|

तनहुँ : एचआइभी/एड्सको संक्रमणबाट तनहुँमा हालसम्म ४० जनाले ज्यान गुमाएका छन्। १० वर्षको अवधिमा जिल्लामा ४० जनामा एचआइभी/एड्स संक्रमणबाट ज्यान गुमाएका हुन्। २०६६ देखि २०७६ को १० वर्षको अवधिमा सो संख्यामा एचआइभी संक्रमणबाट ज्यान गुमाएको दमौली अस्पताल एन्टी–रेट्रोभाइरल थेरापी (एआरटी)ले जनाएको छ।

यौन सम्पर्क र रगतको माध्यमबाट सर्ने यो रोग लागेको थाहा पाएपछि संक्रमित व्यक्तिहरू उपचारको पहुँचमा नपुग्ने भएकाले संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको एआरटीले जनाएको छ। रोगको संक्रमण थाहा पाएपछि उपचारको पहुँचमा नपुग्दा यो रोग बढ्ने क्रममा रहेको एन्टी–रेट्रोभाइरल थेरापी (एआरटी) काउन्सिलर सुस्मिला खनालले बताइन्। यौन सम्पर्कको माध्यमबाट सर्ने यो रोगबाट एकबाट अर्को व्यक्तिमा सर्ने र संक्रमित व्यक्तिबाट जन्मिएको बच्चामा समेत सर्न सक्ने सम्भावना भएकाले पनि संख्या बढ्दो रहेको खनालको भनाई छ।  

‘समयमै ‘एन्टी–रेट्रोभाइरल थेरापी’ (एआरटी) सेवा नलिँदा र टीबीका कारणले धेरै संक्रमितको मृत्यु भएको पाइएको छ, धेरैजसोमा रोगका बारेमा थाहा नभएकालाई संक्रमण भएको पाइएको छ भने केही शिक्षित व्यक्तिहरूमा समेत यसको संक्रमण भएको पाइएको छ,’ उनले भनिन्। केही महिलाहरूमा भने श्रीमान् वैदेशिक रोजगारीका क्रममा गएर घर फर्किदा रोग संक्रमित भएर आउँदा पनि यो रोगको संक्रमण सर्ने गरेको उनले बताइन्।

‘महिलाहरूलाई श्रीमान् एचआइभी/एड्सको संक्रमित भएका आउनुभएको छ भन्ने थाहा हुँदैन, महिलाहरूले पूर्णरूपमा श्रीमान्लाई विश्वास गर्ने गरेका हुन्छन्, त्यसले गर्दा पनि यो रोग बढ्दो छ,’ उनले भनिन्, ‘केहीमा पुरुषलाई वैदेशिक रोजगारीको शिलशिलामा भएका रमाइलोले आफूमा घातक रोगको संक्रमण सरेको थाहा नहुँदा पनि फैलिदै गएको छ।’

दमौली अस्पतालको तथ्यांकअनुसार जिल्लामा हालसम्म ३२८ जना एचआइभी संक्रमित छन्। गत आर्थिक वर्ष २०७५/७६को अन्तिमसम्म ३१२ जना रहेकामध्ये पुरुष १५०, महिला १३५, बालिका १३, बालक १३ र एक जना तेस्रो लिङ्गि रहेका छन्। गत साउनदेखि कात्तिकसम्ममा १६ जना नयाँ संक्रमित थपिएको अस्पताल जनाएको छ। व्यास नगरपालिका क्षेत्रका ८८ जनालाई एचआइभी बढी संक्रमण भएको पाइएको अस्पतालले जनाएको छ। त्यस्तै ऋषिङ गाउँपालिकामा३० जना एचआइभी संक्रमित रहेका छन्।

धेरैजसो वैदेशिक रोजगारीका लागि भारतसंगै अन्य देशमा जाने र रोगबाट संक्रमित भएर आउने गरेको अस्पतालको अनुमान छ। संक्रमितबाट जन्मिएका बालबच्चामा समेत प्रायजसो संक्रमण हुने अवस्था रहेको दमौली अस्पतालको आंकलन छ। संक्रमणका बारेमा परीक्षण गराउनका लागि आर्थिक अभावले उपचारको पहुँचसम्म पुग्न सकेका छैनन्। उनीहरूले धेरै खर्च लाग्छ भन्ने डरले पनि सेवा लिन नसकेको अवस्था रहेको काउन्सिलर खनालले बताइन्। उनका अनुसार एचआइभी/एड्ससम्बन्धी काम गर्ने संघसंस्थाले संक्रमितको खोजी गरिरहेको भए पनि संक्रमित व्यक्तिहरू खुलेर नआउँदासम्म संख्या बढ्नेछ।

जिल्लाका संक्रमितमध्ये  हाले २०७ जनाले मात्र एआरटी सेवा लिइरहेको एआरटी सेवा काउन्सिलर खनालले जानकारी दिइन्। ६९ जनाले एआरटीका लागि सहज हुने स्थानमा सारेका छन् भने १२ जना एआरटीसँग सम्पर्कमा नरहेको उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.