घनाजंगलमै देखिन छाडे जनावर र पक्षी

|

मुगु : छायानाथ रारा नगरपालिका–९ का ४४ वर्षीय धनसिंह रोकायाले रारा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु नदेखेको धेरै वर्ष हुन थालेको छ।

पहिले गाउँ वरपर पर्याप्त मात्रमा देखापर्ने वन्यजन्तु अचेल फाट्टफुट्ट देखिन थालेपछि रोकाया दंग परेका छन्। दाउरा टिप्न, भकारी बनाउन, निगालो खोज्न, निकुञ्ज क्षेत्रको जंगलभित्र पस्दा बँदेल, स्याल केही चिरबिरे चराहरु फाट्टफुट्टदेखा परे पनि धेरै मात्रमा वन्यजन्तु देखिन छोडेको रोकायाले सुनाए।

द्वनद्वकालपछि लोप हुन थाले

द्वनद्वकालयता रारा राष्ट्रिय निकुञ्‍जका वन्यजन्तु लोप हुँदै गएको उनको भनाइ छ। बाँदर र गुनाका बथान, बँदेल, मृग, कस्तुरी, हिमाली चितुवा बाघ, घोरल, झारल, रतुवालगायत प्रजातिका वन्यजन्तु रारा राष्ट्रिय निकुञ्जमा लोप हुँदै गएका छन्।

  बाक्लो बथान गरेर हिँडने गुना र बाँदर पनि निकुञ्जमा कहिलेकाहीँ मात्र देखिने थालेका छन्। १० वर्ष अघिसम्म पुस माघको बाक्लो हिमपात हुँदा मुर्मा, झयारी, माथितुम, निगालबोट, खमाले गाउँका स्थानीयको भेडीगोठमा ओत लाग्न जाने वन्यजन्तुहरु अचेल जति धेरै हिउँ परे पनि नआउने गरेको मुर्मा गाउँका स्थानीयको भनाइ छ।

चराहरू पनि फाट्टफुट्ट मात्र

निकुञ्ज क्षेत्रमा सीमित वन्युजन्तु मात्र नभएर डाँफे, कालिज, च्याखुरा, तिथ्रा, ढुकुर, जस्ता हिमाली रैथाने चराहरु पनि प्राय फाट्टफुट्ट देखिन थालेका छन्।

एक दशक अघिसम्म जताततै देखिने च्याँखुरा कालिज हिजोआज भेट्टाउन मुस्किल हुन थालेको छ। कालिज फाट्टफुट्ट देखा परे पनि च्याखुरा र डाँफे त प्राय लोप नै भएको पाइएको छ।

मुर्माकोट, माथिल्लो मिलीचौर क्षेत्र, चुचुमारे, मालिकालेक रुमखोला, जेउडेलगायत घनाजंगल क्षेत्रमा पनि वन्युजन्तु देखिन छोडेको मुर्मा गाउँका अर्का स्थानीय बिर्ख रोकायाले बताए।

छायानाथबाट देखिएको राराको दृश्‍य

हिमाली क्षेत्रको निकुञ्‍ज

नेपालको ७ वटा राष्ट्रिय निकुञ्जमध्ये रारा राष्ट्रिय निकुञ्ज हिमाली क्षेत्रमा पर्ने र उक्त स्थानमा वन्यजन्तु चराचुरुंगी प्रशस्त मात्र हुनु पर्नेमा झन् संकटमा पर्दै गएका छन्। विसं २०२० सालदेखि नै रारामा क्रमिक रुपले वन्यजन्तु चराहरू घट्दै गएको राराका एडी शाहले बताए।

चासो छैन कसैलाई

रारा निकुञ्जमा किन कसरी वन्यजन्तु संकटमा परे भन्ने बारेमा अहिलेसम्म कसैले अध्ययन गरेको देखिँदैन। निकुञ्ज क्षेत्रमा मानवीय चहपहल, चोरी सिकारी, स्थानीयको चौपाया वस्तुको चरिचरन छाडा कुकुर, आगलागी, निकुञ्जभित्र बेला बखत हेलिकोप्टर उडान र अवतरण जस्ता विविध कारणले गर्दा वन्यजन्तु संकटमा पर्न गएको बुझिएको छ।

'यकिन यति नै छन् भन्न नसकिए पनि भालु बँदेल र रेडपाण्डा केही मात्रमा छन्' रारा निकुञ्ज मध्यवर्ती विकास क्षेत्रका अध्यक्ष बलराम शाहनीले भने, 'पछिल्लो समयमा वन्यजन्तु र चराको संख्या घट्दो अवस्था छ।'

