|

काठमाडौं : काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य सुरु भएको छ । दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिनेछ । यो अभियानअन्तर्गत मङ्गलबार कोटेश्वर–चाबहिल सडक खण्डमा खाल्डाखुल्डी पुर्ने काम भयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६/७७ को चौमासिक समीक्षा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने हो’ भन्दै सडकको खाल्डाखुल्डी चाँडो पुर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले दुई–तीन महिनाभित्र काठमाडौँ उपत्यकाका सङ्घीय सडकहरूका खाल्डाखुल्डीहरूलाई पुरिनेछ भने। उनले योजना बनाएर मङ्गलबारबाट खाल्डाखुल्डी पुर्ने कार्य सुुरु गरिएको स्पष्ट पारे। मन्त्रालयले सडक निर्माण, मर्मत तथा खाल्डाखुल्डी पुरिने कार्यको अनुगमन गर्ने जानकारीसमेत दिए। मुलुकभरिका सडकका खाल्डाखुल्डीहरू पुरिने काम नसकेसम्म यो अभियान निरन्तर रूपमा चलिरहने  स्पष्ट पारे।

पहिलो चरणमा काठमाडौँ उपत्यकाका सडकको खाल्डाखुल्डी र दोस्रो चरणमा काठमाडौँ बाहिरका राजमार्ग तथा सडकहरूको खाल्डाखुल्डी पुरिने योजना मन्त्रालयको रहेको जानकारीसमेत उनले दिए। प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलिया सहितको अनुगमन टोलीले मङ्गलबार कोटेश्वरदेखि चाबहिलसम्म खाल्डाखुल्डी पुरिने कार्यको अनुगमनसमेत गरेका थिए भन्ने खबर गोरखापत्र दैनिकमा छ।

विकास व्यवस्थापनविज्ञ थपलियाले सडकका खाल्डाखुल्डीबारे प्रधानमन्त्रीले लिएको चासोपछि विशेष योजना बनाएर खाल्डाखुल्डी पुरिने कार्यलाई अगाडि बढाइएको बताए। खाल्डाखुल्डी पुरिने अभियानको पहिलो दिन कोटेश्वरदेखि चाबहिलसम्मको सडकको खाल्डाखुल्डी पुरिने काम सम्पन्न भएको जानकारी दिँदै उनले अब कुनै पनि दिन नरोकी ‘नन स्टप’ रूपमा यस कार्यलाई निरन्तरता दिने स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.