५८ स्वर्णसहित भारत पहिलो स्थानमा

|
साइक्लिङबाट स्वर्ण, रजतसहितका पदक विजेताहरु

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) को चौथो दिन बिहीबारसम्म नेपालले ३६ वटा स्वर्ण पदक जितेको छ। नेपालले एउटै सागमा यति धेरै स्वर्ण जितेको पहिलो पटक हो । यसअघि सन् १९९८ मा घरेलु भूमिमा भएको सागमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो। 

हालसम्मको पदक तालिका अनुसार भारत ६२ स्वर्ण, ४१ रजत र २१ कास्यसहित १२४ पदक जितेर शीर्षस्थानमा छ। आयोजक नेपाल ३६ स्वर्ण, २७ रजत र ३८ कास्यसहित १०१ पदक जितेर दोस्रो स्थानमा छ। 

यस्तै श्रीलंका १७ स्वर्ण, ३५ रजत र ५५ कास्यसहित कुल १०७ पदक जितेर तेस्रो स्थानमा उक्लिएको छ। पाकिस्तानको १५ स्वर्ण, २३ रजत र २४ कास्य गरी ६२, बंगलादेशको ४ स्वर्ण, ११ रजत र ४५ कास्यसहित ६० पदक भएको छ। 

छैटौँ स्थानमा रहेको माल्दिभ्सले एउटा स्वर्ण र २ कास्य गरी ३ पदक हासिल गर्दा पुच्छरमा रहेको भुटानले अहिलेसम्म स्वर्ण र रजत जित्‍न सकेको छैन। उसले ६ वटा कास्य पदक मात्रै जितेको छ। 

बिहीबार ६ वटा स्वर्ण 

नेपालले बिहीबार मात्रै ६ वटा स्वर्ण पदक जितेको छ। साइक्लिङ, उसु, तेक्‍वान्दो, भारत्तोलन र स्विमिङ्गबाट नेपालले ६ स्वर्ण जितेको हो। 

भारत्तोलनकी सञ्जु चौधरीले स्वर्ण पदक दिलाइन्। बाँकेकी सञ्जुले महिला ५९ केजी तौल समूहबाट स्वर्ण पदक जितेकी हुन्। उनले स्न्याचतर्फ ७४ केजी र क्लिन एन्ड जर्कमा ९७ केजीसहित कुल एक सय ७१ केजी तौल उचाल्दै स्वर्ण हात पारेकी हुन्।

त्यस्तै उसुकी निमा घर्तीमगर र जुनी राईले स्वर्ण दिलाएका छन्। योसँगै उसुबाट नेपालले चार स्वर्ण जितेको छ। बिहीबार लगनखेलस्थित त्रिभुवन आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको उसुको ५६ केजी महिलातर्फको भिडन्तमा जुनीले स्वर्ण पदक जित्न सफल भएकी हुन्। 

निमाले बिहीबार लगनखेलस्थित आर्मी कभर्ड हलमा बंगलादेशकी मोर्जिना अख्तरलाई हराउँदै स्वर्ण जितेकी हुन्। जितेको स्वर्ण पदक उनले आफ्नी आमालाई लगाइदिन्। उनले आफ्नै भूमिमा स्वर्ण जित्न पाउँदाको खुसी नै बेग्लै रहेको अनुभव पनि सुनाइन्। 

दोस्रो पटक स्वर्ण पदक जितेपछि नीमाले आफ्नो अनुभवबाररे भनिन्, ‘आफ्नै माटोमा, सबै नेपालीका अगाडि स्वर्ण जित्दाको आनन्द छुट्टै हुँदोरहेछ। यो खुशी व्यक्त गर्न मलाई शब्दमा गाह्रो भइरहेको छ।’ 

निमाले १८.१९ स्कोर बनाउँदा अख्तरले १६.३ अंक जोड्न सकिन्। यो स्पर्धामा श्रीलंकाकी सञ्जु कुमारीले १४.७९ अंक जोड्दै कास्य पदक जितिन्। भारतमा सन् २०१६ मा भएको १२ औं सागमा पनि उनले स्वर्ण पदक जितेकी थिइन्। 

उसुको सान्डा सान्सोमा जुनीले स्वर्ण पदक जितेकी हुन्। राम्रो सफलता पाइरहेको साइक्लिङले आज पनि स्वर्ण पदक जितेको छ। बिहीबार क्रस कन्ट्रीको ४ किलोमिटरमा लक्ष्मीले मगरले स्वर्ण जितेकी हुन्। 

यसैगरी पौडीकी गौरिका सिंह र तेक्‍वान्दोका भुपेन श्रेष्ठले स्वर्ण जितेका छन्। गौरिका २०० मिटर फ्री स्टाइलमा स्वर्ण पदक जित्न सफल भएकी हुन्। सातदोबाटोस्थित स्विमिङ कम्प्लेक्समा भएको प्रतिस्पर्धामा ओलम्पियन सिंहले स्वर्ण पदक जितेकी हुन्। 

स्वर्ण जित्ने क्रममा उनले २ मिनेट ०५.०६ सेकेन्डमा दूरी पूरा गरिन्। सागको स्विमिङमा व्यक्तिगत स्पर्धामा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो। गौरिकाले जितेको यो स्वर्ण पौडीको व्यक्तिगततर्फ नेपालको पहिलो स्वर्ण पदक हो। यसअघि नेपालले टिम इभेन्टमा मात्रै स्वर्ण जितेको रेकर्ड छ। 

आठौँ सागमा नयना शाक्य, रुबिना प्रधान, रुना प्रधान र स्तुति सिंहले ४ गुणा १०० रिलेमा स्वर्ण जितेका थिए। रियो ओलम्पिकमा सहभागी हुने सबैभन्दा कान्छी खेलाडी गौरिकाले यसअघि नै पौडीबाट करिब एक दर्जन राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन्। उनी १३ वर्षको उमेरमै रियो ओलम्पिकमा भाग लिन पुगेकी थिइन्। 

यस्तैगरी तेक्‍वान्दोले अर्को स्वर्ण थपेको छ। तेक्‍वान्दोको ८७ केजी मुनि भुपेन श्रेष्ठले पहिलो हुँदै स्वर्ण जिते। सातदोबाटोस्थित तेक्‍वान्दो कक्षमा भएको फाइनल भिडन्तमा भुपेनले भारतीय खेलाडी अक्ष हुडालाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन्। 

८७ केजीमुनिको तौल समूह अन्तर्गत भएको फाइनल भिडन्तमा भुपेनले २७ का विरुद्ध २९ अंकले बाजी मारे। बिहीबार ६ वटा स्वर्णका लागि भएका भिडन्तमा नेपालले एउटामै चित्त बुझायो। मनिता शाहीसहितका अन्य खेलाडीहरु भारत र पाकिस्तानी खेलाडीसँग फाइनलमा पराजित हुँदै रजतमा चित्त बुझाउन बाध्य भए। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.