|
फाइल तस्वीर

दार्चुला : भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा पारेको विरोधमा अनशन बस्न ‘लिपुलेक’ हिँडेको अनशन टोली कालापानी नजिकैबाट फर्किएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि केएन बस्यालसहितको टोली कालापानीबाट करिब १३ किलोमिटर दक्षिणबाटै फर्किएको हो।

बस्यालसहित सेफर्ड लिम्बू र रमिता बलामीको टोली व्यास गाउँपालिका १ गागाबाट फर्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी दिपेन्द्र शाहीले जानकारी दिए। दार्चुला खलंगाबाट गत मंसिर १३ गते अनशनका लागि लिपुलेक जान भनी हिँडेको टोली कालापानीबाट १३ किलोमिटर दक्षिण र लिपुपासबाट करिब ३२ किलोमिटर दक्षिणतिरबाटै फर्किएको हो।

स्वास्थ्यमा समस्या आएपछि उनीहरूलाई फिर्ता जान आग्रह गरिएको दार्चुला प्रहरी प्रमुख शाहीले बताए। उनले अनशन टोली आइतबारसम्म खलंगा आइपुग्ने पनि बताए। गलत तथ्यांकले बितायो केही सञ्चार माध्यमले गलत सूचना प्रवाह गर्दा कैयौं भ्रम सिर्जना गरिएकाले अनशन टोलीलाई पनि समस्या भएको हुन सक्ने पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताए।

लिम्पियाधुरा, लिपुलेक, लिपुपास र कालापानी अलग अगल भएको, ३ हजारदेखि ६१८० मिटरको उचाइमा ती स्थानहरू रहेका तथा कालापानीको छेउबाट उत्तरतिर नेपालीलाई प्रवेशै नभएको जानकारी नहुँदा अनशन टोली ‘लिपुलेक’ जान हिँडेको हुनुपर्ने अध्यक्ष धामीको भनाई छ। 

व्यास गाउँपालिका १ छाङरु पुग्ने सहज बाटो नै छैन। सो क्षेत्रमा अहिले (हिउँदमा) कोही नबस्ने र कालापानी क्षेत्रमा नेपालीलाई प्रवेश नहुने जानकारी नपाउँदा अनशन टोलीले दुःख पाएको उनको भनाई छ।

शून्य त्रिदेशीय बस्ती

त्रिदेशीय सीमा क्षेत्रमा रहेको व्याँस गाउँपालिका १ छाङरु र तिंकर बस्ती बिगत एक हप्तादेखि मानव सून्य छन्। ११५ घरधुरी भएको छाङरु र ६७ घरधुरी भएको तिंकर गाउँबाट एक हप्ता पहिले नै त्यहाँका स्थानीय सदरमुकाम झरेको वडा अध्यक्ष अशोकसिँह बोहराले बताए।

हिउँदमा कुनै सरकारी उपस्थिति नरहने र कोही नबस्ने भएपछि घर बन्द गरेर करिब ६ महिनाका लागि स्थानीय खलंगा सदरमुकाम झर्ने गर्छन्। अध्यक्ष बोहराले सरकारी उपस्थिति गराउन सके स्थानीय पनि छाङरु र तिंकरमा बस्ने बताए।

स्थानीयसँगै सितापुल प्रहरीचौकीका सुरक्षाकर्मी पनि करिब ५१ किलोमिटर दक्षिण व्यास गाउँपालिका २ दुम्लिङ्मा झरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शाही बताए। सितापुलमा बन्दोबस्तीका समान नहुने, खाद्यान्न पुर्‍याउन नसकिने, हिउँ परेर बाटो नहुने र स्थानीयको समेत उपस्थिति नहुने हुँदा प्रहरीलाई पनि प्रत्येक वर्ष दुम्लिङ झारिने गरिएको डिएसपी शाही बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.