समाजमा खुल्दै एचआइभी संक्रमित, बढ्दै संक्रमण दर

|

डडेल्धुरा : डडेल्धुराकी पशुपतीदेवी साउँद एचआइभी संक्रमित हुन्। उनका श्रीमान् लामो समय भारतमा बसे र त्यहीँ काम गरे। पछि उनी भारतबाट घर फर्किए।

भारतमा रहँदा उनका श्रीमानलाई एचआइभी लागेको थाहा नै भएन। उनी घरमा आएपछि ‘एचआइभी’ पार्वतीमा पनि सर्‍यो। उनका श्रीमानको एचआइभीका कारण १० वर्षअघि ज्यान गयो। उनका छोराछोरी पनि छैनन्। १० वर्षदेखि एआरटी सेवा लिइरहेकी एचआइभी संक्रमित साउदले कामको सिलसिलामा भारत गएका श्रीमानबाट आफू संक्रमित भएको सुनाइन्।

‘अहिले धेरै नै समस्या छ। श्रीमान पनि हुनुहुन्न। छोरीछोरी पनि छैनन्’ उनले भनिन्, ‘म एउटा संस्थामा काम गरेर खाइरहेकी छु।’ सरकारले आफूजस्तै एचआइभी संक्रमितहरूलाई आयआर्जन गर्नमा प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ। एचआइभी संक्रमितलाई अहिले घरखर्च चलाउन पनि समस्या परिरहेको छ।

एक बच्चाकी आमा डडेल्धुराकै अनितादेवी सार्की पनि एचआइभी संक्रमित हुन्। उनको कथा पनि पशुपतीदेवीसँग मिल्दोजुल्दो नै छ। अनिताका श्रीमानलाई पनि कामको सिलसिलामा भारतमा एचआइभी लाग्यो। पछि चेकजाँच गर्दा अनितामा पनि एचआइभी देखियो। छोरा भने स्वस्थ्य रहेको उनले बताइन्।

एक त दलित त्यसमाथि एचआइभी संक्रमित अनितालाई समाजमा बाँच्नै गाह्रो भएको छ। झन् छोरालाई पढाउनै समस्या थपिएको छ। बेरोजगार लोग्ने र छोराका लागि काम गर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्।

‘अहिले घरखर्च चलाउन निकै मुस्किल भइरहेको छ। श्रीमान पनि केही गर्नुहुन्न। उहाँको पनि त्यतिकै बसीबासाइँमात्रै छ’ उनले भनिन्। कुनै राम्रो ठाउँमा काम गर्ने वातावरण भए छोरालाई राम्रोसग पढाउने धोखो अनिताको छ।

समाजमा खुल्दै एचआइभी संक्रमित

परम्परावादी समाजको घेराभित्र रोगसँग लडेर मनलाई कुण्ठित पार्दै जीवन जिउँदै आइरहेका यहाँका एचआइभी संक्रमितहरू पछिल्लो समय खुल्न थालेका छन्। सधैँ समाजको डर र लाजले रोगदेखि भित्रभित्रै लड्दै आइरहेका एचआइभी संक्रमित खुलेरै समाजमा जीवनयापन गर्नतर्फ आग्रसर हुन थालेका हुन्।

‘विगतका दिनमा गाउँघरमा ‘एचआइभी संक्रमित हुँ’ भनेपछि धेरै नै हेप्थे। विभिन्न किसिमका लालछना लगाउँथे’ विगतका दिन सम्झदै अनिताले भनिन्, ‘अहिले समाज परिवर्तन हुँदै गएको छ। सबैले बुझ्छन्। अहिले त्यति हेला गर्दैनन् हामीहरूलाई।’

आफू अहिले गाउँमै खुलेरै बसिरहेको उनको भनाइ छ। ‘अहिले म गाउँमै बसिरहेकी छु। समाजबाट नराम्रा कुराहरू सुन्नुपरेका छैन’ उनले अघि भनिन्, ‘बाहिर कुरा गरे मलाई थाहा भएन। हर्लान् पनि। तर मेरो सामुमा कसैले केही भन्दैनन। हेप्दैनन् पनि।’

एचआइभी संक्रमितहरूका लागि सीपमूलक कार्यक्रम ल्याउनुपर्ने सरकारसँग उनको माग छ। ‘हामी जति पनि एचआइभी संक्रमितहरू छौँ। हाम्रा लागि सरकारले सीपमूलक कार्यक्रम ल्याइदिनुपर्छ’ उनले भनिन्, ‘सरकारले केही न केही काम दिनुपर्छ।’

गरिबीका कारण रोजगारीका लागि भारत पस्ने र त्यहीबाट संक्रमित भई घर फर्की श्रीमतीलाई पनि संक्रमित बनाएका धेरै उदाहरण छन्। पशुपति र अनिता प्रतिनिधि पात्र मात्रै हुन्। दुवैले एआरटी सेवा लिइरहेकी छन्।

