवी गोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको हो।
यी २ वटै कृतिहरुको प्रकाशन लेखककी छोरी बुनु श्रेष्ठले गरेकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.