हवाई रुटको असर

मानवीय चहलपहल छाडा चरिचरिनले गर्दा वन्यजन्तु संकटमा परेको उनको भनाइ छ ताल्चा एयरपोर्टमा अवतरण गर्ने जहाजको हवाई रुट पनि निकुञ्जभित्र भएकोले जहाजको आवाजले वन्यजन्तु तर्सेर बासस्थान छोडेर अन्यत्र गएको शाहनीको अनुमान छ। घुच्चीलेकबाट जहाज विमानस्थलमा अवतरण गर्ने र फर्किंदा रारा तालमाथि बाटो प्रयोग गर्दा ध्वनिले वन्यजन्तुलाई असर पुगेको छ।

तलितुम, माथितुम, पिना, झयारी, मुर्मा, हेन्नीकाँध, सायाखोला, कार्कीबाडा, टोप्लालगायत गाउँलेको चौपाया वस्तुको चरिचरन पनि निकुञ्जको मध्यवती क्षेत्रभित्रै भएको वन्यजन्तुको बासस्थानदेखि चरिचरन संकटमा परेको छ।

चहलपहलको समस्या

जलवायु परिवर्तनका कारणले गर्दा पनि राराका वन्यजन्तुमा असर पुगेको छ। कहिले खडेरी त कहिले भारी हिमपातले गर्दा वन्यजन्तुदेखि चराको बासस्थान प्रजनन  प्रक्रियामा असर पार्ने गर्छ।

वन्यजन्तु ओहोरदोहोर गर्ने बाटाहरु पनि साँघुरिँदै गएका छन्। वन्यजन्तु हिँड्ने बाटोमा मानिस ओहोरदोहोर गर्न थालेपछि समस्या देखिएको छ। बाटो निर्माण होटल सञ्‍चालन, काठ दाउरा तस्करीले गर्दा पनि वन्यजन्तुमा प्रभाव परेको छ।   

विसं २०७१ सालको ठूलो खडेरीको प्रभावले गर्दा  राराका वन्यजन्तु लोप भएको स्थानीयको भनाइ छ। खडेरीले घाँस पानीका मुहान सुकेपछि वन्यजन्तुले बासस्थान सरेका स्थानीयको बुझाइ छ।

रारा तालको आकर्षणको रुपमा रहेका असला प्रजातिका माछाको संख्या पनि पछिल्लोपटक घटने क्रममा छ। पहिले तालमा प्रशस्तै देखा पर्ने माछाहरु हिजोआज कम देखा पर्न थालेका छन।

 आहाराको अभाव

निकुञ्जभित्र एकातिर आहाराको अभाव र अर्कोतिर मध्यवर्ती बस्तीभित्रका स्थानीयले लुकीचोरी राति बल्छी सरिओल पासो थापेर मारेर खान थालेपछि माछा घट्दै गएका छन्। रारा राष्ट्रिय निकुञ्जको कार्यालयमा वन्यजन्तु चोरी सिकारीका मुद्दा अत्यन्तै न्यून देखिएका छन्।

०७३ मा एकजनालाई चोरी सिकार गरेबापत मुद्दा दर्ता गएको भए पनि अभियुक्त फरार रहँदा कानुनी कारबाही हुन नसकेको निकुञ्ज कार्यालयले जनाएको छ। 'निकुञ्जमा चोरी सिकारीका मुद्दा छैनन्' निमित्त कार्यालय प्रमुख सरोज खड्काले भने, 'हिमाली कालो भालु रेडपाण्डको संख्या वृद्धि भएको छ। वन्यजन्तु पक्षी लोप हुने अवस्था छ।'

पछिल्लो समयमा निकुञ्जले चरिचरिन चोरी सिकारी जस्ता कार्यमा कडाइ गरेपछि वन्यजन्तुको संख्या बढेको खड्काको दाबी छ।

सुरक्षाका लागि ३०० सेना

करिब १ सय ६ वर्ग मिटरमा फैलिएको निकुञ्जको सुरक्षाको निम्ति हुटुमा नेपाली सेनाको ब्यारेक र लामाचौर, सल्लेरी, निगालबोट, घुच्चीडाक सेनाको पोष्ट स्थापना गरी करिब ३ सयभन्दा बढी सेना खटाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.