बंगलादेश फाइनल प्रवेश

|

पाेखरा : नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत नेपाली महिला क्रिकेट टोली फाइनल पुग्‍न गर या मरको स्थितिमा पुगेको छ। फाइनल पुग्नका लागि अब नेपालले श्रीलंकाविरुद्ध शुक्रबार हुने खेल जित्नैपर्ने भएको हो। राउण्ड रोविनमा नेपाल र श्रीलंका दुवैले १ खेलमा जित तथा १ खेलमा पराजय व्यहोर्दै समान २–२ अंक जोडेका छन्। 
नेपाल र श्रीलंका दुवैले माल्दिभ्सलाई पराजित गरेर आ–आफ्नो खातामा समान दुई अंक जोडेका हुन्। तर नेट रनरेटको आधारमा नेपाल लिगको दोस्रो स्थानमा रहेको छ।

यता, बंगालादेशले भने फाइनल भिडन्त पक्का गरिसकेको छ। बिहीबार माल्दिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान पक्का गरेको हो। राउण्ड रोबिनका पूरै तीन खेलमा जित हासिल गरेको बंगलादेश शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो।

बिहीबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले पूरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको थियो।
बंगलादेशका दुई खेलाडीले शतक प्रहार गरे। प्लेयर अफ द म्याच निगार सुल्तानले अविजित १ सय १३ र फरगंगा हकले अविजित १ सय १० रन जोडिन्। ६५ बलको सामना गरेकी सुल्तानले ३ छक्का र १४ चौका प्रहार गरिन्। विस्फोटक व्याटिङ गरेकी फरगंगाले मात्रै ५३ बलमा २० चौका प्रहार गरेकी थिइन्। माल्दिभ्सको बलिङमा समा अलीले १ विकेट लिइन्। बंगलादेशका समिमा सुल्तान रनआउट भएकी थिइन्। 

जितका लागि २ सय ५६ रनको लक्ष्य पछ्याएको मालदिभ्सको पारी मात्रै ६ रनमा समेटियो। माल्दिभ्सकी समा अलिले २ तथा स्माइस र अतिमाथले १–१ रन मात्रै बनाउन सके। दुई रन अतिरिक्त रनका रुपमा उपहार पाएका थिए।

बंगलादेशको बलिङमा रितु मोनी र सलमान खातुनले समान ३–३ विकेट लिए भने रबेया खान र पूजा चक्रावर्तीले एक÷एक विकेट लिए । बंंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ७ विकेटले तथा दोश्रो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.