|

हेटौँडा : विकास भन्नेबित्तिकै भौतिक विकासलाई मात्रै देख्ने जनता र नेताका कारण अधिकांश बजेट सडकमै पर्ने गरेका छन्। मकवानपुर जिल्लाका संघीय संसदमा प्रतिनिधि गर्ने दुई सांसदको बजेट बाँडफाँड पनि त्यस्तै देखिएको छ।

मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापतिसमेत रहेका कृष्ण दाहाल र मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले पूर्वाधार विकास साझेदारी कार्यक्रमको करिब दुई तिहाइ बजेट सडक निर्माण र मर्मतका लागि बाँडफाँड गरेका छन्। दाहाल र खतिवडाको प्रतिसांसद ६ करोडका दरले मकवानपुरमा प्राप्त १२ करोडमध्ये ८ करोड १० लाख रुपैयाँ सडक निर्माणका लागि विनियोजन भएको छ।

दाहालको २४ योजनामध्ये १४ सडकमा

मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का सांसद तथा संघीय संसदका अर्थ समिति सभापति दाहालले छनोट गरेको २४ वटा योजनामध्ये १४ योजना सडककै रहेका छन्। उनले प्राप्त गर्ने ६ करोडमध्ये ४ करोड ४० लाख रुपैयाँ सडकमै सकिने देखिएको छ। क्षेत्र नम्बर १ अन्तर्गत बकैया गाउँपालिकाको सुधा, अल्छे, भोगटे, टिकुली, भालुखोला-रतनपुर सडकको लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।

हेटौँडाको पवित्र टोल सडक र गढी गाउँपालिकाको एक्लेखेत, धाप, रानीसेरा ग्रामीण सडकको लागि ५०/५० लाख गरी एक करोड रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, हेटौंडा ६ र ७ मा शान्तिपथ कृषि सडकका लागि ५० लाख र १५ नम्बर वडाको कालीदेवी चोकदेखि भोर्ले स्वास्थ्यचौकीसम्मको सडकमा ५० लाख रुपैयाँ खर्च गर्ने योजना बनाइएको दाहालको बजेट बाँडफाँडमा रहेको छ।

हेटौंडा-९ कै शान्तिकुञ्जपथ भित्री सडक निर्माणमै ४५ लाख रुपैयाँको योजना बनाइएको छ। बकैयाको दोभान-बिजलडाँडा सडक र भीमसेन दमार-मोरङे आहाले भञ्ज्याङ सडकका लागि २५/२५ लाख रुपैयाँ छुट्याइएको छ। दाहालको भागमा परेको बजेटले हेटौंडा-१७ को सानो गंगटे ठाडो बाटो सडकका लागि २० लाख रुपैयाँको योजना, मकवानपुरगढीमा दुई कृषि सडकका लागि ४० लाख रुपैयाँ, गढीको मोड भञ्ज्याङ-तितुङडाँडा-मापुङ कृषि सडक र पीपलबोट धमिले कृषि सडकका २०/२० लाख रुपैयाँको योजना समेटिएको छ।

आधाभन्दा बढी बजेट सडकमा

मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ का सांसद खतिवडाको बजेट बाँडफाँडको योजनामध्ये झन्डै आधाभन्दा बढी बजेट सडकलाई नै खर्च गर्ने गरी योजना छनोट भएका छन्। उनले पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्राप्त हुने ६ करोडमध्ये ३ करोड ७० लाख रुपैयाँको सडक योजना बनाएका हुन्। खतिवडाले बनाएको २५ वटा योजनामध्ये १५ योजना सडक पूर्वाधार निर्माणकै रहेको उनले बाँडफाँड गरेको सडक योजना देखिन्छ।

उनले सडकका लागि छुट्याएका योजनामा इन्द्रसरोवर गाउँपालिकाको बज्रमाठ सिकारी गाउँ-मागे पौवा सडकको लागि ५० लाख रुपैयाँ, राक्सिराङ गाउँपालिकाको डुङ्गु परेवाभीर सडकका लागि पनि ५० लाख, मानेडाँडा-हालवारी-अल्छे कप्चरी सडक र मनहरी गाउँपालिकाको बसन्तपुर–डिल्लीपुर सडकको लागि  ५०/५० लाख रुपैयाँ मुख्य योजना  रहेका छन्।

खतिवडाले मकवानपुरगढीको वासुदेवमार्ग-तिपधारा सुकौरा खण्डमा ३० लाख र सोही गाउँपालिकाको ज्यामिरे-चन्द्रसूर्य पेटिकोट कृषि सडकको लागि २५ लाखको योजना बनाइएको जनाएका छन्। सडकका साना योजनामा राक्सिराङमा डुङ्चु-राम्चे सडक र टोडर्के-तर्सिकोट सडकका लागि १०/१० लाख खर्च गर्ने तयारी गरिएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.