|

भद्रपुर : झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालका चिकित्सकको लापरबाहीले पाँच महिने शिशुको मृत्यु भएको घटना सेलाउन नपाउँदै बिर्तामोडकै बिर्ता सिटी अस्पतालमा बिहीबार एक महिलाको मृत्यु भएको छ। 

चिकित्सकको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै पीडित पक्षले नाराबाजी गर्दै आन्दोलित बनेपछि अस्पताल परिसर तनाव ग्रस्त बनेको हो। बेलुका ४ बजेदेखि नाराबाजीसहित पीडित पक्ष आन्दोलित बनेपछि अस्पतालमा धनजनको क्षति हुन नदिन इलाका प्रहरी कार्यालय अनारमनिले कडा सुरक्षा प्रदान गरी घटनालाई साम्य बनाउन पहल गरिरहेको छ। 

घटना विवरण अनुसार कनकाई नगरपालिका ७ स्थित कालिमुडाकी ४९ वर्षीया फुलमाया तामाङको उपचारको क्रममा बिहीबार दिउँसो अस्पतालमा मृत्यु भएको थियो। मिर्गौलामा समस्या भएर उपचारका लागि बिर्ता सिटी गएकी तामाङको इन्डोस्कपी गर्ने क्रममा दिउँसो १ बजे मृत्यु भएको पीडित पक्षको दाबी छ।

बिरामी महिला तामाङ डराइरहेको अवस्थामा जबरजस्ती चिकित्सकले इन्डोस्कपी गर्दा उनको मृत्यु भएको भन्दै पीडित पक्षले अस्पताल प्रशासनको लापरवाहीविरुद्ध नाराबाजीमा उत्रिएका थिए। अस्पताल परिसरमा अहिले व्यापक प्रहरी परिचालन गरी भीड नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।

अहिले घटनाका सन्दर्भमा पीडित पक्ष, अस्पताल प्रशासन र सरोकारवाला पक्षबीच छलफल चलिरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए। यता मंसिर ११ गते बिर्तामोड नगरपालिका ५ बस्ने विजय लिम्बूको ५ महिने शिशु विपिषा लिम्बूको गए राति उपचारको क्रममा मृत्यु भएको थियो।

निमोनिया भएर अस्पताल भर्ना गरिएकी विपिषालाई इन्जेक्सन लगाएलगत्तै पेट फुलेको र त्यसपछि शिशुको मृत्यु भएको पीडित पक्षले अस्पतालमा तोडफोड गरेका थिए। यता घटनालाई मिलाउन अस्पताल प्रशासनले पीडित पक्षलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.