|
फोटो सौजन्यस् तेज वानेम

अष्ट्रेलिया : मंगलबार अष्ट्रेलियाको सहर एडिलेडमा ‘गाउँ गाउँबाट उठ…’ गीत गाइएको छ। अष्ट्रेलियामा जारी नेपथ्य श्रृंखलाअन्तर्गत तेस्रो कन्सर्ट एडिलेडको ‘एचक्यू कम्प्लेक्स’मा यो कन्सर्ट गीत गाइएको हो।

कन्सर्ट हेरेर फर्केपछि एडिलेडका स्थानीय जो डेभिसले उनको फेसबुकमा तस्बिरहरु राख्दै टिप्पणी गरेका छन्, ‘माई फस्ट नेपाली कन्सर्ट, इट वाज असम' (यो मेरो पहिलो नेपाली कन्सर्टको अनुभव थियो। गजब लाग्यो)

नेपालीहरुको जनसंख्या तीव्र गतिमा बढ्दै गएको सहरका रुपमा पनि एडिलेड चिनिन्छ। दुई/चार वर्षअघिसम्म पनि केवल २५ सय नेपालीको बसोबास रहेको यस सहरमा हाल यो संख्या आठ हजार नाघिसकेको बताइन्छ। यसमा आधाजस्तो संख्या पछिल्लो समय पुनर्वास गराइएका भुटानी शरणार्थीहरुको छ। 

‘यति थोरै नेपालीहरुको बसोबास भएको सहरमा यति भब्य कन्सर्ट होला भनेर कसैले चिताएको पनि थिएन,’ कार्यक्रम सम्पन्न हुनेबित्तिकै नेपथ्यका मुख्य गायक अमृत गुरुङको नजिक पुगेर आयोजक समूहका गगन गिरी र खुम गुरुङले भनेका थिए, ‘तपाईंले नेपाली कार्यक्रमको नयाँ रेकर्ड कायम गरिदिनुभयो।’

आयोजक गगन र खुम दुवैले एक स्वरमा यो कन्सर्ट आयोजना गरेर नेपथ्यलाई साथ दिने मौका दिएकामा कृतज्ञता प्रकट गरेका थिए।

आयोजक गगन पुनर्वास गराइएका भुटानी शरणार्थी परिवारका हुन्। उनको यो संलग्नता र कार्यक्रममा दर्शकको उपस्थितिले एडिलेडमा नेपाली र भुटानी नेपालीभाषीहरु कसरी मिलेर बसेका छन् भन्ने संकेत पनि गर्थ्यो।

सधैँजस्तै दुईवटा भिडियो प्रस्तुत गरेपछि नेपथ्यले ब्याण्डकै पहिलो रेकर्डभएको गीत ‘आँगनैभरि हिउँ नै झरे’बाट आफूलाई मञ्चमा उपस्थित गराएको थियो। त्यसपछि लगातार एकपछि अर्को ब्याण्डका सदाबहार गीतहरु दुई घण्टासम्म गाइएका थिए। कतिपय भर्खरै रेकर्ड गरिएका गीतहरु पनि प्रस्तुत गरिएको थियो।

‘यति पर आएर पनि घरमै गीत गाएको जस्तो अपनत्व महशुस गर्न पाउँदा आनन्द लागिरहेको छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भनिरहेका थिए। अमृतले त्यस क्रममा नेपाली तन्नेरीहरुलाई विदेशमा बसेता पनि स्वदेशको माया मुटुमा सँगालेर राखिरहन अनुरोध गरेका थिए। एडिलेडको कन्सर्ट सम्पन्न भएसँगै नेपथ्यले अब पहिलोपटक अष्ट्रेलियाको बेग्लै टापुमा टेक्ने भएको छ।

एन्टार्कटिक महादेश (पृथ्वीकै पिँध)को नजिकै पर्ने अनि अष्ट्रेलियाको बेग्लै टापुमा बसेको राज्य तास्मानियामा पहिलोपटक यसपाला नेपथ्य पुग्दैछ। त्यस राज्यको राजधानी होबार्टस्थित तासमान हलमा डिसेम्बर ८ तारिखको बेलुकी नेपथ्यका लोकभाकाहरु घन्कनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.