|

बाँके : जानकी गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिलाई घरमै पुगेर न्यानो कपडा र फलफूल वितरण गरेको छ। २८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा फरक क्षमता भएकाको घरमै पुगेर न्यानो कपडा र फलफूल वितरण गरेको हो।

हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा रहेका फरक क्षमताका व्यक्तिलाई न्यानो कपडा र फलफूल वितरण गरिएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बताए। उनले गाउँपालिकाका ६ वटै वडा कार्यालयसँगको समन्वयमा फरक क्षमता भएका व्यक्तिलाई ओढ्ने न्यानो कपडा (कम्वल) र फलफूल वितरण गरिएको बताए।

गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले दिवसमा अपाङ्गता भएका व्यक्तिलाई प्रत्यक्ष सहयोग पुर्‍याउने गाउँपालिकाको कार्ययोजनाअनुसार न्यानो कपडा र फलफूल वितरण गरिएको बताइन्। गाउँपालिकाअन्तर्गतका सबै सार्वजनिक कार्यालय, भवन, सार्वजनिक शौचालय अपाङ्गतामैत्री बनाउँदै शिक्षा, स्वास्थ्य, रोजगारलगायतका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिको पहुँच पुग्ने गरी विकासका योजना बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए।

दिवसलाई र्‍याली र भाषणमा मात्र सीमित नराखेर नारा अनुसार काम गर्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको अन्य नागरिक सरह बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने गरी कार्य गर्न गाउँपालिका प्रतिवद्ध रहेको अध्यक्ष यादवले बताए। जानकी गाउँपालिकाका ६ वटा वडामा दुई सय ९६ अपाङ्ग रहेका छन्। तीमध्ये पूर्णरूपमा अपाङ्ग रातो कार्ड प्राप्त ३८ जना रहेको गाउँपालिकाका सूचना अधिकृत विकास जिसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.