८३ आप्रवासी पौडिएर बाँचे

|

अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासी चढेको डुंगा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटनाग्रस्त हुँदा ५८ जनाको मृत्यु भएको छ।

गाम्बियाबाट एक साताअघि हिँडेको उक्त डुंगामा कम्तीमा १५० जना यात्रु रहेको अनुमान गरिएको छ। यस डुंगामा महिला र बालबालिका पनि सवार थिए।

यो डुंगा मौरिटानियाको तटीय इलाका केनरी द्वीपतर्फ आवश्यक इन्धन र खाद्यान्नका लागि आउँदै गरेको अवस्थामा दुर्घटनाग्रस्त भएको पश्चिम अफ्रिकाका लागि राष्ट्रसंघका एक अधिकारी लाउरा लुंगारोटीले बताए।

उनले डुंगामा सवार धेरै जना समुद्रमै डुबेका र बाँच्न सफल भएका एटलान्टिक महासागरमा पौडिएर मौरिटानियाको तटीय शहर नौडिबाउमा आएको जानकारी दिए। उनले कम्तीमा ८३ जना आप्रवासी पौडिएर तटीय इलाकामा निस्कन सफल भएको बताए। घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

पौडिएर बाँच्न सफल भएकाले आफूहरू गत नोभेम्बर २७ मा गाम्बियाबाट हिँडेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यद्यपि यस सम्बन्धमा गाम्बिया सरकारले केही बताएको छैन। हालैका वर्षहरुमा युरोप प्रवेश गर्ने लालसामा गाम्बियाका दशौं हजार नागरिक समुद्रको कठिन यात्रामा निस्कने गरेका छन्।

अफ्रिकाको सानो मुलुक गाम्बियाबाट सन् २०१४ देखि २०१८ को बीचमा मात्र ३५ हजारभन्दा बढी नागरिक युरोप प्रवेश गर्न सफल भएको राष्ट्रसंघीय आप्रवासन संगठनले जनाएको छ।

गाम्बियामा करिब २२ वर्ष शासन गरेका पूर्वराष्ट्रपति याह्या जम्माहको शासनकालमा मुलुकको अर्थतन्त्र चौपट भएको र युवा बेरोजगारी बढेको थियो। जनवरी २०१७ को चुनावमा पराजित भएपछि याह्या विदेशतर्फ निर्वासित भइसकेका छन्। गाम्बियाको अर्थतन्त्र मुख्य रूपमा पर्यटनमा आश्रित छ।

युरोप प्रवेशमा कडाई गर्न थालेका युरोपेली मुलुकले गाम्बियाका नागरिकलाई पनि पछिल्लो समय युरोप प्रवेशमा कडाई गरेका छन्। उनीहरूले अवैध आप्रवासीलाई पक्राउ गरी उनीहरूकै देश फर्काउन थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.