|
सर्वाधिक गोलकर्ता सावित्रा अन्य फुटबलरसँग

पोखरा : नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले सबैभन्दा बढी गोल गर्ने पूर्वकप्तान अनु लामाको कीर्तिमान तोडेकी छन्। उनले राष्ट्रिय टोलीका लागि ३६ क्याप जित्दै अनुको ३५ गोलको किर्तिमान तोडेकी हुन्।

पोखरामा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबलमा माल्दिभ्सविरुद्ध १८औँ मिनेटमा पहिलो गोल गर्दै सावित्राले कीर्तिमान आफ्नो नाममा गरेकी हुन्।

सावित्राले २२औँ मिनेटमा दोश्रो गोल थपेपछि उनको नाममा ३७ गोल पुगेको छ। नादेझ्दा कपअन्तर्गत फाइनलमा उज्वेकिस्तानविरुद्ध २ गोल गर्दै उनले अनुको कीर्तिमान बराबरी गरेकी थिइन्।

सन् २०१४ को साफमा भुटानविरुद्ध ८८औँ मिनेटमा उनले डेब्यु गोल गरेकी थिइन्। सावित्राले साफ च्याम्पियनसिपको ३ संस्करणमा मात्रै १७ गोल गरेकी छिन्।

त्यसैगरी २ संस्करणको सागमा ४ गोल गरेकी छन्। सावित्राले गत चैत्रमा सम्पन्न पाँचौँ साफमा पूर्वकप्तान जमुना गुरुङको २५ गोलको कीर्तिमान उनकै गृहजिल्ला मोरङमा तोडेकी थिइन्। सेमिफाइनलमा श्रीलंकाविरुद्ध गोल गरेपछि सावित्राको कीर्तिमान जमुनासँग बराबरी भएको थियो।

तर, फाइनलमा भारतविरुद्ध सान्तावना गोलसँगै जमुनाको कीर्तिमान गृहजिल्लामा नै तोडियो। त्यसयता सावित्राले ओलम्पिक छनोटमा २ गोल, नादेझदा कपमा ७ गोल गरेपछि अनुसँगको कीर्तिमानमा समेत बराबरी भएको थियो। 

नेपाली पुरुष खेलाडीलाई समेत सावित्राले निकै पछाडि छाडेकी छन्। सावित्राका प्रशिक्षक हरि खड्का र पूर्वराष्ट्रिय टोलीका सदस्य निराजन रायमाझीले नेपाली पुरुष टिमबाट समान १३/१३ गोल गरेका छन्।

जुन कीर्तिमान सावित्राले सन २०१६ को चौथो साफमा समूह चरणमा माल्दिभ्सविरुद्ध ५०औँ मिनेटमा खेलको व्यक्तिगत चौथो गोल गर्दै तोडेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.