आश्रम नै अपराधको थलो

|

काठमाडौं : बलात्कारको आरोप लागेपछि चतराबाट सिद्धबाबा भनेर चिनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गर्‍यो। उनीमाथि आफ्नै अनुयायीमाथि बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले बतायो।

सिद्धबाबाको रूपमा प्रख्यात गिरीले महिलालाई धर्मको नाममा पटकपटक बलात्कार गरेको आरोप लागेको छ।  बलात्कारको आरोपपछि अस्पताल भर्ना भएका उनलाई प्रहरीले एम्बुलेन्स लिएर अस्पतालबाटै ह्विल चियरबाट  जिल्ला अदालत पेस गरेको थियो। 

जिल्ला अदालत सुनसरीकाका न्यायाधीश धर्मराज पौडेलको इजलासले उनीमाथि अनुसन्धान गर्नकै लागि ४ दिनको म्याद थपेपछि प्रहरी उनीविरुद्धको प्रमाण जुटाउन लागिपरेको छ। उनलाई अदालतबाट पुनः अस्पताल नै लगिएको छ। 

गिरीले आफूले गल्ती गरेको र त्यसको लागि आफू जस्तोसुकै प्रायश्चित गर्छु, घटनालाई बाहिर नलैजाऊँ भन्दै केटीसँग रुएको टेलिफोन कुराकानीसमेत बाहिरिएको थियो। महिला अनुयायीलाई दसैँमा टीका लगाउन बोलाएर जबरजस्ती बलात्कार गरेको उनले आरोप लगाएकी छिन्। आरोपी महिलाले गत मंगलबार जाहेरी दिएकी थिइन्। 

को हुन् ‘सिद्धबाबा’ कसरी आए चर्चामा? 
सुनसरीको चतारामा बस्दै आएका सिद्धबाबा। सोलुखुम्बु जुबुका कृष्णदास गिरी यसअघिका दिनमा समेत विभिन्न आरोपको सिकार भइरहेको थिए। नागरिकता र जडीबुटीको अवैध कारोबारमा उनको संलग्न रहेको आरोप लागेको थियो। चतारा बस्दा ‘कृष्णदास महाराज’ को नामले परिचित उनी पोखरा गएपछि एकाएक ‘सिद्धबाबा’को नामले प्रख्यात भएका थिए। 

उनले नाम, जन्ममिति र स्थायी बसोबासबारे सधैँ फरकफरक बताउँदै आएक थिए। सोलुखुम्बु र सुनसरीबाट दुईवटा नागरिकता लिएर अवैध कारोबारमा संलग्न भएको आरोप उनीमाथि लागिरहेको थियो। जिल्ला प्रशासन कार्यालय सुनसरीमा उनीविरुद्ध पहिले पनि दोहोरो नागरिकता लिएको आरोपमा मुद्दा दर्ता भएको थियो। 
चतराबाट पोखरा पुगेका गिरी बिना अक्सिजनको पोखरास्थित एक घरभित्र ९ दिनसम्म बसेको भन्दै चर्चामा कहलिएका थिए। उनले बन्द गरेको प्लाटिकको बाकसभित्र ९ दिनसम्म बसेर सिद्धबाबाको रूपमा प्रख्यात भएका थिए।

किन सेलायो बम्जन प्रकरण?
केही महिनायता ‘लिटिल बुद्ध’को नामले प्रख्यात रामबहादुर बम्जनमाथि पनि अयुयायी बलात्कार, हत्या र बेपत्ता पारेको आरोप लागेको कुरा बाहिरियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र प्रहरीले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-६ बाडेगाउँ र सिन्धुलीको कमलामाई नगरपालिका ८ पैरे धापसार आश्रममा छापा मार्‍यो। 

प्रहरीले उनको आश्रमलाई अनुसन्धानको लागि भन्दै घेराबन्दीसमेत गरेको थियो। अनुसन्धानको लागि भन्दै सिन्धुलीबाट २ अनुयायीसमेत पक्राउ परे। अहिले प्रहरीले पनि प्रहरी अनुसन्धानकै क्रममा रहेको बताउँदै आएको छ। तर, बम्जन प्रकरणबारे प्रहरीले अहिलेसम्म न ठोस तथ्य भेट्‍न सकेको छ, न त खुलेरै लाग्‍न। 

बम्जनको सिन्धुपाल्चोक आश्रमबाटै हराएका भनिएका सञ्चलाल वाइबाको छोरा महेन्द्रले बाबु हराएको भनी जिल्ला प्रहरी कार्यालयका उजुरी गरेपछि बम्जन प्रकरणको रहस्य खुलेको थियो। बम्जनले सञ्चलाललाई आश्रममै हत्या गरी बेपत्ता पारेको प्रमाणनजिक पुगेको  प्रहरीले बताएको थियो । तर, पछिल्लो सयम प्रहरीले बम्जनबारे अनुसन्धानको क्रममै रहेको बताइरहेको छ। 

इन्द्रावती गाउँपालिका-६ बाडेगाउँमा रहेको बम्जन आश्रमबाट शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका तत्कालीन डिएसपी विमलराज कँडेलले बताएको थियो। घटनाको महिनौँ बितिसक्दासमेत जिल्ला प्रहरी कार्यालयको डिएसपी माधव काफ्ले अझै अनुसन्धानकै क्रममा रहेको बताउँदै आएका छन्।  

बमजनले बाराको रतनपुरी गाउँनजिकैको वनबाट तपस्या सुरु गरेका थिए। उनले पछिल्लो दशकमा मुलुकको विभिन्न ठाउँमा आश्रम बनाउँदै आफ्नो वासस्थानसमेत फेरिरहने गरेका छन्। 

बमजनमाथि विभिन्‍न आरोप
हेटौँडास्थित प्रहरी कार्यालयमा फूलमाया रूम्बा र कर्म वाइबालगायतका अनुयायी बमजनको आश्रमबाटै हराएको भनेर उजुरी परेपछि उनी विरुद्धका आरोपहरू थप पेचिलो बन्दै गएका थिए। आश्रममा बस्ने गरेका दुईजना अनुयायी खोजीका लागि उजुरी परेकाले उनको आश्रममा छापा मारेको प्रहरीको भनाइ छ। तीव्र रूपमा बम्जनको आश्रमस्थलमा प्रहरीले कडारूपमा निगरानी बढाउँदै आएको थियो।  प्रहरीसमक्ष उजुरी दिनेमा फूलमाया रूम्बाका भाइ विजय रुम्बा र सञ्चलाल वाइबाका छोरा महेन्द्र वाइबा छन्। 

त्यस्तै, बाराका हस्तबहादुर आले मगर र नुवाकोटकी गंगामाया तामाङ पनि बेपत्ता छन्। बारा जिल्लामै केही स्थानीयमाथि हातपात गरेको विवरण आएपछि सन् २०१० मा बम्जनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सन् २०१२ मा फेरि सोही कारण देखाउँदै करिब तीन महिनासम्म दुईजना विदेशी महिलालाई बन्धक बनाएपछि उनी चर्चामा आएका थिए।

गत भदौ महिनामा ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। त्यसपछि बम्जनविरुद्ध थप आरोपहरू लागेका र प्रहरीमा उजुरीहरू थपिएका विवरण बाहिर आइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.