एचआइभी संक्रमण दर बढ्दो

डडेल्धुरामा एचआइभी संक्रमण दर बढ्दो क्रममा रहेको पाइएको छ। स्वास्थ्य कार्यालयका अनुसार पछिल्ला वर्षमा जिल्लामा नयाँ संक्रमित पत्ता लाग्ने दर बढ्दै गइरहेको हो।

डडेल्धुरामा १३६ जना एचआइभी संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ। स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा ३८ पुरुष, ५७ महिला र १२ बालबालिका गरी जम्मा १०७ जना, २०७४/०७५ मा ४६ पुरुष, ६३ महिला र १२ बालबालिका गरी जम्मा १२१ जना र २०७५/०७६ मा ५५ पुरुष, ६७ महिला र १४ बालबालिका गरी १३६ जना एचआइभी संक्रमित रहेका छन्।

डडेल्धुरामा दुईजना संक्रमितको मृत्यु भएको छ। समयमै एआरटी सेवा लिन नमान्दा उनीहरूको मृत्यु भएको स्वास्थ्य कार्यालयले दाबी गरेको छ। मृत्यु हुनेमा एक महिला, एक पुरुष रहेको स्वास्थ्य कार्यालय, डडेल्धुराका भेक्टरकन्ट्रोलर सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिए।

असुरक्षित यौन सम्पर्क र रोजगारीको सिलसिलामा भारत जाने युवाका कारण जिल्लामा एचआइभी संक्रमितको संख्या वृद्धि हुँदै गएको उनको भनाइ छ। युवा एचआइभी संक्रमित भएर फर्कने र श्रीमतीलाई सार्ने गरेका कारण संक्रमितको संख्या बढेको हो।

रोजगारीका लागि भारत जाने गरेका युवामार्फत नै एचआइभी भित्रिने गरेको उनले बताए। जिल्ला स्वास्थय कार्यालयको तथ्यांकअनुसार डडेल्धुरामा रहेका १३६ जना एचआइभी संक्रमितमध्ये ९६ जनाले मात्र एआरटी सेवा लिने गरेको भेक्टरकन्ट्रोलर सुपरभाइजर भट्टले जानकारी दिए। डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताल र जिल्लाको भित्रीमधेसमा रहेको जोगबुडा अस्पताल उनीहरू उक्त सेवा लिइरहेका छन्।

के हो एचआइभी एड्स?

मानवको प्रतिरक्षा प्रणाली नष्ट गर्ने जीवाणु शरीरमा प्रवेश गरे रगतमा यसको वृद्धि विकास हुनु नै एचआइभी संक्रमण हो। एचआइभीले मानव शरीरको रोगसँग लड्नसक्ने क्षमता कमजोर बनाउँदै लैजान्छ। प्रतिरक्षा प्रणाली कमजोर भएपछि जुनसुकै रोगले पनि आक्रमण गरी रोगी तुल्याउने अवस्थालाई ‘एड्स’ भनिन्छ।

कसरी सर्छ एचआइभी?

एचआइभी संक्रमित व्यक्तिसँग असुरक्षित यौनसम्पर्क गरे एचआइभी सर्दछ। स्वच्छ व्यक्तिले संक्रमितको रगत लिए एचआइभी सर्दछ। एचआइभी संक्रमित गर्भवती आमाबाट शिशुमा सर्ने सम्भावना ४५ प्रतिशत रहन्छ।

एचआइभी संक्रमित व्यक्तिले नसाद्वारा लागुपदार्थ, औषधि सेवन गर्दा प्रयोग गरेका संक्रमित सिरिञ्ज/सुई स्वस्थ व्यक्तिले प्रयोग गरे एचआइभी सर्दछ।

रोकथाम र उपचार

असुरक्षित यौनसम्पर्क नराख्ने तथा एचआइभी संक्रमितको रगतको सम्पर्कबाट टाढा रहनुपर्छ। जथाभावी सुइको प्रयोग गर्नुहुँदैन। विशेषगरी, लागुपदार्थ प्रयोगकर्ता यस्ता गतिविधिबाट बच्नुपर्छ।

संक्रमित आमाबाट बच्चा जन्माउनु परे चिकित्सकको पूर्ण निगरानीमा रहनुपर्छ। सम्बन्धित विशेषज्ञसँग परामर्श लिएर गर्भवती हुँदा र जन्माउँदा एचआइभी नेगेटिभ भएको बच्चा जन्मन सक्छ।

एचआइभी संक्रमित भइसकेपछि यसको कुनै उपचार छैन। तर, औषधि सेवनबाट यसलाई नियन्त्रणमा राख्न सकिन्छ। जसअन्तर्गत एआरटी अर्थात् एन्टिरेट्रोथेरापी पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.