|

अमेरिकी ट्रम्प प्रशासनले करिब २ अर्ब ४० करोड अमेरिकी डलर बराबरका फ्रान्सेली सामानमा शतप्रतिशत करवृद्धि गर्ने योजनामाथि विचार गरिरहेको छ।

अमेरिकी कम्पनी गूगल, एप्पल, फेसबुक र अमेजनमाथि डिजिटल करका रूपमा फ्रान्समा अत्यधिक करको भार थोपरिएको अनुसन्धानबाट खुलेपछि अमेरिकी प्रशासनले प्रतिशोधस्वरूप करवृद्धिको योजना बनाएको बताइएको छ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरले जारी गरेको पछिल्लो वक्तव्यमा फ्रान्सले लगाएको डिजिटल करका विरुद्ध कठोर कदम चाल्न अमेरिका बाध्य हुने उल्लेख छ। उनले अमेरिकी कम्पनीमाथि लक्षित गरी विभेदपूर्ण रूपमा कर लगाइएको वा निरुत्साहित गर्न खोजिएको अनुसन्धानबाट थाहा भएको बताए।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले गत जुलाईमा फ्रान्सेली करसम्बन्धी व्यवस्थाका बारेमा अनुसन्धान गर्ने जनाएको थियो। यो अनुसन्धान अमेरिकी व्यापार कानुन १९७४ को खण्ड ३०१ बमोजिम गरिएको थियो। अमेरिकाले चिनियाँ सामानमाथि करवृद्धि गर्ने प्रस्ताव पनि यही कानुनबमोजिम गरेको थियो।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले फ्रान्सेली कर विवाद टुङ्ग्याउन अमेरिका र फ्रान्सबीच मध्यस्थ वार्ता गर्न दिएको ९० दिनको समयावधि पनि समाप्त भएको जनाएको छ।

फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याँक्रोले गत जुलाईमा डिजिटल सेवा प्रदायक कम्पनीमाथि ३ प्रतिशत कर लगाउने एउटा कानुनमा हस्ताक्षर गरेका थिए। उक्त कानुनले आफ्नो व्यवसायमा असर पर्ने भन्दै अमेरिकी प्रविधि कम्पनीहरू गूगल, फेसबुक र अमेजनले विरोध गरेका थिए।

अमेरिकी करवृद्धि योजनामा फ्रान्सेली वाइन, चिज, मेकअप र ह्यान्डब्याग समेतका सामग्री समेटिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.