|
गण्डकी मेडिकल कलेज

काठमाडौँ : मेडिकल शिक्षाका विद्यार्थीले सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सम्झौता अमूर्त रहेको भन्दै परीक्षा बहिष्कार गरेर फेरि आन्दोलन चर्काएका छन्। विद्यार्थीहरुले बोर्ड परीक्षा नै बहिष्कार गरेर आन्दोलन चर्काएपछि प्रहरीले धरपकड बढाएको छ।

परीक्षा बहिष्कार गरेर आन्दोलित पोखरास्थित गण्डकी मेडिकल कलेजका नौजना विद्यार्थीलाई बिहीबार विहान ११ बजे प्रहरीले नियन्त्रणमा लिएको छ। परीक्षाको समयमा नाराबाजी गर्दै हो-हल्ला गरेको आरोपमा प्रहरीले ती विद्यार्थीलाई नियन्त्रणमा लिएको हो।

एमबीबीएस पहिलो वर्षको परीक्षा बिहिबारदेखि सुरु भएको छ। विद्यार्थीले परीक्षासमेत बहिष्कार गरेर आन्दोलन चर्काएका छन्। एमबीबीएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति मंसिर १० गते भएको थियो। 

‘केही विद्यार्थी परीक्षा हलमै पसेनौँ । केही चाहीँ परीक्षा हलमा पसेर निस्कियौँ,’ एक विद्यार्थीले टेलिफोनमा भने, ‘सरकारले शुल्क फिर्ता गर्ने, शूल्क समायोजन गर्ने सम्झौताहरु पुरा नगरेसम्म हामी आन्दोलन गरिरहन्छौँ। गरिबका छोराछोरी डाक्टर बन्‍न पाउनुपर्छ भन्ने हाम्रो माग हो।’

प्रहरीले नियन्त्रणमा लिएका सबैलाई डाँडाको नाक प्रहरी चौकीमा राखिएको छ। उक्त प्रहरी चौकी अगाडि अन्य विद्यार्थीहरुले नियन्त्रणमा लिएकालाई तत्काल छोड्नुपर्ने भन्दै धर्ना दिएका छन्। यसअघि चितवन मेडिकल कलेजका विद्यार्थीहरुले बुधबार परीक्षा प्रवेश पत्र नै जलाएर परीक्षाको बहिष्कार गरेका थिए । 

एमबीबीएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति मंसिर १० गते भएको थियो। शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको सबै सहमतिमा विद्यार्थीहरुले विरोध जनाउँदै आएका छन्।

विद्यार्थीहरुले सम्झौतामा शुल्क समायोजन गरिने भनिए पनि एमबीबीएस तेस्रो र चौथो वर्षमा उठाइएको गैरकानुनी शुल्कबारे कुनै निर्णय नभएको भन्दै परीक्षा बहिष्कार गरेका हुन्।

विद्यार्थीले सम्झौता पत्रमा कुन शीर्षकमा उठाइएको रकम कति फिर्ता गर्ने भन्ने पनि प्रष्ट खुलाउन माग गररेका छन्। एमबीबीएस, बीडीएस, बिएस्सी नर्सिङ, बीएनएस, बी फार्मेसी, बीपीएच, बिएफएलटी र बिएमआईटीका देशैभरका विद्यार्थीले बोर्ड परीक्षा बहिस्कार गरेका हुन्।

एमबीबीएसबाहेक अन्य सातवटा संकायको पहिलो वर्षको परीक्षामा विद्यार्थी सहभागी भएनन्। चितवनमा एमबीबीएस पहिलो वर्षका परीक्षार्थीहरुले बुधबार नै प्रवेश पत्र जलाएका थिए।

चितवन मेडिकल, गण्डकी मेडिकल कलेजसहित युनिभर्सल मेडिकल कलेज, नेशनल मेडिकल र जानकी मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेको चिकित्सा शिक्षा संघर्ष समितिले जनाएको छ। चितवन मेडिकल कलेजका विद्यार्थीले प्रवेश पत्र जलाउनुका साथै पेन डाउन गरेर परीक्षा बहिस्कार गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.