मिलनचोकमा नेपालकै पहिलो गौ महोत्सव

|

म्याग्दी : उत्तरी पर्वतको जलजला गाउँपालिका-७ मिलनचोकमा विहीबारदेखि नेपालमा नै पहिलो पटक विराट गौमहोत्वस शुरु भएको छ।

गौ महोत्सवको उद्घाटन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले गाईपालन र गाईको संरक्षणमा जोड दिनुपर्ने बताएका छन्। शुक्रबार पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा आयोजना गरिएको गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौ–महोत्सवको उद्घाटन गर्दै उनले गाईपालनमा ध्यान दिनुपर्ने बताएका हुन्।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गाईपालनले संस्कार, परम्परा र धर्मको समेत संरक्षण हुने भएकाले गाईपालन धार्मिक र जैविक हिसाबले महत्वपूर्ण रहेको बताए। उनले गौशाला निर्माणका साथै आफूले घरमा पालेका गाईलगायत जनावरको संरक्षणमा पनि ध्यान दिन स्थानीयवासीलाई सुझाव दिएका छन्।

पछिल्लो समय गाईपालन हराउँदै जान थालेको हुँदा लोप हुने अवस्थामा पुगेकाले गाईको संरक्षण गर्नुपर्ने उनको भनाइ छ।

कालाञ्जर पर्वतको विकासका लागि गौशालालाई पनि जोडेर अगाडि बढाउनुपर्ने भन्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सीनाले कालाञ्जर क्षेत्रको धार्मिक र पर्यटकीय विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिए। अहिलेको सरकारले देश विकासको गतिलाई अगाडि बढाएको भन्दै उनले आर्थिक, सामाजिक र भौतिक विकास गरी देश विकासमा तीव्रता दिनुपर्ने बताए।

वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई आत्मसाथ गरेर समृद्धि सुखी र खुशीमा परिणत हुनुपर्ने अध्यक्ष तिमिल्सीनाको भनाइ छ।

सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले पछिल्लो समय गाई लोप हुने अवस्थामा पुगे पनि पशुपालनतर्फ गाईको ठूलो महत्व रहेको बताए। उनले कालाञ्जर पर्वत क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि आफूहरुले पहल गरिरहेको बताउँदै यसको विकास र प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको बताएका छन्।

गण्डकी गोपाल गौशाला जलजला–७, धाइरिङ मिलनचोकको आयोजनामा सुरु भएको गौ–महोत्सव आउँदो २६ गतेसम्म सञ्चालन हुने भएको छ। गाईको संरक्षण, मानव स्वास्थ्यको रक्षा र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक पर्वतको मिलनचोकमा गौ–महोत्सव आयोजना गरिएको जनाइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.