|
जंगली हात्तीले भत्काएको घर हेर्दै प्रहरी र स्थानीय

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका आसपास क्षेत्रमा सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका जंगली हात्तीहरुले आतंक मच्चाएका छन्।

जिल्लाको त्रियुगा नगरपालिका वडा नं.२,३ अन्‍तर्गत जोगिदह, मोथियाही, खैजनपुर र सोनुवाको भुल्केमा  कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएका जंगली हात्तीले वितण्डा मच्काउँदा किसानको पाक्‍न लागेको धानबाली नष्ट गरेका हो। जंगली हात्तीको आतंकबाट किसानको धानबाली नष्ट गर्नुको साथै चार घरमा क्षति पुर्‍याएको छ। चारवटा वयस्क र दुईवटा बच्चा गरी ६ वटा हात्तीको समूह निस्किएको स्थानीय मनोज सुतारले बताए।

त्रियुगा नगरपालिका बैरागी टोलमा श्री परियारको घरको टाटी भत्कानुका साथै अन्दाजी १० मुरी धान नष्ट गरेको र तरकारीसमेत नष्ट भएको छ। मोथियाहीमा गुणराज कार्कीको घरको टाटी भत्काएको, मकैको थाङ्नो, वरिपरि लगाएका उखु, केरा, तरकारी नष्ट गरेको पाइएको छ, भने कार्कीकै कान्छाभाईको घरमा समेत क्षति पुर्‍याएको छ।

यस्तै खैजनपुरमा भुपू वडाध्यक्ष लिल बहादुर खड्काको २० मुरी धान खाएर नष्ट गरिदिएको त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमानसिंह खत्री (ध्रुव)ले जानकारी दिए।

त्रियुगा नगरपालिका २ र ३ मा सोमबार रातिदेखि लगातार अहिले सम्म स्थानीयहरु जाग्रम बसेर हात्ती लखेट्दै रात काटेको वडाध्यक्ष खत्रीले बताए। स्थानीय दिनेश थापाका अनुसार विगतका वर्षझैँ यस वर्ष पनि हात्तीको आतंक कायमै रहेको बताए।

सोमबार राति डिभिजन वन कार्यालय उदयपुरको टोलीले सोनुवा, मोथियाही लगायतका स्थानमा हात्तीलाई धपाउने काम भएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए। साहका अनुसार मानवीय क्षति नभए पनि दर्जन बढीको धानबाली नष्ट गरेको गुनासो आएको बताए।

जंगली हात्तीको आतंकबाट प्रभावित क्षेत्रमा संयुक्त स्थलगत निरीक्षण भएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुर जिल्ला प्रहरी कार्यालय उदयपुर र डिभिजन वन कार्यालय उदयपुरले सजग रहन विभिन्न उपायहरूबारे छलफल चलाएको छ। सम्बन्धित सरोकारवाला निकायले समयमै ध्यान नदिँदा वर्षैपिच्छे ठूलो मात्रामा धनमालको क्षति भएको स्थानीय बासिन्दाहरुको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.