|

काठमाडौं : तेक्‍वान्दोका मनिता शाही र अप्सरा कार्कीले स्वर्ण पदक जित्ने अवसर गुमाएका छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार भएको फाइनलमा भिडन्तमा दुवैजना भारतीय प्रतिद्वन्द्वीसँग पराजित हुन पुगे।

महिला ७३ केजीमुनि तौल समूहमा मनिता भारतीय खेलाडि मारिया रेगीसँग १५-० ले पराजित भइन्। मनिता पहिलो चरणमा ६-० ले पछाडि थिइन्। दोस्रो चरणमा मारियाले एकपक्षीय १३-० को नतिजा निकालिन्। फाइनलअघि मनिताले श्रीलंकाकी सचिता आर्चाचिगेलाई २९-२ ले पराजित गरेकी थिइन्।

अप्सरा कार्कीले पनि स्वर्णको अवसर गुमाइन्। उनी ६७ केजीमुनि तौल समूहमा फाइनलमा हारेपछि रजतमा समेटिइन्। फाइनलमा भारतकी रुचिका भावेसँग ८-५ ले पराजित हुँदै अप्सरा स्वर्णको अवसरबाट चुक्न पुगिन्। 

पहिलो राउण्डमा भारतीय भावेले ४-० को अग्रता बनाइन्। दोस्रो राउण्डमा ७-२ को स्थितिलाई अप्सरा उल्ट्याउन नसक्दा पराजित भइन्। सेमिफाइनलमा अप्सराले बंगलादेशकी सलमा खातुनलाई हराएकी थिइन्। 

भारतकी रुचिकाले भने भुटानकी सोनाम यान्ग्सोलाई हराउँदै फाइनलमा प्रवेश गरेकी थिइन्। त्यसैगरी महिला ४९ केजीमुनि तौल समुहमा युनिषा राई सेमिफाइनलमा भारतकी पुर्वा दीक्षितसँग हार्दै कास्यमै समेटिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.