|

दमक : झापाको दमक–४ मा निर्माणको प्रकृयामा रहेको प्रदेशस्तरीय अपांग पुनर्स्थापना केन्द्र निर्माण गर्ने अभियानमा राष्ट्रिय ख्याती कमाएका कलाकारहरूले साथ दिएका छन्।

केन्द्र स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले दमकमा सम्पन्न दमक सांस्कृतिक साँझ कार्यक्रममा कलाकारहरूले साथ दिएका हुन्। मंगलबार राति सम्पन्न कार्यक्रममा लोकप्रिय कलाकारहरू शम्भु राई, मनोज गजुरेल, अमृत खाती, राजा राजेन्द्र पोखरेल, उषा श्रेष्ठ, मीना निरौला, टंक बुढाथोकी, एआर बुढाथोकी, अशोक दर्जी, निलम ढुंगानालगायतले गीत, नृत्य, प्रहसनलगायतका प्रस्तुति राखेका थिए।

कार्यक्रममा वरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशी, बाल कलाकार रियाज रिजाललगायत अन्य कलाकारहरूको पनि उपस्थिति रहेको थियो भने अन्य कलाकारहरूले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। सोही कार्यक्रममा यूएनएचसीआर तथा आम्दा नेपालको तर्फबाट पुनर्स्थापनाका लागि १५ लाख रुपैयाँ बराबरका थेरापीका उपकरण हस्तान्तरण गरिएको थियो।

स्थानीय तथा प्रदेश सरकारको सहयोगमा दमक–४ मा प्रदेश स्तरीय अपांग पुनर्स्थापना केन्द्र निर्माणाधीन छ। सोही पुनर्स्थापना निर्माणका बारेमा जानकारी दिने उद्देश्यले सांस्कृतिक कार्यक्रम गरिएको दमक अपांग सहयोग समितिका सचिव मदन बोहोराले जानकारी दिए।

साँझ ढल्कदै गर्दा राष्ट्रिय ख्याती कमाएका कलाकारहरू स्टेशमा उक्लिए पछि सहभागीहरूलाई अवेर सम्म मन्त्रमुग्ध पारे। शम्भु राईले आफ्ना लोकप्रिय गीतहरू ‘चलेछ बतास सुस्तरी’ देखि ‘आलुदम चना’ सम्म गाउँदा दर्शकले सँगै गाएर त कहिले नाचेर साथ दिए।

यस्तै मीना निरौलाले ‘काले दाइ’ देखि ‘ठमेल बजार’ सम्म गाउँदा दर्शकले झ्याप्पै छोपेका थिए। दमककै अशोक दर्जीको प्रतिभा हेर्ने विशेष गरि बालबालिकाहरू अबेरसम्म पनि खुल्ला आकाश मुनि प्रतिक्षामा रहेका थिए। यस्तै मनोज गजुरेल तथा राजा राजेन्द्रले प्रहसनमार्फत दर्शकलाई पेट मिचिमिची हसाएका थिए।

कस्तो बन्दै छ पुनर्स्थापना केन्द्र?

दमक–४ मा करिव ११ करोड रुपैयाँको लागतमा अपांगता भएका व्यक्तिहरूको पुनस्थार्पना केन्द्र निर्माण प्रकृया शुरु भएको हो। १० कट्ठा क्षेत्रफलमा पुनर्स्थापना केन्द्र निर्माणका लागि घेराबारा लगायतको प्रारम्भिक चरणको काम भई रहेको अपांग सहयोग समिति दमकका अध्यक्ष खगेन्द्रबहादुर भट्टराईले जानकारी दिए।

नगरपालिकाको समन्वय तथा प्रदेश सरकारको समेत सहयोगमा पुनर्स्थापना केन्द्र निर्माण थालिएको उनले जनाए। केन्द्र निर्माणका लागि ९ करोड रुपैयाँको डीपीआर निर्माण गरिए पनि महङ्गी लगायतका कारणले निर्माण पूरा हुँदा ११ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको उनले जनाए। पुनर्स्थापना केन्द्र निर्माणका लागि ६ कट्ठा जग्गा दाताहरूले दिएका छन् भने २ कट्ठा जग्गा नगरपालिकाले व्यवस्था गरि दिएको छ।

बाँकी २ कट्ठा जग्गासमेत अपांगता भएका व्यक्तिहरूबाट खरिद गरि प्रदान गर्ने प्रकृया चलि रहेको सचिव मदनकुमार बोहोराले जानकारी दिएका छन्। उनका अनुसार पुनर्स्थापना केन्द्रका लागि दमक नगरपालिकाले गत वर्ष ५ लाख रुपैयाँ उपलव्ध गराएको थियो भने यस वर्ष प्रदेश १ सरकारले १० रुपैयाँ बिनियोजन गरेको छ। हाल सम्म १०९ फिट घेराबारा गरिएको र बाँकी निर्माणको चरणमा रहेको बताईएको छ।

प्रदेश स्तरीय पुनर्स्थापना केन्द्रको लक्ष्य सहित निर्माण थालिएको केन्द्रमा फिजियो थेरापी, दिवासेवा तथा संरक्षण, अपांगता भएका व्यक्तिहरूका लागि चाहिने सहायता सामाग्री उत्पादन तथा मर्मत, आयआर्जन तथा क्षमता विकासका तालिम लगायतका सेवा उपलव्ध हुने जनाईएको छ। केन्द्रमा फिजियो थेरापीका उपकरण भने आम्दा नेपालले उपलव्ध गराउने अध्यक्ष भट्टराईले बताए।

अपांगता भएका व्यक्तिहरूको सशक्तिकरण तथा क्षमता विकासका लागि पुनर्स्थापना केन्द्र आवश्यक ठानि नगरपालिकाले प्राथमिकताका साथ सहयोग र समन्वय गर्दै आएको नगरपालिका समाज कल्याण शाखाका डम्बर बरालले जनाएका छन्। अपांगता भएका व्यक्तिहरूको सवलीकरणका लागि कम्तिमा हरेक जिल्लामा सुविधा सम्पन्न पुनर्स्थापना केन्द्र आवश्यक रहेको राष्ट्रिय अपांग महासंघकी उपाध्यक्ष रमा ढकालको भनाई छ।

शारीरिक असक्तताका कारण सहायता सामाग्री उपयोग गरि रहेकाहरूले सामान्य मर्मतको सुविधा समेत पाउन नसक्दा समस्या भोग्नु परेको भन्दै पुनर्स्थापना केन्द्रहरू मार्फत यस्ता सामाग्रीको उत्पादन, मर्मत, स्यहार लगायतका सुविधाले अपांगता भएकाहरूको जीवनशैलीमा सहजता ल्याउने उनले बताएकी छन्।

कार्यक्रममै सम्मान

सांस्कृतिक कार्यक्रमअघि जिल्ला अपांग समन्वय समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो। जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्य र जिल्ला अपांग समन्वय समितिका अध्यक्ष ऋषी चापागाँईको अध्यक्षतामा कार्यक्रम भएको हो। कार्यक्रममा अपांगताका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै राष्ट्रिय अपांग महासंघका पूर्वकेन्द्रीय सदस्य तथा दमक अपांग सहयोग समितिका अध्यक्ष खगेन्द्र भट्टराई तथा अपांग वाल शिक्षा सरोकार केन्द्रलाई सम्मान गरिएको थियो।

नगरका बिभिन्न क्षेत्रको परिक्रमा गरेको पदयात्रा सभामा परिणत भएको थियो। कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, कमल गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी लगायतको आतिथ्यता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.