साइक्लिङमा बुद्धिबहादुरले जिते स्वर्ण

|

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत साइक्लिङको क्रस कन्ट्री पुरुष इभेन्टमा नेपालले स्वर्ण पदक जितेको छ। साइक्लिङबाट नेपालले जितेको यो चौथो स्वर्ण पदक हो।

नेपालका बुद्धिबहादुर तमाङले गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा बिहीबार दिउँसो भएको फाइनल प्रतिस्पर्धामा स्वर्ण पदक जितेका हुन्। 

क्रस कन्ट्री अन्तर्गत ४ किलोमिटरको ४ ल्यापमा बुद्धिले एक घण्टा १९ मिनेट ०८ सेकेण्डको समय निकाल्दै स्वर्ण पक्का गरे। यही इभेन्टमा नेपालकै राजिव राईले रजत र नेपालकै ओकेश राज बज्राचार्यले कास्य पदक जितेका छन्। राजिवले १ घण्टा १९ मिनेट ४० सेकेण्ड र ओकेशले १ घण्टा २१ मिनेटको समय निकालेर पदक पक्का गरे।

बिहिबारै महिलातर्फ नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी थिइन्। यही इभेन्टमा नेपालकै उषा खनालले रजत पदक जितेकी थिइन्।

बुद्धिले स्वर्ण जितेपछि नेपालले साग इतिहासको एकै संस्करणमा सर्वाधिक स्वर्णको कीर्तिमान बनाएको छ। नेपालले १३ औँ सागमा ३२ वटा स्वर्ण पदक जितिकसकेको छ। 

नेपालले सन् १९९८ मा भएको आठौं सागमा सर्वाधिक ३१ वटा स्वर्ण पदक जितेको थियो। नेपालले यो सागमा करिब ५० स्वर्णको लक्ष्य राखेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.